होलेरी- बीहिवार भिमसेन मा.वि. सैबाङको आयोजना र रुन्टीगढी ५ नं वडा कार्यालयको आयोजनामा उद्घाटन गरिएको आधारभुत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता कार्यक्रममा बक्ताहरुबिच अस्वभाविक राजनैतिक दोहोरी चल्यो ।
`राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद´ भन्ने मूल नारासहित शैक्षिक संस्थाहरुमा गरिएको खेलकुद प्रतियोगिता उद्घाटन समाहरोमा राजनैतिक प्रतिशोध तथा अहंकारु छताछुल्ल प्रस्तुत गरिएको थियो ।शुरुमा बोल्ने क्रममा अतिथिका रुपमा कार्यक्रममा सहभागीता जनाएका नेकपा (एमाले) रुन्टीगढी अध्यक्ष अमराज बस्नेतले पालिका अध्यक्ष जनक पुनलाई राजनैतिक कटाक्ष गर्दै पालिकाको विकासमा निरिह बनेको भन्दै मोर्चा खोले ।उनले रुन्टीगढीका सामुदायिक शैक्षिक संस्थाहरु दयनीय अवस्थामा गुज्रिरहेको बताए ।र लगत्तै उनी अर्को कार्यक्रम छ भनेर कार्यक्रमबाट बाहिरिए ।
एमाले अध्यक्ष बस्नेतको कटाक्षले हतोत्साहित बनेका पालिका अध्यक्ष पुनले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो ब्यक्तिगत स्वभाव,आचरण,आवद्ध दल काङ्ग्रेसको बखान मात्रै गरेनन् उनले सामाजिक संजालमा पालिकालाई जोडेर लेख्ने र प्रतिक्रिया दिनेहरूमाथि अस्वभाविक तरिकाले खनिए ।उनले पालिकाका गतिविधि विरुद्ध लेख्नेलाई मानसिक रोगीको ट्याग लगाइ दिए ।लगातार आधा घण्टा बढी एकोहोरो बोलिरहे ।
त्यसपछि अन्तिममा खेलकुद उद्घाटनलाई समापन गर्दै रुन्टीगढी ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले पालिका अध्यक्ष पुनलाई जनप्रतिनिधि सहनशिल र साझा बन्नू पर्ने भन्दै विद्यालय क्षेत्रमा सबै सचेत बन्नुपर्ने बताए ।आफूहरू चुनाव ताका विभिन्न दलबाट होमिए पनि जनताद्वारा निर्वाचित भएकाले अहंकार स्वभयमान नहुने वडा अध्यक्ष डाँगीको तर्क रहेको थियो ।पालिका अध्यक्षले सामाजिक संजालमा विरोध जनाउनेहरुलाई दिएको मानसिक रोगीको ट्यागको पनि वडा अध्यक्षले सशक्त खण्ड गर्न भ्याए ।राम्रा प्रतिक्रिया आएपछि आफ्ना कार्यकर्ता र विरोध आएपछि मानसिक रोगीको ट्याग लगाउने कार्य जनप्रतिनिधिहरुले बोल्नुपर्ने भाषा नभएको उनको भनाई रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थी,शिक्षक लगायत सबै अतिथिहरूले रोचकताका शाथ सुनिरहेका थिए ।रुन्टीगढीमा हरेक कार्यक्रमहरुमा राजनैतिक दोहोरीले प्रशय पाउने भने नौलो कुरा होईन ।