काठमाडौं- कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चरको जीवितै उद्धार गरिएको छ । दुई खच्चरको भने मृत्यु भएको छ ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चर पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
‘पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चरको मृत्यु भएको हो’, उनले भने–‘बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।’
पुलको दाहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चर पुलमा अड्किएका थिए ।
पुलको दाहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।