होलेरी- दाङको घोराही देखि शुरु भएर रोल्पाको होलेरी बाट थबाङ हुँदै रुकुम पुर्ब जोड्ने सहिद मार्ग अत्यन्त जिर्ण बन्दै गएको छ।
तत्कालीन माओवादी १० बर्षे जनयुद्ध ताका माओवादी पार्टीले श्रमदानमार्फत उक्त सडक निर्माण कार्यको शुरूवात गरेको थियो।२०६२/०६३ शालको बृहत शान्ति सम्झौतापछि भने राज्यले यस सडकखण्डको नाम सहिद मार्ग नामाकरण गरेको थियो।सडकको अधुरो रहेको ट्र्याक खोल्ने तथा आवश्यक्ता अनुसार २ लेन बनाएर आर्थिक बर्ष २०७४/७५ मा दाङको बगाले देखि रोल्पाको होलेरीसम्म संघिय सरकारको ४६ करोड लागतमा २९ किलोमीटर सडक खण्ड कालोपत्रे गरिएको थियो।
तर निर्माण कम्पनीको लापरबाही र सिमेन्ट कारखानाका चुन ढुङ्गा बोक्ने टिप्परका कारण कालोपत्रे सहिद मार्ग काम सम्पन्न भएको २ महिना देखिनै उजाड-बिजाड बन्न शुरु गर्यो।त्यस यता बितेको ५ बर्षसम्म पनि उक्त सडक खण्ड मर्मत तथा स्तरोन्नतिमा राज्यको ध्यान पुग्न सकिरहेको छैन।रोल्पाबाट माओवादी नेता बर्षमान पुन लगातार सत्ता र शक्तिमा रहदै आएका छन्।हाल रोल्पाबाटै नेकपा एमाले नेतृ ईश्वरी घर्ती पनि संघिय सांसद रहेकि छन्।तर सहिद मार्गको हालत फेरिने गरि कुनै कार्य हुन सकिरहेको छैन।
गत बर्ष होलेरीको जङ्गल रिसोर्टमा एमाले सांसद घर्तीको नेतृत्वमा हालका लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल,रोल्पाका प्रमुख जिल्ला अधिकारी सहित घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी,रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन लगाएत दुई जिल्लाका राजनैतिक प्रतिनिधिहरुको उपस्तिथिमा घोराही-होलेरी सडक खण्ड स्तरोन्नतिका लागि डि.पि.आर तयार गर्ने निर्णय गरिएको थियो।तर सडकको हालत भने फेरिन सकेन।यस बर्ष रोल्पा प्रदेश सभा ख का लुम्बिनी प्रदेश सांसद दिपेन्द्र पुन सिजलको अगुवाईमा रोल्पाका दक्षिण र पश्चिम भुभागका स्थानिय तहका प्रमुखको घर्ती गाउँमा सहिद मार्ग स्तरोन्नति बारे छलफल चलेको थियो।छलफल सम्पन्न भएको केहि दिनपछि प्रतिनिधि सभा सांसद बर्षमान पुनको नेतृत्वमा रोल्पाका रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन सहितको टोलिले प्रधानमन्त्री प्रचण्ड वरिपरि उभिएर कैद गरेको तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ति देखिन्थे।
जिल्लाका सांसद सहित सम्बन्धित स्थानिय तहका प्रमुखहरुले प्रधानमन्त्री समक्ष सहिद मार्ग स्तरोन्नति माग गरेको खबरले रोल्पाका सर्वसाधारणहरु खुसी बनेका थिए।तर महिनौँ बिरिसक्दा पनि सहिद मार्गको हालत फेर्ने गरि कुनै पनि कामको शुरूवात गरिएको छैन।
हाल दिनानुदिन सडक जिर्ण बन्दै गैरहेको छ।चुन ढुङ्गा बोकेर गुड्ने टिप्परहरुले ठुल्ठुला खाल्डा बनाएका छन्।एकपटक कालोपत्रे भैसकेको सडकमा मुस्किलले कतै-कतै छेउ तिर कालो देख्न सकिन्छ।ठुल्ठुला खाल्डाहरुमा हिउँदमा धुलो र बर्षातमा हिलो भरिने गर्दछ।सवारी चालक र यात्रुहरुले जोखिमपुर्ण,पिडादायी कष्टकर यात्रा गर्न बाध्य बनिरहेका छन्।
मुलुकमा थुप्रै ब्यबस्थाहरु फेरिए।ब्यबस्था बदल्न आफ्नो ज्याम बलिदान दिएका सहिदहरुका सम्मानका लागि सडक खण्डको नाम सहिद मार्ग राखेर राज्यले सहिद मार्गको अवस्था भने बदल्न सकिरहेको छैन।
भिडियो