नन्दराम खड्का,रोल्पा- देशकै चर्चित मोटिभेटर तथा मनो बिश्लेशक बिष्णु देवकोटाद्वारा रोल्पाका सयौं विद्यार्थीहरुलाई एकैसाथ मोटिभेशन गरिएको छ।खास गरि रोल्पा जिल्लाका सवालमा भौगोलिक बिकटता र विद्यार्थीहरुमा बाताबरण र मनोसामाजिक समस्याले उनिहरुमा आफ्नो लक्ष्य निर्धारणमा दुबिधा देखिने हुँदा मोटिभेशन कक्षा आवश्यक रहेको मोटिभेटर देवकोटाले बताउनुभयो।रोल्पाको रुन्टीगढी गाउँपालिकासंगको समन्वयमा वडा नम्बर ६ डुब्रिङ स्थित नेपाल राष्ट्रिय मा.वि.का कक्षा ९ र कक्षा १० का सयौं विद्यार्थीहरुलाई बुधबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मोटिभेशन कक्षा सञ्चालन गरिएको हो।कार्यक्रम रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ कार्यालयको सभाहलमा सप्पन्न भएको हो।
रोल्पामा मोटिभेशन कक्षा दिदै विष्णु देवकोटा
कार्यक्रममा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तथा कार्यबाहक वडा अध्यक्ष यामबहदुर थापाको समेत सहभागीता रहेको थियो।मोटिभेशन कक्षापछि सहभागी सबै विद्यार्थीहरुले आफ्नो लक्ष्य निर्धारण गर्न सफल भएका थिए।शाथसाथै आफ्नो दैनिक समय तालिका र ५ डेग्री एंगल चेन्जको शुत्र समेत लागु गर्ने बताएका छन्।
दाङ,बर्दिया,काठमाडौ लगाएत देशका विभिन्न स्थलका विद्यालयहरुमा मोटिभेशन कक्षा सम्पन्न गरिसकेका मोटिभेटर देवकोटाले आजका विद्यार्थी भोलिका देशका मेरुदण्ड भएकाले रोल्पा जिल्ला भरिनै क्रमश विद्यार्थीहरुलाई जागरुक बनाउने आफ्नो योजना र अभियान रहेको जानकारी दिनुभयो।
रोल्पा जिल्लाका विद्यार्थी र संघीय राजधानी काठमाडौका विद्यार्थीहरुले पढ्ने पाठ्यक्रम र पाठ्यपुस्तक उहि भएकाले यहाँका विद्यार्थीहरुले सिधै प्रतिस्पर्धा गर्न सक्नु पर्ने आफ्नो मान्यता रहेको मोटिभेटर देवकोटाको भनाई रहेको छ।प्रारम्भिक चरणमा कक्षा ९ र १० लाई मोटिभेशन कक्षा दिइएतापनि यस प्रकारको कक्षा विद्यार्थीहरुका लागि अपरिहार्य नै रहेकाले आफ्नो विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई पनि यहि जेठ ३ गते एकदिने मोटिभेशन कक्षाको आयोजना गर्ने नेपाल राष्ट्रिय मा.वि.का प्र.अ.केशरबहादुर घर्तीले बताउनु भयो।कक्षा लिएका विद्यार्थीहरुमा पढाईप्रति आत्मबल बढेर आएको प्र.अ.घर्तिले जानकारी दिनु भयो।त्यस्तै कार्यक्रममा सहभागी रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य तथा कार्यबाहक वडा अध्यक्ष यामबहादुर थापाले मोटिभेशन कार्यक्रम निकै नै प्रभावकारी रहेकाले बालबालिकाहरुका स्पष्ट मार्गनिर्देशन र उज्वल भविष्यका लागि पालिकाका सम्पुर्ण विद्यालयहरुले यो कार्यक्रम राख्न आवश्यक रहेको बताउनु भएको छ।