ताजा अपडेट

नेकपा एमाले त्रिवेणी गाउँपालिका  ५  नं.वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न

नेर्पा- नेकपा एमाले त्रिवेणी गाउँपालिका  ५  नं.वडा कमिटीको दोस्रो वडा अधिवेशन उत्साहपूर्ण र राजनीतिक रूपमा सशक्त उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य कमरेड गोकुल प्रसाद घर्ती सहभागी भएका थिए ।
उनले आफ्नो सम्बोधनमा देशको समसामयिक राजनीतिक अवस्थाको विश्लेषण गर्नुका साथै हाल केही राजतन्त्र समर्थक समूहहरूले चलाइरहेको आन्दोलनप्रति कडा खण्डन गरेका हुन् । उनले लोकतन्त्र र गणतन्त्रको संरक्षण र सुदृढीकरण नै नेपालको भविष्य भएको उल्लेख गर्दै, राजतन्त्रको पुनर्स्थापनाका नाममा भइरहेको गतिविधि जनताको चाहनाविपरीत रहेको स्पष्ट पारे
“जनताले रगतको मूल्यमा प्राप्त गरेको गणतन्त्रलाई उल्ट्याउने प्रयास कुनै हालतमा स्वीकार्य छैन,” घर्तीले जोड दिए साथै उनले वर्तमान संघीय गणतान्त्रिक प्रणालीलाई अझ प्रभावकारी बनाउँदै समृद्ध नेपाल निर्माणको यात्रामा एमाले नेतृत्व सक्षम रहेको दाबी गरेका हुन् ।


साथै कार्यक्रमका विशिष्ट अथिति तथा नेकपा एमाले केन्द्रीय सदस्य इस्वरी जिएमले भनिन् , “रोल्पा परिवर्तनको थालो हो, यहाँका जनताले परिवर्तनका निम्ति रगत बगाएका छन्। तर आज माओवादी केन्द्रले यिनै जनतालाई झूटको राजनीतिले भ्रममा पार्न खोजिरहेको छ।” उनको भनाइमा माओवादी केन्द्रले जनतामाझ घोराही होलेरी सहिद मार्गको विषयमा  राजनीतिक भ्रम, असत्य जानकारी र निराशा फैलाउने रणनीति अख्तियार गरेको स्पष्ट पारिन्।
ईश्वरी जिएमले नेपालको शिक्षा क्षेत्रमा पछिल्लो समय देखिएको आन्दोलनबारे पनि आफ्नो धारणा राख्दै भनिन्, “शिक्षा हाम्रो भविष्य हो, त्यसैले सरकारले शिक्षकहरुको मागहरुको सम्बोधन गर्न आवश्यक डाटा संकलनको प्रक्रियाम  रहेको र छिट्टै शिक्षकहरुमा जायज मागहरु सरकारले सम्बोधन गर्ने बताउनुभयो । एमालेले शिक्षालाई अधिकारका रूपमा स्थापित गर्दै गुणस्तरीय, सर्वसुलभ र रोजगारमुखी बनाउन प्रतिबद्ध  रहेको समेत जानकारी गराईन्।”


कार्यक्रममा उनको सम्बोधनले उपस्थित कार्यकर्ता, युवाहरू, महिलाहरू र स्थानीय बासिन्दामाझ जोश थपेको देखिन्थ्यो। उनले एमालेले मात्र जनताको चाहना र देशको आवश्यकता अनुसारको मार्गचित्र प्रस्तुत गर्न सक्ने दाबी गर्दै युवालाई सक्रिय रूपमा राजनीतिमा सहभागी हुन आह्वान गरिन्।
कार्यक्रममा वडास्तरका पार्टी कार्यकर्ता, समाजसेवी, महिला तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको थियो। सहभागीहरूले पार्टीप्रतिको आस्था र संगठनप्रतिको प्रतिबद्धता झल्काउने ढंगले कार्यक्रमलाई ऊर्जाशील बनाएका थिए।
संगठन सुदृढीकरण, पार्टी नीति तथा भावी रणनीतिमाथि समेत चर्चा गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, जनसंवाद र स्थानीय नेतृत्वद्वारा प्रस्तुत विभिन्न धारणा कार्यक्रममा विशेष आकर्षण बनेका थिए।
दोस्रो अधिवेशनबाट हर्क बहादुर वलीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष विष्णु वि.क., सचिव रामकृष्ण वि.क. , उप-सचिवद्वय महेन्द्र प्रकाश घर्ती र कृष्णा पुन रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस