रोल्पा- दाङबाट रोल्पा प्रवेश गर्ने दोश्रो नाका होलेरी-ग्वारखोला सडक ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ।होलेरीबाट सालीबाङ कुर्जा रानीवाश हुँदै बिजौरी जोडिएको यस सडक खण्ड अवरुद्ध हुँदा अहिले रुन्टीगढी वडा नं ७ र ८ का स्थानियहरुको दैनिकीमा प्रत्यक्ष असर पुर्याएको छ भने यस सडक भएर यात्रा गर्ने यात्रुहरू बिच बाटैबाट यथास्थानमा फर्कनु पर्ने अवस्था आएको छ।
पश्चिम रोल्पाको मुख्य प्रवेशद्वार घोरही-होलेरी शहिद मार्गको अवस्था बेहाल छ।टिप्पर आतंक र अन्य जोखिमका कारण पछिल्लो समय मानिसहरु पश्चिम दाङको नाका होलेरी-गुहार खोलाबाट यात्रा गर्ने गर्दथे।सडकको हालत नाजुक भएपनि शहिद मार्गको विकल्पमा यो सडक धेरै सहज थियो।तर होलेरी-ग्वारखोला सडकखण्ड पनि लामो समय देखि अवरुद्ध रहदा सुचारु गर्न आवश्यक पहल कुनैपनि निकायले चाल्न नसकेको स्थानियहरुको गुनासो रहेको छ।रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ र तुल्सिपुर उपमहानगरपालिकाको सिमा क्षेत्र भएर दाङ रोल्पा जोड्ने यस सडक खण्ड रोल्पाका स्थानियहरु दैनिक उपभोग्य सामाग्री किनमेल तथा बिरामी हुँदा समेत दाङ उपचार गर्न जाने मोटरबाटो हो।अहिले आफुहरु निक्कै मारमा परेको रुन्टीगढी गाउँपालिका ८ का केशर घर्तीले दुखेसो पोखे।उनले भने होलेरी ग्वार खोला सडक एक ठाउँमा मात्रै होईन ठाउँठाउँ पहिरो खसेको छ।हामिहरुलाई होलेरी बजार जान भन्दा दाङ जान सहज पर्दछ।र सेवा सुबिधाका हिसाबले पनि दैनिक उपभोग्य सामाग्री किनमेलका लागि दाङनै जाने गर्छौं।तर अहिले रानीवास भन्ने ठाउँबाट रोल्पा तिरको सडक खण्ड पुर्ण रुपले अवरुद्ध छ।
बर्षातसंगै ग्वार खोलाको वहाब बढेको छ।सडक सूचारु भएको बर्षौँसम्म पनि उक्त स्थानमा सरकारले पुल निर्माण गर्न सकिरहेको छैन।यस आर्थिक बर्ष पनि यहाँ पुल निर्माणको योजना कतैबाट पर्न सकेन।हामि अस्पताल जान सक्ने अवस्था समेत छैन।गाउँ गाउँमा सिंहदरवार भन्ने नाराका साथ देशमा संघियता सहित स्थानिय सरकार आएको थियो।अचानक आउँने समस्या बिपत्तिको समाधान गर्नुपर्ने सम्बन्धित स्थानिय सरकारले हो।रुन्टीगढी गाउँपालिकाले यस्तै काममा जनतालाई सहजता होस् भन्ने उद्देश्यले आफ्नै डोजर पनि खरिद गरेको छ।तर होलेरी ग्वार खोलाको पहिरो हटाउन डोजर पठाएको छैन।पहिरो पन्छ्याउन सकिने भएपनि ग्वार खोलाको वहाब उच्च रहेको रुन्टीगढी ८ का वडा अध्यक्ष तुल्सी पुनले बताएकि छन्।आफुले पटकपटक पुल माग गरेपनि पालिका जनक पुनले पुल निर्माणका गर्न अहिले नसकिने जवाफ दिएको उनको भनाई छ।
यस अघिको रुन्टीगढी गाउँपालिका सरकारका पालामा पनि उक्त स्थानमा पहिरो खसेर अवरुद्ध बनेको थियो।तत्कालीन पालिका प्रमुख बालाराम बुढा केहि दिनपछि सम्बन्धित स्थलमा आफै उपस्थित भएर पालिकाको डोजरद्वारा पहिरो पन्छ्याएर सडक खुलाएका थिए।श्रोत साधन हुँदाहुँदै पनि अहिलेको स्थानिय सरकार रुन्टीगढी गाउँपालिका सर्वसाधारण जनताका समस्यामा मौन बसिरहेको छ।