होलेरी- दक्षिण रोल्पाको दोस्रो प्रवेशद्वार(नाका) का रुपमा रहेको होलेरी-ग्वारखोला सडक खण्ड अन्तर्गत रानीवास खोलामा रुन्टीगढी गाउँपालिका ८ कि वडा अध्यक्ष तुल्सी पुनले श्रमदानमार्फत मोटरेवल पुल निर्माण गर्न जुटेकि छन् ।
८ नं वडाको भुभागमा अवस्थित रानीवास खोलामा बर्षात लागेसंगै खोलाको बहाव उच्च हुने गर्दछ । ८ नं वडाका अधिकांश स्थानीयहरु दैनिक उपभोग्य सामाग्री किनमेल गर्न तथा औसधि उपचार गर्न समेत दाङको बिजौरी र तुलसीपुर जाने गर्दछ्न् ।दाङको तुलसीपुर उपमहानगरपालिकासंग सिमाना साट्ने रुन्टीगढी ८ नं वडाका स्थानीयलाई किनमेल तथा बजार जान दाङ सहज पर्ने गर्छ । हिउँदयाममा आवतजावत सहज भएपनि तर बर्षात लागेपछि रानीवास खोला बाधक बनिदिन्छ । कारण हो रानीवास खोलामा पक्की मोटरेवल पुल नहुनु । त्यति मात्रै होईन रानीवास खोलामा पैदल यात्रीका लागि सामान्य काठको पुल देखि झुलुङ्गे पुल समेत छैन ।बर्षातमा रुन्टीगढी ८ का स्थानिय डोरीको भरमा ज्यान जोखिममा राखेर कष्टकर तथा पीडादायी तरिकाले दाङ-रोल्पा आवतजावत गर्ने गर्दछ्न् । होलेरी-ग्वारखोलाको सोहि सडकखण्ड सल्यानको नाकाका रुपमा समेत रहेको छ । किनभने रुन्टीगढी ८ नं वडापालिकाले सल्यान जिल्लासंग पनि सिमाना साट्छ ।
बिगतमा रानीवास खोलामा पुल निर्माण गर्ने बिषयमा रोल्पामा पटकपटक आवाज उठ्ने देखि प्रदेश सरकार र संघीय सरकारका प्रतिनिधिहरुबाट अबलोकन तथा प्राविधिकमार्फत डिपिआर गर्ने कार्यपनि भएको थियो ।
रानीवास खोलामा पुल निर्माण गर्ने शिर्षकमा यस भन्दा अघिको संघिय सरकारबाट १ करोड ७० लाख बजेट विनियोजन भएको र उक्त बजेट कार्यान्वयन गर्नुको साटो हालको सरकारले कटौती गरिदिएका कारण वडावासीहरुको सहज यात्राका लागि हाल वडा अध्यक्ष तुल्सी पुनको नेतृत्वमा स्थानीयहरु श्रमदानमार्फत पुल निर्माण गर्न जुटेका छन् । मोटरसाइकल तथा साना सवारी गुड्न मिल्ने गरि पुर्ण श्रमदानमार्फत पुल निर्माण गरिने वडा अध्यक्ष पुनले होलेरी खबरलाई जानकारी दिएकि छन् । आगामी जेठ मसान्तसम्म पुल निर्माण हुने भएको छ । वडा अध्यक्ष आफै फिल्डमा श्रमदान गर्न निस्किएपछि स्थानीयहरुको उल्लेखनीय शाथ तथा समर्थन मिल्दै गएको उनले जानकारी दिएकी छन् ।
समाजसेवामा जबर्जस्त छवि बनाएकि वडा अध्यक्ष रुन्टीगढी गाउँपालिका कै एकमात्र महिला वडा अध्यक्ष हुन् । उनी आफै मोटरसाइकल चलाएर नागरिकका सेवा गर्ने देखि रानीवास खोलामा ढुङ्गा बोक्ने जस्ता शाहसी जनप्रतिनिधिका रुपमा आफ्नो छवि निर्माण गरेकि छन् ।नेकपा माओवादीबाट निर्वाचित उनलाई भावि गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा समेत हेर्न थालिएको छ ।