रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य संघर्षका पूरै जवाफ जनमुक्ति सेनाले दिनुपर्ने एउटा गम्भीर परिस्थितिमा हामी आइपुगेका थियौँ । राजनीतिक परिस्थितिलाई नयाँ उचाइमा उठाउने उद्देश्यकासाथ सशक्त फौजी कार्वाहीका लागि हामी बाँके-बर्दियातिर लाग्यौँ ।
कर्णाली-चिसापानीदेखि कोहलपुरसम्मको राजमार्गलाई “एम्बुस-माइनिङको एक्सन फोकल प्वोइन्ट”को रुपमा निर्धारण गरेका थियौँ । चिसापानी-भुरीगाउँ सडकखण्डमा जनमुक्ति सेनाको सशक्त सशस्त्र टिम जमेरै एम्बुस-माइनिङसहित १८ दिन “राजमार्ग कब्जा” गरेर बस्यौँ । दुश्मनलाई ब्यारेकबाहिर निकाल्न अनेक प्रयासहरु गर्यौँ, ब्यारेककै गेटमा पुगेर आक्रमण गर्दा समेत बरु पोष्ट नै छाडेर भाग्थ्यो । राज्यको पाल्तु शाही नेपाली सेनासँगको लडाइँ निकै पेचिलो बन्दै गयो । जनमुक्ति सेनासँग शाही नेपाली सेना ब्यारेकबाहिर जमेर लड्न सक्दैन्थ्यो, ब्यारेकमा बाहेक । रम्भापुर, भुरीगाउँ, चिसापानीका भिडन्तमा शाही नेपाली सेनाले ठुलो क्षति ब्योहोरेको थियो ।
एकातिर हामी राजमार्गमा जमेरै एम्बुस, माइनिङकासाथ भिडन्तको तयारीमा थियौँ भने अर्कातिर सदरमुकाम कब्जाको झन ठुलो तयारीमा लागेका थियौँ । यसै बिच बर्दियाको सदरमुकाम गुलरिया कब्जा गर्ने योजनाको अन्तिम तयारी गर्दै थियौँ । तर अघिल्लो दिन सर्वेमा खटिएका एकजना कमरेड सदरमुकामबाटै गिरफ्तार परेपछि योजना एक्सपोज भयो । मध्यराति निकुञ्जभित्र हाम्रो आर्कमा सेनाको हेलिकप्टरबाट भीषण बमवर्षा भयो, एचएमजीबाट भीषण फायर । प्रतिरोध गर्दै हामी सुरक्षित स्थानतिर ‘सेभ’ भयौँ । बर्दियाको सदरमुकाम कब्जा गर्ने योजना असफल भयो ।
त्यसपछि ठाकुरद्वाराको बाह्य पोष्ट हान्ने योजना बन्यो । हामी त्यसतर्फ लाग्यौँ । त्यहाँ नपुग्दै दुश्मन भागेको सूचना प्राप्त भयो बाटोमै । सबैलाई केन्द्रित गरी डिभिजन भिसी क. विविधले परिस्थितिको जानकारी गराउनु भयो । यसपछि अर्का योजना कार्यान्वयन गर्ने लक्ष्यसहित त्यहाँबाट हामी गणेशपुरतर्फ यात्रा अगाडि बढायौँ । रातभरको यात्रा, उज्यालो भइसकेको थियो । करिब बिहान ७ बजेतिर बेलभार पुग्यौँ ।
दुश्मनलाई जिउदैँ छोप्ने आँट, साहसका साथ जनमुक्ति सेना गणेशपुरतिर लाग्यौँ । दिउँसो एक बजेतिर दुश्मन आएर गणेशपुरमा लुटपाट मच्चाउन सुरु गर्यो । बाटो अवरोध गर्न ढालिएको रुखलाई पन्छाउनतिर होइन, सर्वसाधारण जनतालाई कुटपिट गर्दै, लुटपाटमा उत्रियो । दुश्मनको “फोर्स क्लियर” गर्न पटक-पटक सूचना संकलन गर्यौँ तर “उही सूचना, उहीँ संख्या” । आक्रमणका लागि हामी तयार भयौँ, कमान्डरबाट आदेश भयो । हामीले आफ्नो “सेलेक्ट टिम” बनायौँ ।
