ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

विरानो मुलुक परदेशबाट घरदेश नियाल्दा !

कसले भन्छ छोरा मान्छे रुनू पर्दैन भनेर ? जीवनका थुप्रै उतारचढावबाट बेला-बेला मन उदास हुन्छ ।तर मनको  उदाशिनतालाई पनि शक्तिमा रुपान्तरण गरेर जीवनमा कठोर संघर्ष गर्नू पर्ने हुन्छ ।म बिगत ७ बर्ष देखि निरन्तर परदेशमा छु ।गाउँ घरमा रोजगारीको मेलोमेसो नपाएपछि परदेशतिर भौतारिए ।त्यो बेला सन्तान पढाउने र बुढा बाआमाको बुढेसकालमा साहारा बन्ने सपना बुनेर मलेसिया छिरेँ ।

परदेश आउँने बेला लामोसम्म समय यतै भासिने होला भनेर कल्पना पनि गरेको थिएन ।बढीमा ३ बर्ष जति कमाएर स्वदेश फर्किएर केहि गर्नू पर्ला भन्ने सोच बोकेको थिए ।तर जीवन सोचेको जस्तो नहुने जिम्मेवारीको भारी एकपछि अर्को थपिदै जाँदो रहेछ ।निरन्तर ७ बर्ष मलेसिया मै बितेको पत्तै भएन ।
बचपन देखि क्रान्तिकारी स्वभाव थिए म ।मनमा लागेका कुराहरू मन भित्र नराख्ने स्वभाव भएकाले मैले सामाजिक असमानता बारे चर्को आवाज उठाई हाल्थे ।दोहोर्याई तेहेर्याई माक्र्सवाद अध्यन गरेको मैले हमेशा श्रमबाट क्रान्ति गर्नू पर्छ भन्ने सोच राख्दथे ।श्रमिक भएर श्रम गर्नूमा कुनै पछुतो छैन ।यद्यपि अब श्रमलाई आफ्नै मुलुकमा गर्नू पर्छ ।पसिनाले आफ्नै जन्मभुमि सिंचित गर्नू पर्छ भन्ने भाव भने निरन्तर मनमा नजागेको होईन ।

परदेशिनू रहर नभएर बाध्यता हो ।म मात्रै होईन स्वदेशमा जिबिका चलाउन गाह्रो हुने भएपछि म जस्ता लाखौं युवाहरू खाडी मुलुकमा रोजगारी गरिरहेका छन् ।राजनीतिका नाममा वा अरु बहानामा युवाहरूले समाजमा ठगेर,लुटेर वा भ्रष्टाचार गरेर खानू भन्दा कम्तीमा खाडी मुलुक मै भएपनि पसिना बगाएर खाएकोमा गर्व पनि लाग्छ ।किनकि हामीले परदेशबाट आफ्नो घर मात्रै होईन ।आफ्नो राष्ट्रमा रेमिटेन्स पठाएर राष्ट्र चलाउन भएपनि थोरै योगदान गरेका छौँ ।थाह छ सात समुन्द्र पारीको यो विरानो मुलुकबाट कमाएर म करोड पति हुने होईन ।सामान्य सर्वहारा वर्गको मान्छे म,मेरो  त्यति ठुलो सपना पनि हुने कुरो भएन।तर आफ्ना सन्तान र अभिभावकको राम्रो हेरचाह गर्न सकूँ वश! त्यत्ति सपना छ ।

विरानो मुलुकको निरन्तर ७ बर्ष जहाँबाट म एकपटक पनि घरदेश फर्कन पाएन ।अब त बुढा बाआमा अझै बृद्व भए होलान् ।कुर्दै छन् होला पिढी र आगनीमा बसेर ।छोराछोरीहरु हुर्एकिर बढे होलान् ।मेरो पनि त केहि उमेर ढल्कि सक्यो ।तर परदेश बसाइँ बाध्यता बनिरह्यो ।७ बर्षमा दैनिक १८ घण्टा निरन्तर श्रम गर्नू परेको कुराले कतै असहज महशुस भएन।किनकि श्रमप्रति मेरो विशेष दृष्टिकोण छ ।तर रङ्गिन चाडबाड आउँदा भने मन भारी बनेर आउँछ ।घर परिवार,इष्टमित्र,शाथीसङ्गी विरक्त लाग्ने गर्छ विरानो मुलुक ।तर जसोतसो दिनहरु मात्रै नभएर बर्षहरु बिताइरहेको छु ।परदेशमा चाडबाड आउँदा जस्तै विरामी पर्दा पनि न्यास्रो लाग्ने गर्दछ ।

बाध्यतावश ज्यान परदेशमा रहेपनि घरदेशको प्रेम नभएको कहाँ हो र ? लाग्छ हाम्रो पुस्ताले परदेशमा जीवन बिताउँने परिस्थिति आएपनि हाम्रा सन्तानहरुले परदेशिन नपरोस् ।स्थानीय सरकार देखि प्रदेश र संघ सरकारले स्वदेश मै आत्मनिर्भरता र स्वरोजगारीताको बाताबरण मिलाउन सकून्।यसरी सकारात्मक भावहरु व्यक्त गर्दा सामाजिक संजालहरुमा कतिपय शाथीहरुले परदेशीहरुप्रति तल्लोस्तरको शव्दावलीहरु प्रयोग गरेको देख्दा मन दुखेर आउँछ ।तर हामी भोग्नेलाई थाह हुन्छ परदेश रहर नभई बाध्यता हो भन्ने कुरा,खैर समय परिबर्तनशिल छ ।एकदिन मिलेर गरौँला सामाजिक परिबर्तनका कार्यहरू सबैप्रति परदेशबाट मिठो सम्झना छ ।
-टेकलाल चलाउने रुन्टीगढी ७ बलबाङ रोल्पा(हाल जोहोरबहारु मलेसिया)

प्रतिक्रिया दिनुहोस