ताजा अपडेट

सेवाविहिन बन्दै प्राथमिक स्वास्थ्य केन्द्र होलेरी,महिनौं देखि डाक्टरको अभाव र फार्मेसी पनि बन्द(भिडियो)

होलेरी- दक्षिण रोल्पाको एकमात्र प्रमुख स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरी बिगत एक महिना देखि डाक्टर विहिन बनेको छ।

दरबन्दीको डाक्टर काँचमा अन्यत्रै कार्यरत छन्।स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले करारमा नियुक्त गरेको डाक्टर एकता गिरी पढाईका लागि जिम्मेवारी छोडेपछि हाल प्राथमिक स्वास्थ्य केन्द्र महिनौँ देखि डाक्टर अभावमा गुज्रिरहेको छ।सामान्य स्वास्थ्य समस्या लिएर आउँने सेवाग्राही बाहेक जटिल र डाक्टरद्वारा चेकचाँज गर्नु पर्ने सेवाग्राहीहरु दाङ जानू पर्ने बाध्यता रहेको छ।रुन्टीगढीका नागरिकहरुको पैसो र समय दुबैमा क्षति भैरहेको गुनासो गरेका छन्।डाक्टर नहुँदा भिडियो एक्सरे सेवा ठप्प छ भने शव पोस्टमार्टम गर्न पनि हजारौं रुपैयाँ खर्च गरेर जिल्ला सदरमुकाम लिवाङ वा छिमेकी जिल्ला दाङ लैजानु पर्ने बाध्यता रहेको छ।

२/३ दिन पहिले रुन्टीगढी ६ सरेचौरका हेमराज रसाइलीले आफ्नो आमाको पेट दुख्ने समस्या बढेपछि प्राथमिक स्वास्थ्य चौकी पुर्याए।अस्पताल पुर्याउँदा न डाक्टरलाई समस्या देखाउन पाए न त भिडियो एक्सरे गर्नै नै पाए,अहेबहरुले चेकजाँच गरेर लेखी दिएको औषधि पनि फार्मेसी बन्द रहेका कारण होलेरी बजार पुगेर निजी क्लिनिकमा किनेको पीडा पोखे।

घर छेउमै अस्पताल भएपनी हुनुपर्ने सेवासुबिधा नहुँदा नागरिकको स्वास्थ्यमाथि खेलवाड हुन गएको स्थानिय जेष्ठ नागरिक आसमान गिरीले दुःख ब्यक्त गरे।`बाहिरबाट हेर्दा ठूलो भवन छ।अस्पताल भवन हेर्दा सेवा सुबिधा सबै छ होला भन्ने जस्तो देखिन्छ।तर स्वास्थ्यमा समस्या आउँदा अस्पताल गयौँ भने सिटामोल बाहेक औषधी किन्नु पर्छ।अहिले एक महिना देखि डाक्टर पनि छैनन्।यो अस्पताल छ भनौँ कि छैन भनौँ?डाक्टर नै नभएपछि यसको के काम भयो?´-गिरीले प्रश्न गरे।केही दिन अगाडिको घटना स्मरण गर्दै उनले भने `हाम्रो छिमेकी भाई प्रेमबहादुर बुढा मृत अवस्थामा भेटिएका थिए।उनको शव पोस्टमार्टम गर्न यहाँ डाक्टर नहुँदा घरपरिवारले ठूलो खर्च बेहोरेर सदरमुकाम लिवाङ लगेर जिल्ला अस्पताल पुर्याए।स्थानिय सरकारले आजसम्म डाक्टर ल्याउदैन।गरिब बिपन्नहरुमाथि अन्याय भयो।´

प्राथमिक स्वास्थ्य केन्द्र पछिल्लो समय अहेवहरुको भरमा गुज्रिरहेको छ।राज्यबाट प्रदान गरिने ९८ प्रकारका निशुल्क औषधीहरु मध्ये ४०-५० प्रकारका मात्रै उपलब्ध रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।स्वास्थ्य चौकीको फार्मेसी पनि महिनौँ देखि बन्द रहेको छ।फार्मेसीमा कार्यरत फार्मेसिस्टले पढाईका लागि जागीर छोडेपछि स्थानीय सरकार रुन्टीगढीले नयाँ जनशक्ति नियुक्त गरेको छैन।केही महिना यस्तै बन्द रहे फार्मेसीमा रहेका औषधिहरुको म्याद गुज्रिएर जान सक्ने चिन्ता स्थानियहरुको रहेको छ।जनताका स्वास्थ्य र अधिकारमाथी स्थानिय सरकारबाट नै लापरबाही हुँदै आइरहेको देखिन्छ।आफूहरूबाट समाधान हुने सामान्य समस्याको चेकजाँच भैरहेको भएपनी डाक्टरबाट प्रदान हुने सेवासुबिधाका लागि भने सेवाग्राही अन्यत्रै जाने गरिरहेको अहेब हिमा घर्तीले जानकारी दिइन्।

कार्यालय सहयोगी निमबहादुर घर्तीका अनुसार हिजो आज स्वास्थ्य केन्द्रमा दैनिक ५० बढी सेवाग्राहीहरु चेकजाँच तथा उपचारका लागि आउँने गरेका छन्।रुन्टीगढी गाउँपालिकाका ९ वटै वडाका नागरिक,त्रिबेणी गाउँपालिकाका नागरिक,छिमेकी जिल्ला प्युठानको स्वर्गद्वारी नगरपालिका र दाङको घोराही उपमहानगर १९ नागरिकहरु समेत चेकजाँचका लागि आउँने गर्दछन्।तर स्थानिय सरकारको मौन साक्षीपनका कारण अहिले दिनानुदिन आकस्मिक सरकारी सेवा प्रदायक संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको हालत खस्कदै गइरहेको छ।यसका प्रत्येक्ष मारमा गरिब,बिपन्न सर्वसाधारणहरु परिरहेका छन्।

२४ सै घण्टा नागरिकका सेवामा खटिरहने डाक्टरहरुलाई भने बमोजिम सेव सुबिधा नहुँदा र औषधि,उपकरण,जनशक्ति समेत स्थानिय सरकारले पर्याप्त रुपमा उपलब्ध नगराउने गरेका कारण डाक्टरहरु उपयुक्त वातावरणको खोजीमा छोटो समयमै स्वास्थ्य केन्द्र होलेरी छोड्ने गरेका छन्।जसको प्रत्येक्ष मार दक्षिण रोल्पाका नागरिकहरुमा परेको छ।

भिडियो link

https://youtu.be/uK_VlvprEYA?si=I0oX-WH6zmkcro0S

प्रतिक्रिया दिनुहोस