बटालियन भिसी क. पशुपतिलाई टिममा फर्काई कमाण्डर क. मुनाललाई टिम अगाडि बढाउन निर्देशन गरियो । यता कमाण्डर क. जीत, क. विकल्पसँग आवश्यक निर्णय लिएर डिभिजन भिसी क. विविध र बिग्रेड कमिसार क. प्रतीक आवश्यक फोर्ससहित अगाडि बढ्नु भयो । हामी सबैको ‘ग्यादरिङ’ वेलभार स्कुलमा भएको थियो । समग्र स्थिति बुझिसकेपछि टिम अगाडि बढायौँ । हतारमा थियौँ, धैर्यताको कमी देखियो । आवश्यक कुराकानी पनि हुन पाएन हाम्रो “रिजर्भ र डिफेन्स” टिमसँग । दुश्मनलाई छोप्ने हाम्रो योजनाअनुसार दौडदैँ हामी गणेशपुर नजिक पुग्यौँ ।
दुश्मनको समग्र अवस्था बुझ्न अझै आवश्यक थियो । पटक-पटकको रिपोर्ट एउटै छ “उही ५० जना” । यति मात्रै नहुन सक्छ । अलि क्लियर गरौँ मैले भनेकै थिएँ । सबैलाई लाग्योः ब्यारेक बाहिर निस्कन नसक्ने दुश्मनको ५० जना मात्र फोर्स, यति दुस्साहस नगर्न सक्छ । कमाण्डर, कमिसार कमरेडहरुले पटक पटक बुझ्न लगाउनु भएकै थियो । रिपोर्ट त्यही आएपछि दुश्मनलाई जहाँ पायो, त्यहीँ ध्वस्त पार्न सक्ने सफल जनमुक्ति सेनाको फोर्स आक्रमणका लागि गणेशपुरतर्फ अगाडि बढ्यौँ । दौड्दै जाँदा टिमको सेट भद्रगोल बन्दै गयो । गुलरिया जाने रोडनेर ब्रिगेड कमिसार र बटालियन कमाण्डर मुनालसँग भेट भयो । क. जीतले टिम सेलेक्ट गर्नुस् प्रशान्त जी भनेर अगाडि बढ्नु भयो । हामीले २५ जनाको सेलेक्टेड टिम तयार गर्यौँ र उत्तरी मोर्चामा खटायौँ । अरु बाँकी ठुलो फोर्सको व्यवस्थापन गर्न निकै हम्मेहम्मे भयौँ, एक्सनमा हिँडिसकेको फोर्स सम्हाल्न गाह्रो । एक्सनमा जान नपाएर धेरै जना कमरेडहरु रिसाउनु भयो मसँग, तर पनि कमान्डरको आदेश मान्नुको विकल्प थिएन । बाँकी सबै फोर्स “रिजर्भ र डिफेन्स” टिममा बस्नु भयो ।
एउटा ब्लकिङ टिम क. कमलको नेतृत्वमा गुलरियाको रोडतर्फ र हामी कमाण्डर क. मुनालसहित २५ जना उत्तरी मोर्चाको एसल्टमा गयौँ । डिभिजन सह-कमाण्डर क. विविधले वेनरनमा जानुहोस् भनिरहनु भएको थियो । सानो कुलोको बाटो भएर गहुँको बारी, अडहरको झाडी बिच हामी गणेशपुर स्कुलनेर पुग्यौँ । अत्यन्तै अफेन्सिभ कमान्डर क. प्रवेश, क. उपेन्द्र, क. कृति एलएमजी ग्रुपसहित अगाडि बढिरहनुभयो । शाही नेपाली सेना र जनमुक्ति सेना गणेशपुरमा आमुन्ने सामुन्ने भएपछि भिडन्तको फायर खुल्यो । भीषण फायर ड्याङ, ड्याङ चुइँकल असिनाको वर्षाझैँ शरीरका वरिपरि गोलीहरु र बमका छर्राहरु । हाम्रो अगाडि दर्जनौँ टु इन्च मोर्टार, ८१ मोर्टार बमहरु वर्षायो, एलएमजी, एम १६, जीपीएमजीबाट भीषण फायर । भूगोलको अनविज्ञता नै हाम्रा लागि निकै चुनौती बन्यो ।
