रोल्पा- नागरिकका सेवाका लागि सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय रोल्पाले अब देखि राष्ट्रिय परिचयपत्रको फारम आवेदन कार्यालय मै नि:शुल्क रुपमा भरिदिने भएको छ ।
यस अघिसम्म अनलाइनबाट नागरिकले स्वयं अनलाइन आवेदन भरेर लैजानुपर्ने बाध्यता रहेको जिल्ला प्रशासन कार्यालय रोल्पामा गंगा बहादुर क्षेत्री प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएर आएपछि सो निर्णय गरेका हुन् ।
२०८२ फागुन १ गते आज जिल्ला प्रशासन कार्यालय रोल्पाले जारी गरेको सूचना अनुसार कार्यालयको कोठा नं २०१ मा गएर सेवाग्राहीले नि:शुल्क राष्ट्रिय परिचयपत्रका लागि र कोठा नं १०२ बाट कर्मचारीहरुलाई नि:शुल्क राहदानीको फाराम भराउन सकिने भएको छ ।
`राहादानी र राष्ट्रिय परिचयपत्रका लागि अनलाइन आवेदन भरेर आउँनुपर्ने बाध्यतालाई ध्यानमा राखेर नागरिकहरुको पैसा खर्च हुने तथा राज्यबाट पाउँने सेवासुबिधालाई सहज बनाउन हामीले यो निर्णय गरेका हौँ ´ – प्रमुख जिल्ला अधिकारी क्षेत्रीले होलेरी खबरसंग भने- `नागरिकलाई सहजता प्रदान गर्न अन्य कूराहरु पनि हेरफेर गर्दैछौँ ।´
प्रमुख जिल्ला अधिकारी क्षेत्री विभिन्न झिल्लामा ब्यबहारिक एवं लोकप्रिय कार्य गरेर आएका अधिकारी समेत हुन् ।