होलेरी- रुन्टिगढी तथा पाँचौ राष्ट्रपति रनिङशिल्ड कार्यक्रम सनिवार सम्पन्न भएको छ।
गत मंसिर २५ गते उद्घाटन भएको रनिङ शिल्डको आयोजक नेपाल राष्ट्रिय मा.वि. रुन्टिगढी गाउँपालिका ६ डुब्रिङ रहेको थियो।
लगातार ६ दिनसम्म चलेर सम्पन्न भएको रनिङ शिल्डको शिल्ड मावि होलेरीले प्राप्त गरेको छ।जम्मा २८ वटा गोल्ड मेडलमा महेन्द्र माध्यमिक होलेरीले १५,भिमसेन मा.वि.सैबाङले ६,आयोजक नेपाल राष्ट्रिय मा.वि. डुब्रिङले ३ र सुर्योदय मा.वि. मसिनाले ३ गोल्ड मेडल हात पारेका छन्।
त्यस्तै स्वर्ण र काश्य हरु विभिन्न विद्यालयहरुले हात पारेका छन्।
नेपाल माध्यमिक विद्यालय प्राङ्गणबाट उद्घाटन भएर सम्पन्न रनिङ शिल्डको सबै खेल बाहेक दौड सम्बन्धि खेलहरु भने आयोजक विद्यालयको मैदान अपर्याप्तता कारण रुन्टिगढी गाउँपालिका ४ स्थित उघा चौरमा सनिवार सम्पन्न भएको आयोज नेपाल राष्ट्रिय मा.वि.डुब्रिङका प्र.अ.केशरबहादुर घर्तीले जानकारी दिएका छन्।
मा.वि.सैबाङ असन्तुष्टि गोल्ड मेडल ग्रहण गरेन
सनिवार सम्पन्न पाँचौ रुन्टिगढी तथा राष्ट्रपति रनिङ शिल्डप्रति भिमसेन मा.वि.रुन्टिगढी ५ सैबाङले आपत्ति जनाएको छ।
उसले जम्मा हात पारेको ६ वटा गोल्ड मेडल ग्रहण गरेको छैन।पालिका भित्रका जम्मा ९ वटा मा.वि. विद्यालयहरुको सहभागीता सम्पन्न रनिङ शिल्डमा नियम बिपरितका हर्कतहरु भएको मा.वि.सैबाङका प्र.अ. जोखराज रोकाको आरोप रहेको छ।
प्रत्येक बर्ष सञ्चालन हुने रनिङ शिल्डको ब्यबस्थापन तथा नियमनका लागि ३ वटा समितिहरु रहेका हुन्छन्।
गाउँपालिका अध्यक्षको नेतृत्वमा निर्देशक समिति,गाउँ शिक्षा शाखाको प्रमुखको नेतृत्वमा समन्वय समिति र आयोजक विद्यालयको नेतृत्वमा रनिङ शिल्ड सञ्चालन सचिवालय गठन गरिएको हुन्छ।
यि सबै संयन्त्रहरुको पहिलो जिम्मेवारी रनिङ शिल्डलाई सभ्यभव्य र नितिनियम संबत सम्पन्न गराउँन हो।
यो सबै बिचपनि मा.वि.सैबाङले भने शिल्ड हात पार्ने महेन्द्र मावि होलेरीले नियम बिपरित विद्यार्थीहरु खेलमा समावेश गराएको आरोप लगाउँदै गोल्डमेडल ग्रहण गर्न अस्विकार गरेको हो।
`राष्ट्रपति रनिङ शिल्डका लागि खेलमा समावेश गराउँने विद्यार्थीहरुको नामावली गत असोज महिनाको मसान्तसम्म दर्ता गराइ सक्नु पर्ने नियम हामी सबै प्र.अ.हरुको बैठकबाट पारित गरेका थियौँ।´हामिले सोहि नियमलाई अनुसरण गरेर गत असोज महिनामै विद्यार्थीहरुको नामावली दर्ता गरायौँ।यद्यपि महेन्द्र मा.वि.होलेरीले भने पछिसम्मपनि नाम लेखाएर विद्यार्थीहरुको नामावली दर्ता गराएको पाइएको छ।यो सरासर गलत छ-प्र.अ. रोकाले भने।