लडाइँको लगत्तै उत्तरी मोर्चाबाट दुश्मनलाई लखेटेर एउटा घरमा कैदी बनायौँ । क. उपेन्द्रको टिमले दुश्मनमाथि भीषण हमला गर्दै दुश्मन लुकेर फायर गरिरहेको आर्कतिर अगाडि बढिरह्यो । हतियारसँगै ढलेको सेनाको हातमा रहेको एम-१६ खोस्न जाँदा कमरेड क. उपेन्द्रलाई गोली लाग्यो । उहाँ सहिद हुनुभयो । टिम कमाण्डर गुमाइसकेपछि साथमा रहेका अरु सात जना जनमुक्ति सेनाका सहयोद्धा कमरेडहरुको पनि दुश्मनसँग लड्दालड्दै करिब आधा घण्टामै सबैको सहादत भयो । दुश्मनतर्फ पनि ठुलै क्षति भयो हाम्रो आर्कमा तर मेरै अगाडि आँखाले देख्दादेख्दै हामीले लडिरहेको त्यो आर्क दुश्मनको बन्यो ।
यता दुश्मनले कुलोको ढिकमा घाँस काट्दै गरेकी एक जना महिलालाई गोली हानेर मार्यो । एक जना युवक दौडिदैँ थिए हात उठाउँदै । तिनलाई पनि गोलीले भुट्यो । अरु सात-आठ जना गाउँलेहरुलाई त्यहीँ ढाल्यो । दर्जनौँ निर्दोष जनता घाइते भए । कुलोको वरिपरि चरिरहेका भैँसीहरु गोली लागेर छट्पटाउन थाले । कमाण्डो कमाण्डो भन्दै सेनाको हत्यारा फोर्सले हवाई र स्थलबाट भीषण हमला बढाइरहेको थियो । बिचरा किसानहरु! हात उठाउँदै हामीलाई “बचाऊ” भन्दै थिए तर दुश्मनले छोडेन । एक-एक गरी गोली हानेर मारेरै छोड्यो । सेनाको कमाण्डो फोर्सको अगाडि परेका सबैलाई मार्यो । विवेकशून्य दुश्मनले गोली हानेर दर्जनौँ घाइते भएका थिए । ती घाइतेहरुमध्ये केहीलाई हामीले दुश्मनको घेरा बाहिर निकाल्यौँ । घाइतेको संख्या धेरै भएकोले सबैलाई एक-एक गरी घेरा बाहिर निकालेर बचाउन असफल भयौँ ।
लड्दा लड्दै “एन्टि” घेरामा परिसकेछौँ । मेरै अगाडिबाट क. प्रवेशको टिम र बटालियन सह-कमान्डर क. पशुपतिको नेतृत्वको एलएमजी ग्रुप पनि सिद्धियो । दक्षिणी मोर्चा जो हाम्रो मुख्य मोर्चा थियो – त्यहाँ क. जीतले कमाण्डिङ गरिरहनु भएको थियो । त्योसँग सूचना सम्पर्क कट्यो । हामी दुश्मनको शक्तिशाली भनाउँदा रेन्जर बटालियनको “C” आकारको घेरामा पारिसकेका थियौँ । दुश्मनको योजनामा हामी पर्यौँ । उसले हामीलाई “एन्टि एक्सन” गर्यो ।
हामी बिच धेरैको वाकिटाकीमा “सूचना” कटअफ भइसकेको थियो । डिभिजन कमाण्डर क. प्रभाकरको कन्ट्याक्ट भयो । उहाँले क. जीतलाई सम्पर्क गरी ब्याक हुन निर्देशन गर्नु भयो । सोहीअनुसार रनरलाई पठाएँ तर टु इन्च मोर्टारको धमकामा परी घाइते हुनु भयो ।
