ताजा अपडेट

पोखरी बन्दै रोल्पा-स्वर्गद्वारी सडकखण्ड,

रोल्पा- रोल्पाको होलेरीदेखि प्युठानको पर्यटकिय स्थल स्वर्गद्वारी पुग्ने सडकखण्ड अधिकांश ठाउँमा पोखरी जस्तै बनेको छ। यता घोराही होलेरी शहिद मार्गको बिजोग अवस्थाले रोल्पा जिल्लाको प्रमुख ब्यापारिक केन्द्र मध्येको होलेरी बजारको ब्यापार र भविष्य पुर्ण रुपले खस्कि सकेको छ।शहिदमार्ग नै शहिद बनेपछि यहाँ अहिले देशका आन्तरिक पर्यटकहरु समेत आउँन छोडि सकेका छन्।

होलेरी स्वर्गद्वारी सडकखण्ड अन्तर्गत सैवाङ्को सडकको अवस्था

रोल्पा जिल्लाकै एक ऐतिहासिक स्थल होलेरीबाट छिमेकी जिल्ला प्युठान,सल्यान र रुकुम तथा दाङसम्म आवतजावत गर्ने सडक सञ्जालहरु बिभाजन हुन्छ।देशकै एक महत्त्वपूर्ण धार्मिक स्थल महाप्रभुको तपोभुमी स्वर्गद्वारी पुग्ने सडकखण्ड पनि होलेरी भएरै पुग्नु पर्ने हुन्छ।घोराही-भालुवाङ भिङ्ग्रि हुँदै पनि स्वर्गद्वारी पुग्न सकिन्छ तर उक्त सडक घुमाउरो तथा लामो दुरीको छ।यसकारण प्युठान स्वर्गद्वारी दर्शन गर्न आउँने भक्तजन तथा घुम्न आउँने पर्यटकहरु घोराही-होलेरी हुँदै स्वर्गद्वारी जाने गर्दछन्।देशका बिभिन्न स्थानसंगै छिमेकी राष्ट्र भारतबाट समेत आउँने पर्यटकहरु समेत पहिले पहिले होलेरी भएर स्वर्गद्वारी आवतजावत गर्दथे।घोराही-होलेरी शहिदमार्गको अवस्था संगसंगै अहिले होलेरी स्वर्गद्वारी सडक खण्ड पनि जिर्ण तथा जोखिमपुर्ण बनिसकेको छ।स्वर्गद्वारी पुग्ने शुरुवाती बिन्दु रुन्टीगढी गाउँपालिका भित्र नै सडकको बिजोग अवस्था बनेको छ।अहिले स्वर्गद्वारी पुग्ने पर्यटकहरुको चाप निकै घटेको होलेरीका स्थानिय ब्यापारीहरुको भनाई रहेको छ।

सडकमै बनेको हिलाम्मे पोखरी

घोराही होलेरी शहिदमार्गको अवस्था त कुरा गरिसक्नु छैन तर अहिले होलेरी स्वर्गद्वारी सडकखण्ड पनि होलेरी सुर्पालसम्म पुग्नै गाह्रो हुन्छ-एक ब्यापारीले भने।आर्थिक बर्ष २०७४/७५ मा यहि सडक खण्ड कालोपत्रे गर्नका लागि संघीय सरकारको बजेट परेको थियो।जसपुरदेखि उघाँसम्म बाटो फराकिलो बनाउने काम पनि भएको थियो।तर प्रक्रिया बिना रुख कटान गरेको भन्दै सव डिभिजन बन कार्यालय होलेरीले निर्माण कम्पनी विरुद्ध अदालतमा मुद्दा  हालेपछि निर्माण ब्यबसायी विरुद्ध पक्राउ पुर्जी समेत जारी गरिएको थियो।त्यसपछि ४ किलोमीटर सडक कालोपत्रे गर्ने जिम्मा उक्त निर्माण कम्पनीले हात उठायो।अहिले होलेरी सुर्पालको सडक खण्ड आवातजावत गर्ने स्थानीयहरुलाई नै यात्रामा कठिनाई हुने गरेको स्थानियहरुले बताउँछन्।स्वर्गद्वारी पुग्ने सडक खण्ड अधिकांश भुभाग प्युठानको पर्ने भएपनि प्युठानले पनि यसमा चासो देखाएको छैन।यता स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले आफ्नो सिमा क्षेत्र सम्मको सडक खण्ड समेत सुधार गर्न सकिरहेको छैन जसका कारण स्थानीयहरु,घुम्न आउँने यात्रु र स्थानिय व्यवसायी निकै मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस