ताजा अपडेट

मेयर खड्काको प्रश्न ः ‘शिक्षा आयोग पास गरेकाले पढाएका फेल र फेल भएकाले पढाएका विद्यार्थी पास किन हुन्छन् ?’

तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्काले शिक्षकलाई जिम्मेवारी पूर्वक आफ्नो दायित्व पूरा गर्न निर्देशन दिएका छन्।
शिक्षण सहायता प्रणाली अन्तर्गत शिक्षा शाखाले शिक्षकको पेशागत विकासकालागि गरेको अन्तक्रिर्यालाई सम्बोधन गर्दै मेयर खड्काले यस्तो निर्देशन दिएका हुन् । सामूदायिक शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा नगरेका कारण विद्यार्थी संख्या घटेको भन्दै जागिरे मानसिकताबाट माथि उठेर पठनपाठनमा लाग्न सुझाव दिए । सामूदायिक विद्यालयमा राम्रो पढाई नहुँदा अभिभावकले महंगो शुल्क तिरेर छोराछोरीलाई संस्थागत विद्यालयमा पढाउन बाध्य भएको भन्दै उनले त्यस्ता कमजोरी आगामी दिनमा नदोहो¥याउन आग्रह गरेका हुन्।
‘तपाईहरुले मेहनतका साथ नपढाउँदा अभिभावक महंगो शुल्क तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन् ।’ मेयर खड्काले भने,‘सरकारी शिक्षककालागि योभन्दा लाजमर्दो कुरा के हुन्छ ?’ रिजल्ट राम्रो दिन नसक्ने शिक्षकलाई कुनै न कुनै प्रकारको नइसियत दिइने उनले चेतावनी समेत दिए । शिक्षा आयोग पास गर्न नसकेका शिक्षकले नीजी विद्यालयमा पढाउँदा रिजल्ट राम्रो आउने तर आयोग पास गरेका शिक्षकले पढाउँदा रिजल्ट राम्रो नहुनु दुःखद भएको भन्दै मेयर खड्काले पठनपाठनमा लापरवाही गर्ने शिक्षक देश निर्माणका बाधक मानिने बताए ।
सरकारी विद्यालयका शिक्षकले छोराछोरीलाई नीजी विद्यालयमा पढाउने गरेको पाइएको भन्दै उहाँले आगामी शैक्षिक सत्रदेखी तुलसीपुर उपमहानगरका कुनै पनि सामूदायिक विद्यालयका शिक्षकले छोराछोरी निजी विद्यालयमा पढाउन नपाइने बताएका थिए ।
‘तपाईले सरकारी स्कुलमा पढाउने । अनि छोराछोरी निजी विद्यालयमा पढाउनुहुन्छ भने त्यो तपाईको आफैँ प्रतिको अविश्वास हो ।’ उनले भने,‘मावि  सेन्टरबाट यसको सुरुवात गरिसका छौँ । आगामी बर्षदेखी यहाँका सबै शिक्षकले छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमै पढाउनुपर्छ ।’ तुलसीपुर उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयलाई तीन श्रेणीमा बिभाजन गरी शिक्षकको पेशागत विकासकालागि शैक्षिक सहायता कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस