ताजा अपडेट

घोराहीमा विद्युतिय प्रणालीबाट घर नक्सा पास शुरु,युग अनुसारको सेवा प्रबाह:नगर प्रमुख चौधरी

घोराही- घोराही उपमहानगरपालिकाले विद्युतिय प्रणाली अनलाईन मार्फत घर नक्सा पास गर्ने कार्य शुरु गरेको छ । विद्युतिय सुशासन सेवा अन्तरगत उक्त अनलाईन प्रणालिले सेवाग्राहीहरुलाई उपमहानगरपालिकामा आउनु नपर्ने गरी अनलाईन मार्फत सेवा दिने छ । उक्त डाटा राष्ट्रिय सूचना प्रविधी केन्द्र सिंहदरबार काठमाडौमा समेत सुरक्षित रहनेछ । यसबाट फाइल राख्न र खोज्न हुने झन्झटको समेत अन्त्य हुने छ । डाटाहरुको रेकर्ड कति दर्ता भए ? कति सम्पन्न भए ? र कति इजाजत गए भन्ने बिषयमा तुरुन्तै जानकारी लिन सकिने छ । अब जग्गा नापजाँच वडा बाटै सम्बन्धीत वडाको अनिमबाट हुने छ । सर्जिमिन मुचुल्का सधियार हस्ताक्षर र १५ दिने सूचना र राजस्व सम्बन्धीत सबै वडाबाट हुने छ भने प्रमाण पत्र लिन मात्रै घर धनी उपमहानगरपालिकामा आउनु पर्ने छ । उक्त अनलाईन सेवाको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् ।

सोमबार एक कार्यक्रमका बिच घोराही उपमहानगरपालिका वडा नम्बर १७ धाईरेखुटीका चुडामणि घर्ती क्षेत्रीलाई उक्त घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको उद्घाटन गरेका हुन्। नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, अन्य इन्जिनियर र प्राविधिकहरुको उपस्थितीमा अनलाईन मार्फत घर नक्सा पास गर्ने कामको सुरुवात गरिएको हो । कार्यक्रममा नगर प्रमुख चौधरीले युग अनुसारको सेवा प्रबाह सरकारको जिम्मेवारी भएको बताएका छन्। नागरिक सेवामा सहजता ल्याई छिटोछरितो र पारदर्शि सेवा दिन यो कामको सुरुवात गरेको बताए । बलियो पूर्वाधारले मात्रै नागरिकको जनधनको सुरक्षा हुने उनको भनाई रहेको छ । साथै उनले विना इजाजत घरहरु बनाउने कार्यलाई रोक्न र सुरक्षित घर बनाउन नागरिकहरुलाई प्रोत्साहन गर्ने गरी कडाईका साथ निगरानी गर्न प्राविधिकहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस