होलेरी- रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गत माघ २७ गते ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीलाई ३ दिने अल्टिमेटम राखेर स्पष्टीकरण सोधेको तथ्य बाहिरिएको छ ।वडा अध्यक्ष डाँगीले सामाजिक संजालमा भ्रमपूर्ण कुराहरू लेखेको भन्दै त्यसको स्पष्टीकरण सोधिएको देखिन्छ ।
सनिबार वडा अध्यक्ष डाँगीले आफ्नो सामाजिक संजाल फेशबूकमार्फत उक्त स्पष्टीकरण सोधिएको पत्र सार्वजनिक गरेका छन् ।स्पष्टीकरण पत्त सार्वजनिक गर्दै वडा अध्यक्ष डाँगीले लेखेका छन् – `आजको मिति देखि अवसरवादी संग लडाई सुरु गरियो।परियोजनाका हिसाव,उपभोक्ता समितिको अध्यक्ष ४ वर्षमा
बनेका संमरचना जिर्ण भएका, सिमेन्टको प्राविधिक मुल्यांकन ४ वर्ष हो ।प्रत्येक हिसाव किताब जनतामाझ दिन हामी प्रत्येक टोलमा भण्डाफोर अभियान चलाउदै छौ।फेरी स्पष्टीकरण मागियोस् ।आम जनताको सल्लाह सुझावको अपेक्षा गर्दछौं ।´
होलेरी खबरसंग कुरा गर्दै वडा अध्यक्ष डाँगीले आफूले कुनैपनि स्पष्टीकरण नदिएको र नदिने बताए ।प्रश्नमाथि प्रश्न गर्दै उनले भने – `भ्रमको खेती मैले गरिरहेको छु कि कसले गरिरहेको छ भन्ने सबैलाई अवगत नै छ ।उहाँहरुले पार्टी प्रवेश गराएपछि पुनः एमाले फर्किनु भएकाहरुले आफूहरूलाई आश्वासन र प्रलोभन देखाएर पार्टी प्रवेश गराइएको भन्ने बक्तव्य देखेपछि मैले आश्चर्य मानेर सामाजिक संजालमार्फत कटाक्ष मात्रै गरेको हुँ ।बाहालवाला जनप्रतिनिधि भएर पार्टी प्रवेश गराउँन म हिडिरहेको छु कि पालिका अध्यक्ष ज्यु स्वयं हिडिरहनु भएको छ ?उहाँसंग स्पष्टीकरण माग्ने नैतिकता देखिएको छैन ।अनि मलाई कुन नैतिकताले स्पष्टीकरण माग्नू हुन्छ ?-वडा अध्यक्ष डाँगीले भने- ` म पनि जननिर्वाचित वडा अध्यक्ष हुँ ।ठुलै अपराध गरेको छु भने र मेरो पदबाट मलाई बर्खास्त गर्ने अधिकार उहाँलाई छ भने म स्विकार्न तयार छु ।तर अहिलेलाई कुनै स्पष्टीकरण दिइरहन आवश्यक छैन ।´
पालिका अध्यक्ष पुन आफूसंग सशंकित हुनुपर्ने त्यस्तो कुनै कारण नरहेकाले अनावश्यक प्रपन्च नरच्न उनले सुझाव दिएका छन् ।
