ताजा अपडेट

रबि र बालेनलाई रास्वपा रोल्पा जिल्ला सभापति रमेश थापा क्षेत्रीको खुल्ला पत्र (दुर्गममा रोल्पामा पनि विकासको उज्यालो छाओस्)

रास्वपा रोल्पा जिल्ला सभापति रमेश थापा क्षेत्रीले आफ्ना पार्टीका सभापति एवं वरिष्ठ नेता बालेन शाहलाई खुल्ला पत्र लेखेका छन् । पत्रमा उनले रोल्पाका दुर्गम भेगलाई विकासको उज्यालो बनाउन जोड दिएका छन् । यस्तो छ सभापति थापाको खुल्ला पत्र ।

आदरणीय पार्टी सभापति तथा बरिष्ठ नेता ज्यु,
हार्दिक नमन।
म, ई. रमेश थापा क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) रोल्पा जिल्ला सभापति, यहाँप्रति गहिरो सम्मान र आशाका साथ केही भावना, अनुभूति र अपेक्षाहरू राख्न चाहन्छु।

माननीयज्यू, विकास भन्ने कुरा केवल संरचना होइन—यो आशा हो, भरोसा हो, र नागरिकको दैनिक जीवनमा आएको सहजता हो। दुई लेनको कालोपत्रे सडकमा भालुवाङ–चकचके–लिवाङ हुँदै गाडी सहजै गुडेको दृश्य, घोराही–होलेरी–थवाङसम्म धुलाम्मे होइन, हराभरा बाटोमा यात्रुहरू मुस्कुराउँदै यात्रा गरेको अनुभूति र वडाचौरको एअरपोर्टमा जहाज अवतरण गर्दा गाउँलेको आँखामा देखिने चमक ल्याउन रहर त  मलाई मात्र होईन हामी रोल्पालीको सपना वा मन छ—-यी सबै सपना मात्र होइनन्, यी त जनताको आधारभूत अधिकार र आसा पनि हुन्।

मलाई पनि रहर छ–मन छ—रोल्पाको ती दुर्गम भेगहरूमा विकासको उज्यालो यसरी फैलियोस् कि सडक वरिपरिका बोटबिरुवाहरूले पनि धुलो होइन, स्वच्छ हावामा सास फेर्न पाउन्। लाग्छ, ती बोटबिरुवाहरू पनि आजभोलि केही उत्साहित छन्, मानौँ उनीहरूलाई थाहा भइसकेको छ—अब परिवर्तन टाढा छैन। अब उनीहरूको पातहरू धुलाम्मे होइन, हरियो र स्वस्थ रहनेछन्, र उनीहरू प्रकाससंश्लेषणमा खुलेर भाग लिन पाउनेछन्।

२०८० असोज २–५ गतेसम्म रोल्पाको थवाङ सम्म भ्रमण, सहिद मार्गको अवलोकन र त्यहाँको यथार्थलाई प्रत्यक्ष अनुभव गर्नु भएको क्षणहरू अझै ताजा छन्। त्यही बाटो हुँदै लिवाङ पुग्दा अनुभूत गरिएको कठिनाइ, असहजता र नागरिकको पीडा—ती सबै आज पनि हामीलाई झस्काइरहेका छन्। ती सडकहरू अझै पनि परिवर्तनको प्रतीक्षामा छन्।

माननीयज्यू, यथार्थ के हो भने—रोल्पाबाट अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्ष वा समानुपातिक प्रतिनिधित्व छैन। तर यसले विकासको अधिकारलाई रोक्दैन। आज रोल्पाली जनताको प्रतिनिधित्व नेपाली कम्युनिष्ट पार्टीका आदरणीय नेता वर्षमान पुनज्यूले गर्नु भएको छ। यस सन्दर्भमा मेरो स्पष्ट धारणा छ—राजनीतिक फरक भए पनि विकासमा सहकार्य अनिवार्य छ। सरकार हाम्रो पार्टीको नेतृत्वमा रहदै गर्दा उहाँजस्ता अनुभवि नेतृत्व ,जनप्रतिनिधिसँग सहकार्य गर्दै रोल्पाको समग्र विकासमा अघि बढ्नु पर्छ। किनकि अन्ततः उहाँ पनि रोल्पाली जनताको प्रतिनिधि हुनुहुन्छ।

सायद यी कुरा राख्दै गर्दा म कतै स्वार्थी पनि देखिन सक्छु—आफ्नो जिल्लाको पीडालाई अघि सार्दै। तर म यहाँ केवल रोल्पाको कुरा मात्र गरिरहेको छैन। हुम्ला, डोल्पा जस्ता हिमाली जिल्लाहरूको पीडा, मधेशका नागरिकले भोगिरहेको उपेक्षा, सुदूरपश्चिम विकासबाट टाढा रहनुपरेको अवस्था—यी सबै हाम्रो राष्ट्रका घाउहरू हुन्। लिपियाधुरा जस्ता संवेदनशील भूभागहरू केवल नक्सामा मात्र होइन, हाम्रो मनमा पनि जोडिनुपर्छ। देशको हरेक कुनामा बस्ने नागरिकले “यो देश मेरो हो” भन्ने अनुभूति गर्न पाउनुपर्छ।

त्यसैले मेरो विनम्र आग्रह छ—नीति यस्तो बनोस्, जहाँ पहुँच वा प्रतिनिधित्वको आधारमा होइन, आवश्यकता र समानताको आधारमा विकास वितरण होस्। जहाँ जिल्ला वा स्थानीय तहले ‘माथिबाट केही आयो’ भन्ने होइन, नागरिकले प्रत्यक्ष रूपमा ‘सरकार हामीसँग छ’ भन्ने महसुस गर्न सकून्। नीति, विधि र कार्यान्वयन यस्ता होऊन् कि सरकार कागजमा मात्र होइन, जनताको जीवनमा देखियोस्।

अन्ततः, माननीय नेतृत्वज्यूहरू, नागरिकले दिएको मत केवल अंक होइन—यो विश्वास हो, आशा हो, र भविष्यको जिम्मेवारी हो। यही विश्वासलाई सधैं सर्वोपरी ठानी, नागरिकको सेवामा आफूलाई समर्पित गर्न यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। सत्तालाई साध्य होइन, साधनका रूपमा प्रयोग गर्दै, देशलाई समृद्धि र न्यायको बाटोमा अघि बढाउनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

यही अपेक्षा, यही भरोसा र यही आशाका साथ—
उहाँहरूको सफल नेतृत्वको कामना गर्दछु।

उहिँ,
तपाईंको हितैषी सदस्य
ई. रमेश थापा क्षेत्री
जिल्ला सभापति, रोल्पा
राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)

प्रतिक्रिया दिनुहोस