कमाण्डर क. मुनाल परालको थुप्रोमा कभर लिइबसेको भेटेँ । यतिबेला हाम्रो सबै टिम क्षतविक्षत भइसकेको थियो कोही सहादत कोही घाइते भएर । सहिदका साथ रहेका हतियार जम्मा गरी क. पवित्र र म सल्लाह गर्यौँ । मैले क. पवित्रलाई भनेँ “तपाईं घाइतेलाई बोक्नुस्, म हतियार बोक्छु” । उहाँले घाइतेलाई बोक्नु भयो र मैले हतियार । म अगाडि बढेँ भने क. पवित्रले क. जेटलाई बोकेर हिँड्नु भयो । भीषण आक्रमणको बिच क. परिवर्तनले क. जेटलाई मोटर-साइकलमा हालेर घेरा बाहिर लैजानु भयो । कमाण्डर क. मुनाल घाइतेहरुका साथ घेरा बाहिर निस्कनु भयो । म पनि नबाँचेको भए उहाँ पनि छुट्नु हुन्थ्यो ।
हतियार समेत लिएर डिभिजन सह-कमाण्डर क. विविध र बिग्रेड कमिसार क. प्रतीकलाई बुझाइदिएँ । हामी सबै जना दुश्मनको घेरामा थियौँ । सहादत प्राप्त गर्नु भएका क. विजयको हातको राइफलको म्याग्जिनमा रहेका बाँकी गोली नै हाम्रो जीवन बन्यो । डिभिजन सह-कमान्डर क. विविधले प्रशान्तजी “हान्नुस्, हान्नुस्” भन्ने आदेश गरेपछि सेनाको कमाण्डो फोर्सतिर गोली चलाइयो । हामीलाई झम्टनै पुगेको दुश्मन ढल्यो । डिभिजन भिसी क. विविध र बिग्रेड कमिसार क. प्रतीकसमेत घेरा तोड्न सफल हुनु भयो । टु इन्च मोर्टारले झण्डै मार्यो । धमकाले उछिट्यायो । मोर्चामा सबै टिम सिद्धिँदा पनि कमाण्डर र कमिसारलाई बचाउन सफल भइयो । यो नै मेरो जिम्मेवारी र कर्तव्य थियो ।
लड्दै घेरा तोड्ने क्रममा हामीले अर्को मोर्चा कस्यौँ । आँपको रुखको आड लिई मोर्चा कसेर केहीबेर लड्यौँ । थप तीन जना कमरेडहरु फेरि घाइते हुनुभयो । भीषण गोली तथा बमको धमका बिच क. अथक बिचमै पर्नु भयो । बालबाल बाँच्नु भयो । लड्दै भिड्दै दुश्मनको बलियो “C” आकारको घेरा तोड्यौँ । बाघझैँ गर्जने हाम्रा कमाण्डरको काशन समाप्त भयो । उत्तरी आर्कको मोर्चामा हाम्रो टिमबाट १७ जना कमाण्डरहरुको सहादत भयो । अरु ६ जना घाइते हुनु भयो । घाइतेमध्ये क. डम्बरको बाटोमै सहादत भयो । हामीसँग लडाइँको मैदानमा घाइतेको उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी क. अग्नि र क. सृजनालाई दुश्मनको बलियो घेराबाट निकालेर अलि पहिल्यै रिट्रिट गरिसकेका थियौँ । कमाण्डर क. मुनाल घाइतेहरु लिएर अलि पहिले घेरा तोड्नु भयो । अब बाँकी म मात्र । चारैतिर साथीहरुको “शव” छोडेर फर्कन गाह्रो भयो । अब म मात्र बाँचेर के हुन्छ र भन्ने लाग्यो । युद्धको नियम मैले पालना गर्नै पर्थ्यो । म जीवित फर्कँदा जनमुक्ति सेनालाई नै राहत हुन्थ्यो ।
दुश्मनले उक्त मोर्चा कब्जामा लिइसकेपछि सर्चमा लाग्यो । यहीबेला म घेरा तोडेरबाहिर सुरक्षित हुन पुगेँ ।
