होलेरी- रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा स्वास्थ्य बिमा उपचार सेवा छैन।
सरकारले उपचारमा नागरिकलाई सहयोग पुगोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेको बर्षौँ बिति सक्यो।तर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीले स्वास्थ्य बिमा गरेका रुन्टिगढीका नागरिकहरु बिरामी पर्दा उपचार सेवा लिन दाङ जानू पर्ने बाध्यता रहेको छ।सरकारी स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुले सेवा सुबिधा प्रवाह गरिरहेका छन्।प्राथमिक स्वास्थ्य केन्द्रले ६ बर्ष देखि स्वास्थ्य बिमाको सेवा बन्द गरेको छ।
रुन्टिगढी गाउँपालिका वडा नं ६ को स्वास्थ्य बिमा दर्ता सहयोगी खिमबहादुर घर्ती मगरले वडा नं ६ मा मात्रै २ सय जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिएका छन्।`हाम्रो वडा नं ६ मा मात्रै २ सय जना बढीले स्वास्थ्य विमा गर्नु भएको हो।तर स्थानियस्तर बाटै बिमा बापतको उपचार सेवा नहुँदा केहिले नविकरण गर्नु भएको छैन।केहिले नविकरण गराई राख्नु भएको छ´-दर्ता सहयोगी घर्ती मगरले भने।घर्तीका अनुसार १ देखि ५ जनासम्म सदस्य संख्या रहेका परिवारले बार्षिक ३ हजार पाँच सय जम्मा गरेर स्वास्थ्य बिमा दर्ता तथा नविकरण गर्नु पर्ने हुन्छ।परिवार सदस्य संख्या ५ जना भन्दा धेरै भएकाले त्यही अनुसार रकम तिरेर स्वास्थ्य बिमा गराउन सकिने तथा सुबिधा पनि अलि बढी पाउने सरकारले ब्यबस्था गरेको छ।
नजिकका स्वास्थ्य संस्थाद्वारा स्वास्थ्य बिमा सेवा प्रवाह नहुँदा बिमा गरेका सर्वसाधारणहरुले हाल दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीबाट उपचार सेवा लिइरहेको उनले जानकारी दिए।सरोकार वाला सबैले चासो दिएर प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट स्वास्थ्य बिमा उपचार सेवा जोड्न सकिएको खण्डमा सर्वसाधारणलाई सहज हुने घर्तीले बताए।
स्वास्थ्य बिमा अन्तर्गत दाङ सेवा लिन जानेहरुलाई आर्थिक खर्च र शास्ती भैरहेको स्विकार गर्दै अर्को बर्षदेखि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीबाट स्वास्थ्य बिमा सेवा पुनः जोड्ने बिषयमा आवश्यक प्रक्रिया चाल्ने रुन्टिगढी गाउँ स्वास्थ्य साखाका संयोजक बुद्धिजिबी सेजवालले बताएका छन्।
६ बर्ष अगाडिसम्म प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य विमा सेवा दिदै आएपनि तत्कालीन समयमा स्वास्थ्य केन्द्रमा विमा बापतको करिब ३ लाख उपचार खर्च भुक्तानी नआएकाले सेवा बन्द गर्नु पर्ने बाध्यता परेकाले स्वास्थ्य विमा सेवा बन्द गरिएको स्वास्थ्य संयोजक सेजवालले जानकारी दिए।यहि बर्षबाट गाउँ स्वास्थ्य साखा संयोजकको जिम्मेवारी सम्हालेका उनले आगामी बर्ष देखि स्वास्थ्य विमा सेवा होलेरीबाटै प्रवाह गरेर नागरिकलाई सेवा सुबिधा प्रदान गर्ने बताएका छन्।
स्वास्थ्य विमा नेपाल सरकारको नागरिक सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो।