ताजा अपडेट

नि.मा.वि शिक्षक सरह सुब्बासावको तिखो प्रहार

मानिसका क्षमता र योग्यताका आधारमा समाजमा अनेकौ किसिमका पेशाहरु छन्।हरेक पेसाको आफ्नो क्षेत्रमा आफ्नै खालको गरिमा तथा महत्त्व हुन्छ।एक शिक्षित मानिसले समाजमा बिद्यमान सबै पेसा र पेसाकर्मीलाई उत्तिकै महत्त्वका दृष्टिकोणले हेर्नू पर्ने हुन्छ।

शिक्षित मानिसहरूले गर्ने पेशा र काम तथा अशिक्षित त्यसमा पनि साक्षरता समेत नभएका मानिसहरूले गर्ने काम दिउबैको आआफ्नो ठाउँमा सबैलाई बराबरनै महत्व हुन्छ।यसको अर्थ कामको प्रकृतिको हुनसक्छ तर काम सानो र ठुलो भने हुँदैन।सबैले एकअर्काको पेसाको सम्मान गर्दै अगाडि बढ्ने हो भने कुनैपनि समाज सभ्य एवं समृद्ध बन्ने कुरामा दुईमत छैन।यसका शाथै एकआपसको स्विकारोक्ति तथा सम्मानले नै समाजमा रहको बिभेद अन्त्य हुँदै जान्छन्।मानवताको भावना भित्र परस्पर सहिष्णुता बढ्न थाल्दछ।

एउटा प्रचलित नेपाली उक्ति पनि छ कि फलेको बृक्ष सधै झुक्ने गर्दछ।यस भनाईको भावार्थलाई हेर्ने हो भने सामाजका शिक्षित ब्यक्ति अन्यको तुलनामा ज्ञानी हुनुपर्दछ।र ज्ञानको मुल्यमान्यता तथा अनुशासनको उच्चतम प्रदर्सन गर्नु पर्छ।सबैसंग झुक्नु पर्दछ।भन्ने तात्पर्यनै यस ब्यबहारिक भनाई भित्र हुनुपर्दछ।एक शिक्षित ब्यक्तिबाट समाजले पनि तुलनात्मक हिसाबले बिशिस्ट खालको अपेक्षा गरेको हुन्छ।भनिन्छ कुनै पनि बालक जन्मनुको दिनबाटै उ प्रति पारिवारिक,सामाजिक तथा राष्ट्रिय अपेक्षा हुने गर्दछ।

त्यहि बालक भविष्यमा अझ शिक्षित बनेपछि परिवार,सामा र राष्ट्रले अपेक्षा नगर्ने कुरै भएन।तर यदि शिक्षित ब्यक्तिहरुले शिक्षा आर्जन गरिसके पछि समाजमा म मात्रै जान्ने अरु नजान्ने आदि आदि मनोभाव बिकसित गर्न थालियो भने समाजको रुपरेखा कस्तो बन्ला?समाज पक्कै बिखण्डनको शिकार हुन पुग्दछ।

एक पेशाकर्मीले अर्को पेशाकर्मीलाई गर्ने व्यबहार र हेर्ने दृष्टिकोणमा पनि बिभेद रह्यो भने पनि समाजमा बैमनस्यता पैदा भएर विवाद तथा अन्तरद्वन्द्व पैदा हुन थाल्दछ।
यद्यपि सबै संकुचित मनोभावका भने हुँदैनन्।सबै पेशाकर्मीको परस्पर सम्मान गर्न सक्नुनै शिक्षित र सभ्य ब्यक्तिको गुण मानिन्छ।

