होलेरी-रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ६ कोडारी डाँडामा रहेको रुन्टिगढी खेलकुद मैदान अझै अल्पत्र अवस्थामा रहेको छ।
बालाराम बुढा मगर नेतृत्वको तत्कालीन स्थानिय सरकार रुन्टिगढीले लुम्बिनी प्रदेश सरकारको बजेटबाट पालिकास्तरिय खेलकुद मैदान निर्माण कार्य २०७७/०७८ मा अघि बढाएको थियो।
केहि चरणको काम भैसकेपछि नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिका सभापति तथा हालका गाउँपालिका अध्यक्ष जनक पुनले काममा ढिलाशुस्ती भएको भन्दै बिरोध जनाएका थिए।
त्यसपछि नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिकाको बिरोधमा काम अबुरुद्व बन्यो।
त्यसको करिब ४ बर्ष बित्न लाग्दा समेत सिंगो गाउँपालिकाको गौरवको रुपमा रहेको पालिकास्तरिय खेलकुद मैदान ओझेलमा पारिएको छ।
मुलुकमा `खेलकुद स्वास्थ्यका लागि,खेलकुद राष्ट्रका लागि´ भने सर्बस्विकार्य नारा रहेको छ।अन्य स्थानियतह र जिल्लाहरुमा खेलाडीहरुलाई भरपुर लगानी र खेलका लागि आवश्यक वातावरण मिलाइदिने गरिएको हुन्छ।
तर रुन्टिगढी गाउँपालिकामा भने राजनैतिक अराजकताको मारमा खेलाडी र खेलकुद जगतलाई गुमनाम बनाउँने कार्य भैरहेको छ।
रुन्टिगढीमा केहि सामुदायिक विद्यालयहरुका बाहेक साझा रुपमा खेलकुद खेल्न मिल्ने खालका उपयुक्त खेलकुद मैदानको अभाव रहदै आएको छ।
रुन्टिगढीमा भने राजनैतिक तवरबाट खेलकुद जगतको अधिकार गुमनाममा राखेर सत्तामा पुग्दा समेत उपेक्षा गर्ने प्रवृत्ति यथावत रहेको पाइएको छ।
जसका कारण एकातिर राज्यकोषको लाखौँ रकम खर्चेको योजनाले पुर्णता पाउँन सकिरहेको छैन भने अर्कोतिर खेलाडीहरु यसको मारमा रहेका छन्।
अल्पत्र रुन्टिगगढी खेलकुद मैदानमा खेलको मापदण्ड अनुरुप कुनैपनि निर्माण कार्य पुर्ण नभएकाले खेलाडीहरुले उक्त खेलकुद मैदानमा खेलकुद अभ्यास तथा खेल खेल्न सक्ने अवस्था नरहेको होलेरीका खेल प्रेमी बसन्त चन्दले बताए।
खेलकुद मैदान जस्तो महत्वपूर्ण र गौरवको योजनालाई स्थानीय सरकारले अल्पत्र अवस्थामै छोड्नुले सिंगो खेल जगतमा हानी हुनुका शाथै खेलाडीहरुमा निराशा पैदा गरिरहेको खेलकुद प्रेमी चन्दको भनाई रहेको छ।
`खेल मैदानको दृश्य बाली रोप्न उघारिएको बारीको पाटा जस्तो देखिन्छ।ढुङ्गा,गिट्टी,काँडा छताछुल्ल छन्।तारबारको ब्यबस्था पनि छैन।´- चन्दले भने।
तत्कालीन समयमा बिरोध जनाएर निर्माण कार्य रोक्न सफल भएका हालका रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन विभिन्न कार्यक्रमहरुमा जाँदा सोहि स्थान नजिकैबाट आवतजावत गर्ने गर्छन्।तर हालसम्म खेलकुद मैदानलाई पुर्णता दिन नसकेको स्थानिय खेलाडीहरुको दुखेसो रहेको छ।
गत बर्ष स्थानिय सरकार रुन्टिगढी गाउँपालिका संरक्षक रहेको होलेरी ब्यापारीक महोत्सव सोहि स्थानमा सम्पन्न गरियो।
अल्पत्र खेलकुद मैदानमा मेला,महोत्सव लगाएर शिर ठाडो बनाएको स्थानिय सरकारले खेलकुदकै लागि भने फर्केर हेर्ने गरेको छैन।
स्वार्थ बाझिने खालका राजनैतिक गतिविधि र स्थानीय सरकारको लाचारपनले रुन्टिगढीको खेलकुद जगतको भविष्यमा हानी पुर्याइरहेको छ।