होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ कार्यालयले बालबिबाह न्यूनीकरण सम्बन्धि अभियानको शुरुवात गरेको छ।
आर्थिक बर्ष २०८०/०८१ अन्तर्गत वडा कार्यालयले समाजको बिकृति बन्दै गएको बालबिबाह न्यूनीकरण गर्ने निति तथा कार्यक्रम अगाडि सारेको थियो।
सोहि बमोजिम बिहिवार वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीको नेतृत्वमा पुगेको टोलिले वडा नम्बर ५ का भिमसेन माध्यमिक बिद्यालय सैबाङ र चन्द्रोदय आधारभुत बिद्यालय जस्पुरमा पुगेर कक्षा ८ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सचेत बनाइएको हो।
वडा अध्यक्ष गोबिन्दबहादुर डाँगी,कार्यपालिका सदस्य रिता के.सी.,रुन्टिगढी गाउँपालिका महिला तथा बालबालिका शाखाबाट पार्वती लामिछाने,वडा सदस्यहरु र सम्बन्धि बिद्यालयका शिक्षकहरुले बालबिबाहले समाजमा निम्त्याउने मानसिक,शारीरिक र सामाजिक समस्याबारे प्रकाश पारेको वडा कार्यालयले जानकारी दिएको छ।
वडा अध्यक्ष डाँगीले बालबिबाह सामाजिक बिकृति हुनुका शाथै कानुनी हिसाबले समेत यो अबैधानिक रहेको बताएका थिए।
उमेर नपुगेरै गरिने बिबाहले शारीरिक र मानसिक समस्या,आर्थिक संकट,गरिबी,करिअरमा हानी,सम्बन्ध बिच्छेद,हिंसा,आत्महत्या,लागु औषध दुर्व्यसनी लगाएत अनेकौं समस्या निम्त्याउन सक्ने र कसैले बालबिबाह गरेमा कानुनी कारबाही समेत हुने भएकाले कुनैपनि हालतमा बालबिबाह नगर्न र नगराउन बिद्यार्थीहरुलाई सचेत बनाएका हुन्।
कार्यक्रममा दुई विद्यालयका करिब ४ सय विद्यार्थीहरुको सहभागीता रहेको थियो।
यसै उद्देश्य अन्तर्गत गणेश माध्यामिक बिद्यालय धौलाबाङमा समेत बालबिबाह न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम गर्ने योजना रहेको वडा नं ५ कार्यालयले जानकारी दिएको छ।