रोल्पा-आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन्। निवेदनमा अत्यन्तै भ्रामक, झूटो र चरित्र हत्या गर्ने किसिमका सामग्रीहरू सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख छ।
शाथै पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नार्फबाट मौखिकबाहेक लिखित रूपमा छुटटै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उल्लेख गरेका छन् ।