म एक्लै अनेकौँ सोचसहित भारी मन लिएर फर्कदै थिएँ । भैसेगाउँ नजिकै क. विकल्प, उहाँको स्टाफ बिमल र मेरो बिच जम्काभेट भयो । आँखाभरि आँशु लिएर क. विकल्प मेरो हात समातेर भन्नुभयो – “प्रशान्त जी, हामीले क. जीत गुमायौँ ।” दिमागमा अर्को झड्का पर्यो । दुवै जना भावविह्वल भयौँ त्यहीँ । हामी एकआपसमा कुराकानी नै गर्न सकेनौँ । त्यति धेरै साथीहरु गुमाएर फर्किरहेको बेला क. जीतको सहादतले केहीबेर एकोहोरो घोइरिरहने बनायो । एउटा कमाण्डरले ब्याटलमा आफ्ना सहयोद्धा कमाण्डर कमरेडहरु “अन द स्पट” मै आफ्नै अगाडि ढल्दा र गुमाउँदाको पीडाबोध व्यक्त गरिसाध्य छैन । मलाई लाग्यो – म मात्र बाँचेर, साथीहरु सबै गुमाएर बाँच्नुको अर्थ छैन । एसल्ट टिमको पूरै बलिदानी गरेर पनि हाम्रो नेतृत्व, योजना, संगठनको रक्षा भयो । समग्रमा क्षति भयो ।
केहीबेर गाउँको एउटा पानी धारामा उभिई हातमुख धोएर, पानी पियौँ । जनताले हामीलाई साइकल दिए । मलाई हिँड्न अलि गाह्रो भएकोले डर्लपमा हालेर अर्को गाउँ नजिकसम्म पुर्याउनु भयो । दुश्मनले बमवर्षक हेलिकप्टरबाट हामीलाई पिछा गर्दै बम हान्न थाल्यो । त्यतिबेला जनताले हामीलाई सुरक्षित बनाइसकेका थिए । उसले आतंकित पार्न बमवर्षक हेलिकप्टर घुमाउन थाल्यो । हाम्रा लागि यो हेलिकप्टर “आकाशमा गिद्ध आयो, घुम्यो, गयो” झैँ भइसकेको थियो । हवाई आक्रमण मनोवैज्ञानिक लडाइँ पनि हो । यत्रो लडाइँ लडेर पटक-पटक हवाई आक्रमणलाई धिक्कारी सकेको जनमुक्ति सेनालाई यो त सामान्य विषय बनिसकेको थियो ।
बर्दिया जोगीगाउँ स्कुलमा पुग्दा लस्करै राखिएका घाइतेहरुको उपचार भइरहेको थियो । त्यो दृश्यले एकछिन त भावुक बनायो साह्रै । उता ३७ जना कमरेडहरुलाई गुमाउँदाको पीडा त छँदै छ । मनभरि थुप्रै कुराहरु खेलाउँदै बटालियन कार्यालयमा पुग्यौँ । रातभरि साथीहरुकै याद आइरह्यो । निन्द्रा पटक्कै लागेन । रात यसरी नै बित्यो ।
बिहान ब्रिगेड स्टाफको सामान्य छलफलपछि सबै टिम रिट्रिट हुने, राजमार्ग वरिपरि मोर्चा कसेर लड्ने, एउटा बटालियन बिरामी लिएर संगठन सुदृढ गर्ने जिम्मा लिएर सम्बन्धित ठाउँ-ठाउँमा जाने निर्णय भयो । सोही निर्णय अनुसार मेरो बटालियनमा नै बढी क्षति भएकोले बिरामी लिएर चर्को घाममा अगाडि बढायौँ । सुरक्षित स्थानमा पुर्याउन कुनै थकावटको महसुस गर्नु भएन साथीहरुले । हार्दिकता र भावनाले भरिएको हृदयले सहयोद्धा कमरेडहरु घाइते हुँदा रगतका फाल्साहरु शरीरमा खस्दा रगतले लत्पतिएको टोपी खस्ने उकालोमा बढ्दै थियौँ ।
