होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका गत वर्षको भदौ महिनामा नेपाल सरकारको ग्रामीण विद्युत विस्तारिकरण परियोजनामार्फत ट्रकका ट्रक विद्युत पोलहरु रुन्टीगढीमा भित्र्याइयो ।
उक्त परियोजनामार्फत रोल्पाको रुन्टीगढीमा मात्रै नभैइ थबाङ लगायत देशका अन्य जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत पोलहरु सरकारले पठायो ।
उक्त पोल रुन्टीगढीमा भित्र्याइदा सामाजिक संजालमा अनौठो दृश्य देखियो । गाउँ पालिकाकाका कतिपय जनप्रतिनिधि,पदाधिकारीहरुले निरन्तर `रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको नेपाल सरकारका उर्जामन्त्री दीपक खड्कासितको हिमचिमको´ कारण रुन्टीगढीमा ट्रकबाट विद्युत पोल ल्याएको भनेर ब्यापक प्रचारबाजी मात्रै हैन जनताका भावना बटुल्न स्टनबाजी सम्म गरियो । विकास र सकारात्मक परिवर्तन हुनु राम्रो पक्ष हो । यद्यपि रुन्टीगढीमा नेपाल सरकारको परियोजनालाई ब्यक्तिवादी बनाएर दरिद्र राजनैतिक रुप प्रस्तुत गरिएको घटनाले समाजका बौद्धिक वर्गलाई बिचलित बनाएको थियो । पछि होलेरी खबरले सम्बन्धित परियोजनाका कार्यकारी निर्देशकसंग प्रत्येक्ष कुराकानी गरेर प्रकाशन गरेको तथ्यले स्टनको भ्रम स्वत: ओझेलमा परेको थियो ।
दु:खको कुरा के छ भने गत वर्ष भदौमा रुन्टीगढीका विभिन्न गाउँमा झारेको उक्त पोलहरु हालसम्म पनि गाड्ने शुरशार छैन । कतै पोलहरु वर्षातको पहिरोसंगै पुरिएका छन् भने कतै खिया लाग्ने अवस्थामा पुगेका छन् । रुन्टीगढीका ग्रामीण क्षेत्रका नागरिकहरु अझै विद्युत पहुँच अभावमा अध्याँरोमा बस्न बाध्य बनिरहेका छन् । उतिबेला स्टन गर्नेहरू देखि स्थानीय सरकार रुन्टीगढीले समेत पोल कहिले गाड्ने भन्ने कुनै स्पष्ट जानकारी जनतामाझ दिन सकिरहेको छैन । जसका कारण अध्याँरोमा बसिरहेका रहेका रुन्टीगढीका विभिन्न गाउँका नागरिकलाई उज्यालोको नाममा स्टनबाजी बाहेक अरु हात लाग्न सकिरहेको छैन । उनीहरू निरास बन्न थालेका छन् ।