ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

रोल्पाको त्रिवेणी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

जुगार- १० पालिका रहेको रोल्पामा  हरेक वर्ष जस्तै त्रिवेणी गाउँपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । त्रिवेणी गाउँपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दै दिगोपनका लागि समेत प्रतिबद्धता जनाएका हुन् ।

त्रिवेणी गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत त्रिवेणीको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो ।घरधुरी सर्वेक्षणका आधारमा पालिकाभित्रका  आंशिकरुपमा खोप लगाउन छुटेका  ४ जना बालबालिकालाई खोजेर घरमै गई पूर्ण खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल १२ सय ०२ जना बालबालिकाहरुलाई पूर्ण खोप लगाई सकेपछि  पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पालिकामा जन्मेदेखि १५ महिना भित्रका ४ सय ५८ जना बालबालिकाहरुले सम्पूर्ण खोप लगाइसकेको त्रिवेणी  गाउँपालिकाले जनाएको छ ।
पूर्णखोप गाउँपालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ (तेस्रो संस्करण २०७७) बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरी  राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको पब्लिक हेल्थ नर्स कृष्णा कुमारी बि.सि.ले बताएका छन्। बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

पूर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्री सीता आचार्यले पूर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकता औंल्याएका हुन् । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा समन्वय प्रमुख आचार्यको जोड थियो ।
कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले स्वास्थ्य क्षेत्रमा पहिलेका दिनमा गाउँपालिका उत्कृष्ट बनेको बताए । उहाँले खोपको निरन्तरताका लागि सबैको साथ र सहयोग महत्त्वपुर्ण हुने बताएका हुन् ।
सो अवसरमा निरन्तर पूर्ण खोप सुनिश्चित गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस