जानकी (बाँके)- कलाकार श्यामानन्द सिंह ठकुरी साहित्य तथा कलाका विविध सिर्जनामा व्यस्त छन् । ६९ वर्षीय उनको इच्छा आफूले सिर्जना चित्रकला र हस्तकलाको सङ्ग्रहालय बनाउने रहेको छ ।
उनले फालिएका सामानबाट चित्रकला र हस्तकलाका थुप्रै कलाकृति निर्माण गरेका छन् । यस्तो कलाकृति बनाउने उाी लुम्बिनी प्रदेशकै पहिलो चित्रकार हुन् । उनी काम नलाग्ने भनेर फ्याँकिएका कागज, कार्टुन, बोतल, प्लास्टिक, काठका टुक्रा, म्याद सकिएका औषधि, कपास, धागो जस्ता थुप्रै वस्तुलाई सङ्गालेर हेर्न लायक कलाको आर्कषक रुप बनाउछन् ।
कलाकार ठकुरीले बनाएका हस्तकला अन्तर्गत चरा, मादल, रिक्सा, टाँगा, धरहरा, बन्दुक, ओखल, विभिन्न देवीदेवताका मूर्ति, गाग्रो, कर्णाली पुल, विभिन्न मठमन्दिरलगायत देशलाई चिनाउने सबै खालका सामग्री बनेका छन् । ती सबै सामग्रीलाई उनले आफ्नो दुई तले घरको सबै कोठामा भरिभराउ गरी सजाएर राखेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित बाँकेगाउँको सरस्वती टोलमा बस्दै आएका ठकुरीले नेपाल टेलिकमको जागिरबाट अवकास पाएपछि सानैदेखिको हस्तकलाको रुचिलाई निरन्तरता दिन सुरु गरेका हुन् । २०७० बाट हस्तकलाको सामग्री बनाउन सुरु गरेका उनले चित्रकलालाई पनि सँगसँगै लिएर अघि बढे ।
कागजको डुङ्गा, कागजको फूल अनि कागजकै पुल हेर्दा लाग्छ वास्तविक नै हुन् । चित्रकला र हस्तकला प्रदर्शनी र पुरस्कारले नै जीवनको परिभाषा बनाउन सफल भएका उनको एउटै ईच्छा छ उनको घरमा भएका सामग्रीलाई स्थानीय सरकारले सङ्ग्रहालय बनाएर त्यहाँ सजाएको हेर्ने । यो विषयमा उनले नेपालगञ्जका पूर्व मेयर धवल शमशेर राणा र वर्तमान मेयर प्रशान्त विष्टसँग प्रस्ताव राखिसकेको पनि बताए ।
“मेरा कलाकृतिलाई सङ्ग्रहालय बनाएर त्यसैमा राखिदिनु प¥र्यो भनेर मैले पूर्व प्रमुख र वर्तमान प्रमुख दुवैलाई भनिसकेको छु । उहाँहरुले हुन्छ भन्नुभएको छ । ” कलाकार ठकुरीले भने,“आशा छ म मर्नुअघि मेरो कलाकृतिलाई सङ्ग्रहालयमा देखेर मर्नेछु ।” उनले फालिएका वस्तुबाटै अवधि लोककला चित्रकला तर्फ धार्मिक सांस्कृतिक, सामाजिक पारम्परिक संस्कृति जस्तैः रक्षाबन्धन, भैयादुज, दीपावली, विवाह, रामलीला दशहरा चित्र, ढेरीपुजन, लडिया सवारी, नागपञ्चमी, करवाचौथ आदि बनाएका छन् ।
फालिएका सामग्रीबाट आँखालाई नै झुक्याउने सामग्री बनाउन सक्ने क्षमताका उनको घरमा कम्तीमा पनि पाँच सयको हाराहारीमा हस्तकलाको सामग्री छन् भने सोही संख्यामा चित्रकलाका पेटिङ्ग छन् । उनको पहिलो एकल चित्रकला प्रदर्शनी विसं २०५० ललितकला संस्था (नाफा) नेपालगञ्जमा भएको थियो ।
त्यसैगरी २०५९ र ६० सालमा महेन्द्र पुस्तकालय नेपालगञ्जमा एकल चित्रकला तथा हस्तकला प्रदर्शनी भएको थियो । २०६६ मा नेपालगञ्जमै उहाँको एकल प्रदर्शनी भएको थियो । त्यसैगरी २०७० मा नेपाल ललितकला तथा प्रज्ञाप्रतिष्ठानको संयोजनमा उहाँको चित्रकला तथा हस्तकला प्रदर्शनी नेपालगञ्जमै भएको थियो ।
उनले २०७२ सालमा सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट क्षेत्रीय पुरस्कार प्राप्त गरेका थिए । नगरप्रमुख विष्टले नेपालगञ्जको टाँगा स्टेशन अगाडि बन्दै गरेको सपिङ कम्प्लेक्सको भवनमा कलाकार ठकुरीको कलाकृतिलाई सङ्ग्रहालय बनाउने जानकारी दिए ।
उनले भने, “टाँगा स्टेशनको अगाडि नगरपालिकाको सपिङ कम्प्लेक्स बन्दै छ उहाँको चित्रकला र हस्तकलाका सबै सामग्रीलाई त्यही सङ्ग्रहालय बनाउने योजना छ ।” सिंहको कलाकृति अवलोकन गर्नका लागि बाँकेका सबै विद्यालय र कलेजका विद्यार्थी उनको घरमा रहेको सङ्ग्रहालयमा आउने गर्दछन् । रासस