साक्षरता मात्रै भएका वा नभएका मानिसहरुमा पनि अर्कोलाई सम्मान गर्ने असल मानवीय गुणहरु रहेका हुन्छन् नै।तुलनात्मक हिसाबले शिक्षित मानिसहरू यस्ता सामाजिक,मनोसामाजिक एवं ब्यबहारिक पक्षमा झनै संवेदनशिल बन्नु पर्ने हुन्छ।तव मात्र समाज रुपान्तरणमा राज्यलाई टेवा पुग्न जान्छ।कुनै पनि बिषयमा बिद्वता प्राप्त गरिसकेका मानिसहरूबाट नै अर्को सम्मान हुन सकेन भने उक्त ब्यक्ति स्वयंका लागि जति नै विद्वान सावित भएपनि सामाजिक कोणबाट भने अज्ञानि र अशिक्षितनै मानिन्छ ।आफ्नै गतिसंगै समय परिबर्तन भईरहेको छ।यहाँ हर सेकेन्ड परिबर्तन घटित भैरहन्छ।परिबर्तनको नियम प्राकृतिक नै हो।

बर्तमान समयमा हामि एक्काइसौं शताब्दीमा प्रवेश गरेका छौँ।बिकासान्मुख राष्ट्रका नागरिक भएको कारणले मुलुकमा बेरोजगारी,गरिबी र आर्थिक मन्दिका कारण अदक्ष,अर्धदक्ष तथा दक्ष युवा जनशक्ति बैध/अबैध बाटो भएर बिदेशतर्फ पलायन हुने क्रम दिनानुदिन बढ्दो छ।
अर्कोतिर देशमै केही गर्छु भन्नेहरु जसरी पनि सरकारी जागिर गर्नु पर्छ भनेर प्रयास गर्नेहरुको संख्या पनि असीमित छ।त्यसमा पनि निजामती सेवा तर्फ सुब्बा र शिक्षा सेवा तर्फ शिक्षक/शिक्षिकातिर धेरैलाई प्रवेश गर्न मन लागेकै हुन्छ।जहाँ नाम निकाल्नलाइ दिनरात नभनेर मिहिनेत गर्नेहरूको भिड निकै बाक्लो छ।वर्तमान समयमा मानव मन चरम भौतिकतासंग जोडिएको छ।देखासेखीको प्रतिस्पर्धा बढेर पुँजीवादी सोच चुलिदै गएको छ।मानिसले गर्ने हरेक मानव सेवालाई पैसा संग जोडेर हेर्ने प्रबृत्ति बढेको छ।समाजमा देखासिखी बढेको छ।एक पेशाकर्मीले अर्को पेशाकर्मीको सम्मान नगर्ने अहंकारयुक्त भावना पनि बढ्न थालेका छ।बर्तमान समयमा शिक्षक र निजामती दुबै कर्मचारी राज्यका चलाएमान कर्मचारी मध्ये एक हुन्।दुबैको प्रतिष्ठा आ-आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छ।निजामतीमा रहेका जनशक्ति र शिक्षणमा रहेका जनशक्ति दुबै देश बिकासका खम्बा हुन।

यी दुइमध्ये कुनै एकको अभावमा समाज र देश अस्तव्यस्त हुन्छ।बर्तमान परिपेक्षमा मानिसले राख्ने दृष्टिकोणमा फरक पाइन्छ।निजामती तर्फको आकर्षण बढेको छ भने शिक्षकको घटेको छ।यसको मुल कारण सोचलाई बदल्न नसक्नु र राज्यले दिने सेवामा बिभेदिकरण हो।निजामतीको सुब्बामा हुने सेवा सुबिधा र नि मा बि शिक्षकमा हुने सेवा सुबिधामा आकाश र पातालको जस्तो अन्तर नरहे पनि केही अन्तर भने पक्कै छ।यस्तै पेशागत हेय भावनाबारे बिर्सनै नसक्ने मेरो पनि यस्तै एक अनुभव छ।सबै माझ साझा गर्न मन लाग्यो।