साँझपख डिभिजन कमाण्डर क. प्रभाकरले फोन गर्नु भयो । बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हामी मोर्चामा सहभागीहरुलाई धन्यवाद दिनुभयो । बिरामीको उपचारबारे आवश्यक निर्देशन दिएपछि हामी कार्यालय स्टाफको बैठक बसी त्यसलाई अझ ठोस गरी कार्यान्वयन गर्न आवश्यक निर्णय लियौँ । हुरी बेस्सरी चलिरहेको थियो । बिरामी कमरेडहरुलाई व्यवस्थित रुपमै राख्ने काम गर्यौँ । बटालियन भिसी क. गुरुङलाई बिरामीहरुको कमाण्डिङ गर्ने जिम्मा दिइयो । क. लोसी, क. जितेन्द्र, क. अग्रीम लगायतका डाक्टरहरु पूर्णरूपमा उपचारमा जुट्नु भयो । क. डम्बरको स्थिति भने अलि गम्भीर थियो । बिहान उज्यालो भयो । उहाँको निधन भयो । त्यसपछि सहिदका रगतहरु मिश्रित भेरी नदीको किनारको समतल भूभागको सुन्दर बस्तीमा नजिकै उहाँको अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भयो ।
जनताद्वारा असाध्यै माया र सहयोग बिच गरिएको जनमुक्ति सेनाका रोलकल भयो । डिभिजन कमाण्डर क. प्रभाकरले लिखित “प्रशंसा पत्र” पठाई धन्यवाद दिनु भएको पत्र प्राप्त गरे । यसपछि निश्चित उपचार स्थान र टिमको बसाइ मिलाएर पूर्वनिर्धारित योजनाअनुसार सुर्खेत विद्यापुर पुग्यौँ । गोटु, साल्मा, विद्यापुर लगायतका ठाउँहरुलाई आर्क निर्धारण गरी बस्यौँ । जनवादपूर्ण रोलकलको योजना कार्यान्वयन गर्नेतर्फ लाग्यौँ । बजार नजिकै उत्तरपट्टि जंगलको केही समतल भूभागमा हाम्रो रोलकल सुरु भयो । रोलकलमा जिल्ला डिसिएसको उपस्थिति थियो ।
बिग्रेड कमाण्डर क. जीत, बटालिएन भिसी क. पशुपति, कम्पनी कमाण्डर क. प्रवेश, प्लाटुन कमाण्डर क. उपेन्द्र, सेक्सन कमाण्डर क. विशाल, सदस्यहरु क. पवन, क. विजय, क. कृति लगायत ३७ जना जनमुक्ति सेनाका होनाहार योद्धाहरुको सहादत नेकपा (माओवादी) जनयुद्ध यताको सबैभन्दा गुणात्मक ढंगले क्षति हो ।
दीर्घकालीन जनयुद्धको यो प्रत्याक्रमणको संगीन मोडमा दुर्लभ कमाण्डर क. जीतलाई गणेशपुर मोर्चामा गुमायौँ । फाल्गुन १७ गते २०६१ निश्चय पनि दुर्भाग्यको दिन भयो जनमुक्ति सेनाको इतिहासमा । हामीले गणेशपुरको मोर्चाबाट हाम्रो कमाण्डरहरु गुमायौँ । सहिदको रगतले साटिएका प्यारा हतियार गुमायौँ । हतियार त गुम्छ पनि ल्याइन्छ पनि, तर कमाण्डर क. जीतसहित ३७ जना कमाण्डरहरु भौतिक रूपमै गुमायौँ ।
हुन त युद्धको उचाइसँगै बलिदानीको उच्चता पनि बढ्दो रहेछ । हरेक लडाइँ विजय र पराजयको मोर्चा बन्दै अगाडि बढ्छ । पराजय र क्षतिहरु “शिक्षा” बन्छन् । दुश्मनको समग्र योजनालाई बुझ्न नसक्दा हामीले लडाइँ हार्यौँ । परिणामतः यो हार पूर्वयोजनाको “एक्सपोज”पछिको स्थिति हो । तराईमा मुख्य गरी योजना रक्षाको चुनौती नै गम्भीर विषय हो । हामी लडाइँ लड्ने र जित्ने मानसिकता हामीमा पनि रह्यो । त्यसैको परिणाम हामीले गणेशपुरमा क्षति ब्यहोर्यौँ ।
