ताजा अपडेट

प्रदेश सांसद पुनले त्रिवेणी गाउँपालिका अध्यक्ष वाँठा र उपाध्यक्ष डाँगीलाई लगाएको आरोपको तथ्य के हो?

होलेरी- केहि दिन अघि लुम्बिनी प्रदेश सभामा बोल्ने क्रममा रोल्पा प्रदेश (ख) का लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन(सिजल)ले रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर वाँठा र पालिका उपाध्यक्ष लेखमणी डाँगीलाई गम्भीर आरोप लगाएका छन् ।

प्रदेश सभामा बोल्दै सांसद पुनले पालिका अध्यक्ष वाँठा र उपाध्यक्ष डाँगीले त्रिवेणी ४ मा सञ्चालित शिवस्वरुप खनिज चुन ढुङ्गा खानीका सञ्चालक संघाइ ग्रुपका पि.एल.संघाइसंग चुनावी खर्च भन्दै २ करोड डिल गरेको आरोप लगाएका थिए ।काठमाडौंको एक होटलमा उक्त संवाद भएको र जवाफमा संघाइले २ करोड ब्यक्तिलाई दिन नसक्ने बरु पालिकाको कुनै विकास काम भए कार्यालयमा दर्ता गराउन भनेको सांसद पुनले बताएका थिए ।पालिका अध्यक्ष र उपाध्यक्षले विकास गर्न आफूहरु निर्वाचित भैसकेको बताउँदै २ करोड दिन नसक्ने भए खानी क्षेत्रमा गाडी,मोटर हेर्ने जिम्मा लिएका पुन कन्सट्रक्सनको जिम्मेवारी आफूहरूलाई दिन माग राखेको संगिन आरोप लगाएका थिए ।संघाइले सबै डिलका प्रस्ताव अस्विकार गरेपछि अहिले पालिका अध्यक्ष र उपाध्यक्षको योजनामा खानीको विरोध गर्न लगाउने कार्य भएको बताएका थिए ।

जवाफमा त्रिवेणी गाउँपालिकाले प्रेस बिज्ञप्तीमार्फत आरोपको खण्डन गरेको छ ।लगत्तै नेकपा एमाले रोल्पा जिल्ला कमिटीले पनि बक्तव्य जारी गर्दै उक्त आरोपलाई पुष्टि गर्न चुनौती दिएको थियो ।रोल्पाको त्रिवेणीमा पालिका अध्यक्ष एमालेबाट र उपाध्यक्ष काङ्ग्रेसबाट निर्वाचित भएका हुन्।बिहीवार होलेरी खबरसंगको कुराकानीका क्रममा पालिका अध्यक्ष वाँठा र उपाध्यक्ष डाँगीले प्रदेश सांसद पुनको आरोप तथ्यहिन,भ्रामक रहेको दावी गरेका छन् ।`संघाइ ग्रुपका पिएल संघाइसंग काठमाडौंमा भेट भएको साचो भएपनि डिल गरेको कुरा तथ्यहिन रहेको पालिका अध्यक्ष वाँठाको भनाइ रहेको छ ।अवैध रुपमा डिल गरेको भन्ने आरोप औचित्यहिन रहेको उनले बताए ।`पालिकाका जनप्रतिनिधि भएको हिसाबले खानी क्षेत्रमा हाम्रा स्थानीय नागरिकहरुले दु:ख पाइरहेको विषयमा समाधान गर्न भनेका हौँ´-पालिका अध्यक्ष वाँठाले भने-`एक रुपैयाँ पनि डिल गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिन्छु।´

त्यस्तै पालिका उपाध्यक्ष डाँगीले पनि प्रदेश सांसद पुनले लगाएको आरोपको ठाडो अस्विकार गरेका छन् ।आफूहरू पालिकाका अभिभावक भएकाले पिएल संघाइसंग खानी क्षेत्रको जनजीवन सहज बनाइदिन भेट गरेको तर १ पैसो पनि डिल नगरेको उनले बताए ।`प्रदेशको माननीय सिजल ज्युले हामी माथि हुँदै नभाको आरोप लगाएर राजनैतिक पुर्वाग्रह साध्नू भयो´-उपाध्यक्ष डाँगीले भने- उहाँले आरोप प्रमाणित गर्न सक्नू भयो भने जस्तो सजाय भोग्न पनि तयार छौँ,तर यसरी बदनाम गरिएको बिषयको कानुनी न्यायको परामर्श गरिरहेका छौँ।´

रानागाउवासीले खानी कै कारण दु:ख र शास्ति पाइरहेको विषयमा प्रदेश सांसद पुन एक शव्द पनि नबोल्ने गरेको तर जनताका हकहितका लागि बोल्दा प्रदेश सांसद पुन नै आफूहरूलाई विचलित बनाउन लागि परेको उनीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस