डुबिडाँडा- रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ५ कार्यालयले जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
वडाकै जेष्ठ नागरिक तिलकी बुढालाई सम्मान पत्र र न्यानो फाइबर सिरक हस्तान्तरण गरेर उद्घाटन गरिएको कार्यक्रममा वडा नं ५ का सबै एक सय १६ जना जेष्ठ नागरिकहरुलाई न्यानो फाइबर सिरक हस्तान्तरण गरेर वडा कार्यालयले सम्मान गरेको हो।
वडा नं ५ कार्यालयले गत आर्थिक बर्षमा पनि जेष्ठ नागरिकहरुलाई पोषिलो खाने कुराहरु प्रदान गरेर सम्मान गरेको थियो।यस बर्ष बढ्दो जाडोलाई मध्यनजर गर्दै फाइबर सिरक हस्तान्तरण कार्यक्रम गरेको वडा सचिव भागवत घिमिरेले जानकारी दिए।
रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीको अध्यक्षतामा शुरूवात भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै रुन्टिगढी गाउँ कार्यपालिका सदस्य रिता के.सी.ले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँनु आफूहरुको सौभाग्य रहेको बताइन्।
जेष्ठ नागरिकहरु समाजको अभिभावक रहेकाले उनीहरुको आशीर्वाद र सल्लाह सुझाव बिना पछिल्लो पुस्ताको गतिविधि सफल हुन नसक्ने सदस्य केसीले बताइन्।
जाडो याममा न्यानो फाइबर सिरक प्रदान गरेर वडा कार्यालयको सम्मानपछि उपस्तिथ जेष्ठ नागरिकहरु हर्षित बने।उनीहरुले वडा अध्यक्ष र सदस्यहरुलाई मुखभरीको आशीर्वाद दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गोबिन्द डाँगीले जेष्ठ नागरिकहरु हालको समाजको जननी र मार्ग निर्देशक भएकाले आगामी दिनमा समेत सकेको जति सहयोग गर्ने बताए।
`अहिले जेष्ठ नागरिकहरुलाई नेपाल सरकारले मासिक ४ हजार रुपैयाँको दरले सामाजिक शुरक्षा भत्ता प्रदान गरिरहेको छ।उहाँहरुलाई केहि सहज पक्कै भएको छ।तथापि समाजमा आर्थिक अत्यन्तै कमजोर भएको परिवार पनि हुनुहुन्छ।उहाँहरु सबैलाई थप सहज बनाउन लक्षित कार्यक्रम अगाडि बढाएर हाम्रो प्रयास जारी रहिरनेछ´-वडा अध्यक्ष डाँगीले भने।
उमेरका हिसाबले बुढ्यौली अवस्था संवेदनशिल हुने भएकाले वडाका सम्पुर्ण जेष्ठ नागरिकहरुको हेरचाह र ब्यबस्थापनमा ध्यान दिन समेत सम्बन्धित परिवारलाई वडा अध्यक्ष डाँगीले अनुरोध गरेका छन्।
स्थानिय शुरक्षाकर्मीहरु,सर्वसाधारण र वडा सदस्यहरुको समेत उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण वडा सचिव भागवत घिमिरेले गरेका थिए।