ताजा अपडेट

उपभोक्तालाई खानेपानी पाइपको ब्यापार गर्दै रुन्टीगढका खानेपानी प्राविधिक चौलागाईं(भिडियो सहित)

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकामा कार्यरत खानेपानी प्राविधिक तिलक चौलागाईंले आफू मातहत रहेका खानेपानी उपभोक्ता समितिलाई खानेपानी पाइप,मोटर लगायत सामाग्री बिक्री गरेको पाइएको छ ।

बाहिर खरिद गरिएको सामाग्री गुणस्तर नहुने भन्दै उनले आफूबाट सामान खरिद गर्न उपभोक्ताहरुलाई दबाब दिने गरेको उपभोक्ताहरुको भनाई रहेको छ । रुन्टीगढी ३ नं वडामा निर्माणाधीन जबाङ-घुन्टी खोला लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष हुमबहादुर घर्तीले खानेपानी पाइप प्राविधिक चौलागाईंद्वारा खरिद गरिएको बताए ।साथै २०८१ चैत्र १२ गते उक्त आयोजनामा प्रयोग हुने मोटर ल्याइदिने भनेर प्राविधिक चौलागाईंले उपभोक्ता समिति अध्यक्ष घर्तीलाई १ लाख रुपैयाँ आइ.एम.ई.गर्न लगाएको र मोटर महिनादिन सम्म पनि प्राप्त नभएकाले आयोजनाको कार्य विलम्ब भइरहेको उनको गुनासो रहेको छ ।`उहाँ प्राविधिक सर मार्फत खानेपानी सामाग्री नकिनौँ भने बिल पास गरिदिने उहाँले नै हो ।हामी उपभोक्ता समितिले उहाँसंगै सामाग्री किन्ने बाध्यता हुनुमा थोरै डर पनि छ´-उपभोक्ता समिति अध्यक्ष घर्तीले होलेरी खबरलाई भने ।यस भन्दा अघि कुनैपनि खानेपानी सामाग्री उपभोक्ता समितिलाई आफै बेच्ने गरेको जानकारी नभएको र यो भने पहिलो अनुभव रहेको उनको भनाई रहेको छ ।

त्यस्तै आफ्नो पसलबाट गुणस्तरीय सामान बिक्री गर्ने नाममा गाउँपालिका प्राविधिक चौलागाईंले रुन्टीगढी ५ को भर्तीवन खानेपानी आयोजनामा बिक्री गरेको पाइप तान्ने क्रममा चुडिएको उपभोक्ताहरुको भनाई रहेको छ ।यो सङ्गै उनले रुन्टीगढी ७ गैरा लगायत अधिकांश खानेपानी आयोजनाहरुमा आफ्नै पसलबाट सामाग्री बिक्री गरेको पाइएको छ ।

उपभोक्ता समितिहरुलाई खानेपानी पाइप लगायत सामाग्री बिक्री गरेको पालिका प्राविधिक चौलागाईंले स्विकार गरेका छन् ।उनले दाङको तुलसीपुरस्थित आफ्नो श्रीमतीको नाममा खानेपानी सम्बन्धि सामाग्री बिक्री गर्ने फर्म दर्ता रहेको र सोहिमार्फत आफ्नो कार्यक्षेत्र रुन्टीगढी गाउँपालिकाका उपभोक्ताहरुलाई पाइप लगायत सामाग्री बिक्रीवितरण गरेको बताएका छन् । `मैले जागिर गरेपनि खानेपानी सम्बन्धि ब्यापार गरेको आजबाट होईन´ – प्राविधिक चौलागाईंले भने – `ब्यबसाय त गर्न पाइयो ।मैले गलत बाटोबाट पैसा मागेको भए पो दोषी हुनु ? सामानको मूल्य पनि मिलाएर दिएको छु ।´

भिडियो

प्रतिक्रिया दिनुहोस