दाङ- सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा सोमवार दाङ आउनुहुने भएको छ ।

दाङको घोराहीमा यही वैशाख ३ र ४ गते हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सव २०८१ को उद्घाटकको लागि मन्त्री शर्मा दाङ आउन लागेकी छन् ।
दाङमा पहिलो पटक हुन लागेको मिडिया महोत्सवको सम्पूर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले बताए ।
सञ्चार मन्त्री शर्मासहित राष्ट्रिय स्तरका वरिष्ठ पत्रकारहरू एवं जनप्रतिनिधिहरूको उपस्थितिमा हुने मिडिया महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष केसीले जानकारी दिए ।
महोत्सवको वैशाख ३ गते नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्ने भएकी छन्। महोत्सवको पहिलो दिन महासङ्घको साधारण सभासँगै ‘सङ्घीयता विकास र मिडिया’ विषयक बहस कार्यक्रम हुनेछ । जसमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरू वक्ताको रुपमा रहने छन् ।
वैशाख ४ गते मिडियाको ‘सामर्थ्य र भविष्य’, ‘नैतिकताको कसीमा मिडिया’, ‘मिडियामा समावेशी सवाल’, ‘हिजोका मिडिया र आजका मिडिया’, ‘कानुन निर्माण र मिडिया साक्षरता’ लगायतका विषयमा छुट्टाछुट्टै बहस हुने छन्।
बहसका लागि वक्ताका रुपमा नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी लगायत रहनुहुने महासङ्घ दाङले जनाएको छ।