निजामती र शिक्षा सेवाको खाडल दिनानुदिन गहिरियको छ।पद शिक्षक सेवा सरहकै भयपनी म निजामती तिर छु भनेर छाती फुलाउने प्रवृत्तिको भावनात्मक रुपमा सिकार बनेको थिए।भर्खर नाम निकालेका सुब्बाको व्यबहार आठौ स्तरको अधिकृत जस्तो पो हुदो रहेछ।हामी जुनसुकै क्षेत्रमा सेवारत भएपनि जनताको सेवा गर्ने सेवक हो भनेर आफैले आफैलाइ बुझ्नुपर्ने हैन र? बोलिमा सजीवता र व्यबहारमा व्यबहारिकता नभएको मान्छेले जति सुकै बिद्यावारिधी गरेको भय पनि शिक्षित मान्न सकिँदैन।शिक्षण पेशाप्रति हेयको दृष्टि राख्ने एक नमिठो अनुभव मैले पनि भोगेको छु।

बिद्यालयको बर्षे बिदाको समय थियो।त्यहिबिच काम बिशेषले म काठमाडौंको यात्रामा थिए ।संयोगले काठमाडौं जाने बसको एउटै सिटमा एक जना महिला पर्नु भएछ।आधाआधी बाटोसम्म त उहाँले मेरो अनुहार हेर्नु भएको थिएन।हामि आआफ्नै धुनमा थियौँ।समय बिस्तारै बितिरहेको थियो।बर्षातको समयमा पुर्वपश्चिम राजमार्गको अधिकांश स्थानमा खाल्डाखुल्डी बनेकाले हामी सवार बसले उफार्ने गर्थ्यो।बर्षातको समयमा तुलानात्मक हिसाबले लामो यात्रा पक्कै असहज हुन्छ नै।जब हामी नारायणघाट पुग्यौं अनि खानलाई ओर्लियौँ।त्यतिन्जेल आफ्नो एकदिने सहयात्रीसंग परिचय भैसकेको थिएन।त्यहि बिचमा हामीले एक अर्कासंग परिचय गर्यौँ।

उहाँले एक बर्ष अगाडि निजामती सेवातर्फ सुब्बामा नाम निकाल्नु भयको रहेछ।त्यो भन्दा अगाडि ५ बर्ष सम्म कुनै बोर्डिङ स्कुलमा शिक्षण पनि गर्नु भएको रहेछ।मलाइ उहाँले सोध्दा मैले पनि शिक्षण गर्छु भनेर जवाफ दिए।हामि गफिदै यात्रा गर्न थाल्यौँ।उहाँ पनि महिला भएकाले अझ खुल्दै गयौँ।

कुराकानीकै क्रममा उहाँ शुब्बा सावले
मलाई शिक्षण पेसा कत्ती पनि मन पर्दैन भन्न थाल्नु भयो।मैले मनमनै सोचे ब्यक्तिको ब्यक्तिगत रोजाई होला।तर पनि मेरो पेशालाई किन मन परेन भन्नु भएको होला?भन्ने मेरो मनमा लाग्यो।त्यत्तिकैमा मैले पनि प्रश्न गरिहाले `किन म्याम´

उहाँले भन्नु भयो शिक्षण पेशामा न त शान छ।नत जस पाइन्छ नत सोचेजस्तो पैसा नै हुन्छ´ उहाको यो जवाफमा म टक्क रोकिए।त्यसपछि तपाइको एक महिनाको तलब र निमावि शिक्षकको तलब स्केल एउटै हैन ?प्रतिप्रश्न गरेँ। त्यति थोरै कहाँ हुन्छ यता उति गरेपछी महिनामा एक पचास सम्म कमाउन सकिन्छ।´ भन्ने उहाँको जवाफ आयो।म एकछिन छांगाबाट खसे जस्तै भए।त्यो एताउतिको भन्ने शव्दको अर्थ मैले बुझ्न सकेन।

कसैको पेशागत कुरोमा त्यति धेरै खोदल्न मलाई उपयुक्त लागेन।तर मैले सोचिरहे सोझो अर्थमा एक शुब्बाको तलब भनेको निमावि शिक्षक सरहनै हुन्छ।अन्य अतिरिक्त कार्यक्रमहरुबाट अतिरिक्त सुबिधा आउँने भएपनि अलिक बढि होला।