विद्यार्थीहरुले यो सब थाह पाएर पहिलेनै खेल बहिस्कार गर्न खोज्दा पनि प्र.अ.हरुले गरेको निर्णय बमोजिम असोज मसान्तसम्ममा नै नाम दर्ता गराई सक्नु पर्ने नियम भएकाले बाह्य विद्यार्थीहरु खेलमा समावेश नभएको बताउँदै विद्यार्थीहरुलाई हौसला प्रदान गरेर खेलमा सहभागी गराएको र विद्यार्थीहरुले बाह्य विद्यार्थीहरु समावेश भएको लगातार बताएपछि आफूहरुले बुझ्दा सो कुरा साच्चिकै रहेको पाइएको उनले बताए।
`हामिले नियम बिपरित खेलाडी सहभागी गराएको निश्चित गरेपछि टिकट टासेर १ हजार रुपैयाँ दस्तुरसहित छानबिनको माग गर्दै सचिवालयमा निवेदन पेश गरेका थियौँ।सो निवेदनको कुनै सुनुवाइ र सम्बोधन नगरिएर सनिवार एकाएक गोल्डमेडल बितरण कार्यक्रममा आयोजक प्रवेश गरेपछि हाम्रा विद्यार्थीहरुको मनोभावना अनुरुप हामिले गोल्डमेडल अस्विकार गरेका हौँ।आयोजक र सम्बन्धित निकायले हाम्रा विद्यार्थीहरुको चित्तबुझ्दो तरिकाले न्यायोचित ढंगबाट सम्बोधन गरिनु पर्छ´-प्र.अ.रोकाले भने।
यस अघिका रनिङ शिल्डमा २ पटक शिल्ड हात पारिसकेको भिमसेन मा.वि. सैबाङले आफू पनि नियमको परिधि बिपरित नजाने र पालिका स्तरीय सामुहिक निर्धारित नियम तथा आफ्ना विद्यार्थीहरुको न्याय बिपरित भएका कुनैपनी गतिविधिहरु स्विकार गर्न नसक्ने उनको भनाई रहेको छ।
शिल्ड हात पारेको महेन्द्र मा.वि. होलेरीले आफूप्रति लगाइएको आरोप तथ्यहिन रहेको बताएको छ।
कक्षा ११ को भर्ना समय चलिरहेकाले अनलाइन प्रणालीमार्फत पछि दर्ता गराइएका आफ्ना ६ जना विद्यार्थीहरुको नामावली फिर्ता लिइएको प्र.अ. बेदबहादुर सुर्यवंशी(बेदान्त)ले जानकारी दिएका छन्।मावि सैबाङले पराजय स्विकार गर्न नसकेर आरोप लगाइरहेको उनको तर्क रहेको छ।
त्यस्तै आयोजक समेत रहेको नेपाल राष्ट्रिय मा.वि. डुब्रिङले भने आफूले निति र नियम सम्बद्ध रनिङ शिल्ड सम्पन्न गरेको दावी गरेको छ।
विवाद उत्पन्न भएपछि मावि होलेरीले पनि मावि सैबाङले बाह्य जिल्लाका खेलाडी समावेश गराएको आरोप लगाएको थियो।अन्तिम चरणमा उत्पन्न विवादला सम्बोधन गर्न आयोजकसंग पर्याप्त समय नभएको नेपाल राष्ट्रिय मा.वि. डुब्रिङका प्र.अ.केशरबहादुर घर्तीले बताएका छन्।
पालिकास्तरीय खेलमा अस्वभाविक विवादहरु उत्पन्न हुनु र त्यसको टुंगो नलाग्नुले यतिबेला सिङ्गो रुन्टिगढी गाउँपालिकामाथि प्रश्न खडा भैरहेको छ।तथापि प्रमुख निकाय स्थानिय सरकार रुन्टिगढी गाउँपालिकाले हालसम्म आफ्नो कुनैपनि धारणा सार्वजनिक गरिसकेको छैन।
२०८१ शालको रनिङ शिल्डका लागि भने सरस्वती मा.वि. सतिमले पुर्व सहमति अनुरुप खेलहरुको आयोजना गर्ने भएको छ।