त्याग, समर्पणको पाटो हेर्दा घेराउमा पर्दा पनि पूरै एसल्ट सिद्धिँदा पनि लडाइँ लडिरहनु बलिदानको उच्चता हो । लडाइँमा कमाण्डर, नेताहरुको सहादत हुन्न भन्ने भ्रम पनि तोडियो । जुनसुकै अवस्थामा पनि सहादत हुनसक्छ भन्ने पुष्टि भयो । परिणाममा हारे पनि १८० जनाको फोर्सले ७०० भन्दा बढीको रेन्जर फोर्ससहितको शाही आतंककारी सेनासँग घण्टौँ लड्नु सामन्य विषय होइन । दुश्मनलाई हायलकायल पार्न सफल भएको; त्याग, बलिदान, साहस, विवेक र रणकौशलको प्रयोगमा जितेको लडाइँ हो गणेशपुर ।
एकाध फौजी कारबाहीहरुका हारलाई पराजय र शक्तिहीन भएर खत्तम भए । हार्नुको कारण व्यक्ति विशेषसँग जोड्न खोजी पार्टीभित्रकै अवसरवादीहरु, दक्षिणपन्थी आत्मसमर्पणवादीहरुले हारमा खुशीयाली बाँडे । आनन्द महसुस गरे । नेतृत्वमाथि प्रहार गर्दै योजना असफल बनाउने षडयन्त्रकारीहरु रमाए । बाह्य र आन्तरिक दुश्मनलाई नाजवाफ पार्ने एउटा फौजी कारबाही सम्पन्न गर्नु थियो । क्रान्तिकारीहरुका निम्ति लडाइँ जित्नैपर्ने एउटा अतुलनीय चुनौती खडा भयो । नेपाल र नेपालीहरु तथा सिङ्गो विश्व सर्वहारावर्गले विजयको सन्देश सुन्न आतुर भए । हामी विश्वस्त थियौँः गणेशपुरको बदला लिएरै छोड्नेछौँ, ढिलो वा चाँडो । फेरि पनि उत्कर्षको कारबाहीको सफलताले मात्र सबैको जवाफ दिन सक्थ्यो ।
गणेशपुर मोर्चा कैयौँ मोर्चाहरुका लागि शिक्षा बन्यो । दुश्मनको पनि ठूलो संख्यामा क्षति भएकै हो । मेरै अगाडि ठूलो संख्यामा शाही सेना ढलेको मैले देखेको हुँ । सेनाले मृतक सैनिकको संख्या लुकायो । दुरदराजका जनसमुदायमा भ्रम पर्यो किनकि दुश्मन प्रचार-युद्ध लड्न खप्पिस थियो । वास्तविक लडाइँमा त हारेको प्रशस्त प्रमाण छन् । पहाडमा त दुश्मन बढारिएकै हो । तराईमा समेत असुरक्षित र क्याम्पमै कैद भएको कुरा पनि सत्य नै हो । गणेशपुरमा हामी हारेकै हो ।अर्को लडाइँ जित्न यसले ठुलो शिक्षा दियो । समय, संख्या, योजना मूलत: सर्वेमा कमी हुँदा हारिएको हो । त्यसपछि देशभरि भएका दर्जनौँ ठुला ठुला रेड र मोर्चायुद्धमा जनमुक्ति सेनाले सफलता प्राप्त गरेको जगजाहेरै छ ।
हाम्रो गाउँले सहर घेर्दै आम जनतालाई फौजीकृत पार्दै केन्द्रीय सत्तामाथि धावा बोल्दै कब्जा गर्ने महान् विजय अभियान थियो । नयाँ जनवादी गणतन्त्र नेपाल प्राप्त गर्ने, देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितासहितको संविधान निर्माण गर्ने हाम्रो राजनीतिक तथा फौजी लक्ष्य थियो । सो योजनाको कार्यान्वयनले हार्दै नहार्ने जीतको तागत दिएको थियो । त्यसैले हामीले भन्यौँ – “विजय सुनिश्चित” छ । वीर सहिदहरु – लाल सलाम !!
(लेखक जनमुक्ति सेना, नेपालका डिभिजन भिसी तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।)