ताजा अपडेट

माध्यामिक विद्यालय सिक्टाको प्रधानाध्यापकमा भरत बस्नेत नियुक्त

दाङ-दाङको राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाको निमित्त प्रधानाध्यापकमा भरत बहादुर बस्नेतलाई नियुक्त गरेको छ । त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक विद्यालयका राहत अंग्रेजी शिक्षक बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रधानाध्यापकको जिम्मेवारी दिएको उल्लेख गरेको छ ।

राजपुर गाउँपालिकाले यहि साउन ३१ गते शिक्षक बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको भनेर निर्णय गरेको छ । सो विद्यालयमा प्राथमिक तहका राहत शिक्षक विष्णु खत्रीले निमित्त प्राधानाध्यापकको कामकाज गर्दै आएका थिए । गाउँपालिकाले गरेको निर्णयप्रति निवर्तमान प्रधानाध्यापक खत्रीले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाउदै विभिन्न खालका स्टाटस लेख्दै आएका छन ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले सिस्टम भन्दा बाहिर गएर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई पालिकाले हस्तक्षप गर्दै सो खालको निर्णय गरेको बताए । पालिकाभित्र रहेका सबै विद्यालयहरु नियम संगत संचालन भए नभएको अनुगमन गरिरहेको र त्यस्ता विद्यालयलाई सिस्टमको दायरामा लिने पनि बताए । मावि सिक्टाका प्रधानाध्यापक खत्रीले अमर्यादित भएर सामाजिक संजालमा प्रस्तुत हुने गरेको, भ्रमपूर्ण सूचना फैलाउने, सबैलाई डर त्रास देखाउने जस्ता सामाजिक संजालमा लेख्ने गरेको समेत पाइएको छ, यो एउटा शिक्षक जस्तो मर्यादित पेशाको पालना भएन त्यस कारण पनि पालिकाले उनलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएको हो’- अध्यक्ष बुढाथोकीले भने ।

विद्यालय सुधारका लागि निवर्तमान प्रधानाध्यापक खत्रीलाई राजपुर गाउँपालिकाले पटक पटक दिएको निर्देशन अवज्ञा गरेको बताउदै आएको छ । प्रधानाध्यापकको जिम्मेवारी कुशलता पुर्वक निभाउन नसकेको समेत पालिकाले जनाएको छ । अहिले सो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छैन, पहिले बनेको विव्यस समितिको समय पनि सकिसकेको र विद्यालय गैरकानूनी तरिकाले संचालन हुँदै आएको पालिकाले बताएको छ ।

लामोसमय सम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन । विद्यालयले घन बहादुर वलीलाई अध्यक्ष बनाए पनि मापदण्ड नपुगेको भन्दै वलीलाई गाउँपालिकाले मान्यता दिएको थिएन । केहि अगाडी सोहि विद्यालयका राहत शिक्षक भारत बहादुर बस्नेतले ‘म सिनियर शिक्षक भएकोले मलाई यस विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरि पाउँ’ भनेर राजपुर गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले बताए । शिक्षक बस्नेतले दिएको निवेदनलाई कार्यान्वयन गरिएको उनकोको भनाई छ । सिनियारका हिसाबले बस्नेत नै सो विद्यालयको प्रधानाध्यापक हुने पाण्डेले बताए  ।

प्रतिक्रिया दिनुहोस