ताजा अपडेट

माओबादि जनयुद्वका चर्चित १३६ घटनाहरु।।

१ फागुन २०५२ बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।

माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।

सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।

द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् ।

अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।

के भए त ती उथलपुथलका दश बर्षमा ? तत्कालिन माओबादीले नै तयार पारेको उसले सम्झिरहने केही महत्वपूण घटनाहरु यस्ता छन्ः

पूर्बि कमाण्डमा सैन्य तालिम दिदै कमाण्डर”अनन्त”

२०५२ साल-
फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँक कब्जा ।

फागुन ६ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्वाहीको जिम्मेवारी स्वीकार ।


फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।

फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।

बन्दिपुर आक्रमणको तयारिमा जनसेनाहरु

२०५३ साल-

वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ १’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।

पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । ‘जनयुद्ध’ सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको मृत्यु ।

बर्दियाको एक नदि तर्दै माओबादी जनसेनाहरु

२०५४ साल-

असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।

भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।

माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।

फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।

चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।

प्रचण्ड,बाबुराम लगाएत माओबादिका उच्च स्तरिय नेताहरु रुकुममा

२०५५ साल-

वैशाखः सरकारद्वारा किलो शेरा टू नामक अपरेसन सञ्चालन ।
भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ १’ भने मूल नारा तय ।

कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।

पुस १८ः २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित कब्जा ।

फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी कब्जा ।

चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।

सैन्य तालिममा माओबादि महिला जनसेनाहरु

२०५६ साल-

वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।

जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता ।

जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।

भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।

असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।

फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत ।

चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।

चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।

२०५७ साल-

शहिद कमरेड सुनिल लगाएत सैन्य कमाण्डरहरु

असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।

भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा ।

भदौ १४ः झापा महवारी इप्रका कब्जा ।

असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैँक कब्जा ।

असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।

कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।

पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।

फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।

चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।

चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।

२०५८ साल-

गोरखा जेलब्रेकका कमाण्डर कमरेड “सपना”

जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।

जेठ १९ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास ।

जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।

जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।

असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।

असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास ।

असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।

साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।

साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।

साउन ४ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।

साउन ८ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।

साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।

साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।

कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।

मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन आग्रह ।

मङ्सिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।

मङ्सिर ८ः माओवादी सेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।

मङ्सिर १०ः पूर्वमा माओवादी सेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।

मङ्सिर ११ः देउवा सरकारद्वारा संकटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।

मङ्सिर १२ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु ।

मङ्सिर २२ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।

फागुन ४ः माओवादी सेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल-

सैन्य तालिममा सहभागि महिला जनसेनाहरु

वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग माओवादी सेनाको दिउँसै भिडन्त । माओवादी सेनाद्वारा सुरक्षा बेसक्याम्प कब्जा ।

जेठ ८ः देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।

जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै हत्या ।

असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा।

असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।

भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।

असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।

असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।

कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।

मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैंक कब्जा ।

माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।

माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।

माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।

माघ २९ः युद्धविराम आचार संहिता जारी ।

चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।

चैत २०ः काठमाडौँमा माओवादीको आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।

युद्वक्षेत्रको नक्सा कोर्दै कमाण्डर पासाङ् लगाएत

२०६० साल-

वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शंकर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।

साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा ‘जिल्ला जनसरकार’ प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।

भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा माओवादी सेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया ।

कात्तिक १०ः माओवादी सेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।

कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।

कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।

कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।

कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा माओवादी सेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।

मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।

पुस २ः माओवादी सेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।

पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।

माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।

माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।

माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।

माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।

माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।

माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।

माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।

फागुन १९ः माओवादी सेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।

चैत ७ः माओवादी सेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।

चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।

चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।

सुर्खेतको जेलभित्रै अनशन बसेका युद्वबन्दिहरु

२०६१ साल-

वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा मृत्यु ।

जेठ ६ः डोटीको घन्टेश्वरमा माओवादी सेना–शाहीसेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु ।

असार ३ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त संघर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।

साउन/भदौः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।

भदौ २०ः माओवादी केन्द्रीय सद्वयहरु शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।

मङ्सिर १ः माओवादी सेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।

मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।

मङ्सिर ५ः कैलालीको पण्डोनमा माओवादी सेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एमः १६ सहितका हतियार कब्जा ।

मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।

पुस ३ः काठमाडौँको साँखु इप्रका माओवादी सेनाद्वारा कब्जा ।

पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला १५ शाहीसेनाको मृत्यु ।

पुस १७ः धनकुटाको सेउतीखोलामा माओवादी सेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।

माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओावदी अध्यक्षको अपिल ।

माघ २०ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।

फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।

चैत २०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।

प्रचण्डको सुरक्षामा कमरेड “रवि”(रुकुमको चुनवाङ्)

२०६२ वैशाख-

वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।

जेठ २७ः काभ्रेको नार्केमा शाहीसेनामाथि माओवादी सेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।

असार ८ः माओवादी सेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृत्यु ।

असार ११ः माओवादी सेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु ।

साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।

असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।

मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।

मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।

मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को मृत्यु ।

मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।

पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।

माघ १ः माओवादी सेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।

माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।

माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।

माघ २७ः माओवादी सेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।

चैत २४ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु।

पिलि आक्रमणको पछिल्लो दिन पिलिमै तत्कालीन शाहि सेनाहरु

२०६३ साल-

वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।

जेठ ४ः पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।

जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।

असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।

साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।

कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।

माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।

चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

प्रतिक्रिया दिनुहोस