ताजा अपडेट

रुन्टीगढी ६ खाराका विभिन्न संघसंस्थाद्वारा जेष्ठ नागरिक सम्मान तथा विविध कार्यक्रम सम्पन्न

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ खारा गाउँका विभिन्न सामुदायिक संघ संस्थाहरुले शुक्रबार गाउँका जेष्ठ नागरिक सम्मान,विद्यार्थीलाई पुरस्कार वितरण तथा जनचेतना भेला कार्यक्रम आयोजना गरेर सम्पन्न गरेका छन्।खारा सिउधारा टोल विकास संस्था,प्रगतिशील टोल विकास संस्था,खारा स्वास्थ्य आमा समूह,खारा मुरुल्ले वन उपभोक्ता समूहको संयुक्त आयोजनामा खारा युवा क्लबको सहयोग र खारा सिउधारा टोल विकास संस्थाको ब्यबस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो।

वडा ६ कि सदस्य तथा रुन्टीगढी गाउँ कार्यपालिका सदस्य प्रेमा वि.क.को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सचीव नारायण लामिछाने,नेकपा (एमाले) वडा नं ६ कमिटी अध्यक्ष अर्जुन पुन,नेकपा (माओवादी) केन्द्र वडा कमिटी अध्यक्ष खिमबहादुर घर्ती,वडा सदस्य गणेश बुढा,स्थानिय जेष्ठ नागरिक,शिक्षक,विद्यार्थी लगायत सर्वसाधारणहरुको सहभागीता रहेको थियो।सहभागी जेष्ठ नागरिकहरु मध्येकै जेष्ठ नागरिक २०४६ शालपछी नेपाली काङ्ग्रेस रोल्पाको सक्रिय राजनीति गरेका नेपाली काङ्ग्रेस रोल्पा संस्थापक जिल्ला सदस्य तथा ईलाका नं ११ का संस्थापक सभापति ९० बर्षिय देबेन्द्र बहादुर लामिछानेलाई दोसला ओडाएर सम्मान कार्यको शुरूवात गरिएको थियो।सम्मान पछि बोल्दै जेष्ठ नागरिक लामिछानेले सम्मानमा जुटेका संघसंस्था र प्रतिनिधिहरु प्रती धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेका थिए।खाराको सामुदायिक विद्यालय र डुब्रिङको सामुदायिक विद्यालय स्थापनाका लागि आफूले गरेको प्रयासको स्मरण गर्दै आफ्ना अनुभव सुनाएका थिए।उनले नयाँ पुस्ताले जेष्ठ नागरिकहरुको सल्लाह सुझाव र आशीर्वादलाई ग्रहण गर्दै अगाडि बढेमा समाज र राष्ट्रमा सकारात्मक विकास संगैसंगै संस्कार जिबन्त रहने सुझाव दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अथिती गाउँ कार्यपालिका सदस्य वि.क. सहित बक्ताहरुले रुन्टीगढी ६ खारामा विभिन्न संघसंस्थाहरुले अत्यन्तै सकारात्मक र नौलो अभ्यासको थालनी गरेकाले अझै यस्ता कार्यहरूमा लागि पर्न शुभकामना ब्यक्त गरेका हुन्।कार्यक्रममा कक्षा १ देखि ८ कक्षासम्म विभिन्न स्थान हासिल गरेका विद्यार्थीहरुको हौसलाका लागि प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको सहजीकरण गोकर्ण लामिछानेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस