होलेरी- रोल्पाको होलेरी बजारबाट रुन्टीगढी गाउँपालिकाक वडा नं ६ सरेचौरस्थित रहेको मोटरबाटो कालोपत्रे पुरा अझै गरिएको छैन।
आर्थिक बर्ष २०७९/०८० मा होलेरी बजार देखि प्राथमिक स्वास्थ्य केन्द्रसम्मको मोटरबाटो कालोपत्रे १ करोड बढी बजेट बिनियोजन गरिएको थियो।
तर सोहि मोटरबाटो १ किलोमीटर जति मात्रै कालोपत्रे गरेर करिब ५ सय मिटर कालोपत्रेको काम बिसर्जन गरेर छोडिएको छ।होलेरीबाट कालोपत्रे गरिएपनि अस्पतालको प्रांगनसम्म भने कालोपत्रे छैन।
प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुग्नलाई बिरामी लगेर जाने सवारी साधन ५ सय मिटर अगाडिनै रोक्नु पर्ने हुन्छ।कालोपत्रे गर्न बाँकि राखिएको मोटरबाटो बर्षातका कारण हिलाम्मे बनिरहेका कारण बिरामी लिएर आउँने साना सवारी तथा एम्बुलेन्स अस्पताल प्रांगन भित्र पुग्न मुस्किल हुने गरेको छ।
आकस्मिक सेवाका लागि अस्पतालसम्म पुर्याईएका बिरामीहरुलाई १ किलोमीटर जति कालोपत्रे मोटरबाटोमा सवारी तथा एम्बुलेन्समा लगेर गएपनि ५ सय मिटर जति अधुरो राखिएको ठाँउबाट बर्षातका समयमा भने बोकेर अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यात्मक अवस्था रहेको स्थानियहरुको गुनासो रहेको छ।
सडक कालोपत्रे गर्ने जिम्मा लिएका निर्माण कम्पनीले आफूहरुको सम्झौता जहाँसम्म काम रोकिएको छ त्यहिसम्म रहेको बताएको छ।
कालोपत्रे गरिएको ठाउँमा पनि बर्षातले ठाउँठाउँमा पहिरो सहिद ढुङ्गा खसेको छ।तर ब्यबस्थापनमा कसैको चासो देखिएको छैन।
यता स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले भने यस बिषयमा नागरिकलाई कुनै सार्वजनिक जवाफ दिएको छैन।
स्वास्थ्य संस्था २४ औं घण्टाका लागि आकस्मिक सेवा प्रदायक संस्था भएकाले अल्पत्र छाडिएको बाकि मोटरबाटो पनि स्थानिय सरकारले यथासिघ्र कालोपत्रे गरेर आवागमन सहज बनाईदिनु पर्ने स्थानिय सर्वसाधारणहरुको माग रहेको छ।