तर यताउति गरेर १ पचास जति हुने भनेपछि मैले हरेक कोणबाट बिश्लेषण गरेर केलाए तर मासिक १ लाखपचास हजार त अधिकृत तथा नेपाल सरकारको सचिबहरु र मुख्य सचिबको तलबस्केलको पनि कल्पनाको परिधि भन्दा बाहिरको बिषय थियो।तर पनि मैले कमाईको बिषयमा धेरै सोचेन।

उहाँले भनेका अन्य कुराहरु मैले बिर्सिदै गए तर शिक्षक पेशाप्रति उहाँले बोलेको अपमानजनक शव्दले चाहि म भित्र गहिरो छाप जमायो।जुनसुकै सेवा क्षेत्रका कर्मचारीहरु पनि उनै शिक्षकहरु पढाएर नै आएका हुन्।मासिक जति कमाई गरेपनि एक शिक्षित बर्ग नेपाल सरकारको शुब्बा जास्तो पदमा बसेकि जिम्मेवार ब्यक्तिलेनै शिक्षण पेशाप्रतिको अपमान र हेय भावले मलाई चिन्तित बनायो।

गन्तव्य नजिक आइपुग्दै थियो।
शिक्षण पेशाप्रति प्रयोग गर्दै गएका शव्दावली सुनेर म निराश बन्दै गैरहेको थिए।जबजब मनमा निराशाले बढि प्रभाव जमाउन थाल्दथ्यो तवतव मैले आफ्ना विद्यालयका कलिला विद्यार्थीहरुका अनुहार सम्झन्थे।र आफू आफ्नो पेशाप्रति बफादार बनेर सेवा गरेको स्मरण गर्दथे।अनि मन प्रफुल्ल बनेर आफ्नो पेशाप्रति गर्व महशुस हुन्थ्यो।यसरी अन्तर मन देखिनै आफुले आफुलाइ सम्हाल्ने अलि सहज भयो।उहाले बोल्ने हरेक कुरामा घमण्ड र आडम्बर थियो।तर पनि म उहाँलाइ सरल र शिष्ट व्यबहार दिने प्रयास गरिरहेँ किनकि म विद्यार्थीलाई शिक्षा/दिक्षा दिने एक शिक्षिका त्यहीँ थिए।

जसले बार्षिक सयौं विद्यार्थीहरु संग खेल्ने,बोल्ने,पढाउँने शिक्षक थिए।बर्तमान वा भबिष्यमा परिबर्तित भएर उच्च ओहोदामा रहेपनि मानिसले आफ्नो बिगतलाइ भने कहिल्यै भुल्नु हुदैन भन्ने कुरा सोचिरहे।निजामतीको सुब्बा पनि म जस्तै शिक्षकलेनै जन्माएका हुन् भन्ने मनमनै गर्व गरेँ।तर शुब्बासावको तिखा शव्दका प्रहारले एकछिन म बिक्षिप्त भने बनेकै थिए।

त्यत्तिकैमा हाम्रो यात्राको गन्तव्य काठमाडौं आइपुग्यो।
हामि बसबाट ओर्लेर आफ्नो बाटो लाग्यौँ।सबै कुरो पैसानै होईन।एक सेवकका लागि राज्यले प्रयाप्त सेवासुबिधा दिन नसकेको होला।यद्यपि सरल जिबन जिउँनेहरुलाई पुग्ने जति दिएकै छ।सेवा गर्नलाई शान/मान आवाश्यक्ता होईन मनमा सेवाभाव भए पुग्छ।देखासिखी र भड्किलो जिबन ब्यतित गर्नेहरूले चलाखिपन प्रयोग गरेर धेरै पैसा आर्जन गरेपनि पैसा प्रयोगिक साधान मात्रै त हो?वास्तविक सन्तुष्टि मेहेनतको कमाईले नै दिने गर्दछ।एक अर्काको पेशाप्रति लक्षित प्रहारहरु कुसंस्कार नै हो भन्ने लाग्दछ।

लेखिका शुक्र मावि त्रिबेणी रोल्पाकि शिक्षिका हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस