होलेरी- रोल्पाको होलेरी देखि प्युठानको स्वर्गद्वारी जोड्ने सडक खण्डको मध्ये भागमा विद्युतको पोल बर्षौँ देखि छोडिएको छ।
यस बिषयमा विद्युत कार्यालय देखि सडक डिभिजन कार्यालय र स्थानिय सरकारहरुको समेत ध्यान नपुगेको देखिन्छ।
शुरुमा होलेरी-स्वर्गद्वारी सडक खण्ड एक लेनको हुँदा रोल्पाको रुन्टिगढी ५ सैबाङ लगाएत वरिपरिका गाउँहरुमा विद्युत सेवा बिस्तार गर्न सडक किनारमा विद्युत पोलहरु गाडिएको थियो।तर २०७५/०७६ शालमा उक्त क्षेत्रको ४ किमि सडक स्तरोन्नतिको योजना अन्तर्गत निर्माण कम्पनीले मापदण्ड अनुसारको सडक फराकिलो बनाउने क्रममा पहिले सडक किनारमा गाडिएको विद्युत पोल २ लेन सडक बिस्तार गर्दा मध्ये भागमा रहन पुग्यो।
तत्कालीन समयमा सैबाङ सामुदायिक बन र निर्माण कम्पनीबिच रुख कटान गरेको विवाद उत्पन्न भएपछि सडक निर्माणको काम अल्पत्र पर्यो।अन्ततः कामबाट निर्माण कम्पनीले हात उठाएपछि हालसम्म सडक स्तरोन्नतिको काम हुन सकेन।त्यसपछि सडकको बिच भागमा पारिएको विद्युत पोललाई सम्बन्धित निकायले शुरक्षित स्थानमा ब्यबस्थापन गर्न सकेको छैन।हाल उक्त विद्युत पोलको दायाँ बायाँ भएर सवारीहरु गुड्छ्न्।
प्युठानको स्वर्गद्वारी धार्मिक तथा पर्यटकिय स्थल रहेकाले उक्त सडकमा सवारीको चाप बाक्लो रहन्छ।तर विद्युत पोल जस्तो जोखिमयुक्त र संवेदनशिल बस्तु ब्यबस्थापनमा हालसम्म सम्बन्धित निकाय देखि स्थानिय सरकारको समेत ध्यान पुग्न सकिरहेको छैन।जसले दुर्घटनाको जोखिम बढाइरहेको छ।
आफू तालिमका काठमाडौं गएकाले कार्यालय फर्केपछि हेरफेर गर्ने होलेरी नो लाइट विद्युत कार्यालयका इन्चार्ज नारायण केसीले जानकारी दिएका छन्।