होलेरी-गत माघ १८ गते रोल्पाको होलेरी आइपुगेका एक १९ बर्षिय एक किशोर आफ्नो पुर्खा रोल्पामा भएको भन्दै कुल र परिवार खोजी गर्न भौतारिएका थिए ।
होलेरीका स्थानियहरुको सहयोगमा होलेरी खबरको सम्पर्कमा आएका उक्त किशोरले आफ्नो नाम,स्वर्गिय बुवाको नाम र स्वर्गिय हजुरबुवाको नाम बाहेक थर समेत उनलाई थाह थिएन ।आफू भारत मै जन्मिएको र आफू ८/१० बर्षको नाबालक छदैँ आफ्नो बुवा तेजबहादुरको निधन भएको उनले बताएका थिए।बुवाको निधन भएको केहि समयपछि रामबहादुरको आमाको सुर्खेतको एक पुरुषसंग दोस्रो बिवाहा गरेको र उनको स्वर्गिय बुवाको बारेमा घर रोल्पा भएको बाहेक आमालाई समेत कुनै जानकारी नभएको उनले बताएका थिए ।भारत सरकारबाट प्राप्त परिचयपत्र आधार कार्डमा उनको नाम रामबहादुर मात्रै लेखिएको थियो ।उनको स्वर्गिय बुवाको नाम तेजबहादुर र उनको आधार कार्डमा रामबहादुरको हजुरबुवा(बाजेको)नाम लालबहादुर मात्रै लेखिएको थियो ।३ जना कै आधार कार्डमा थर भने उल्लेख गरिएको थिएन ।यद्यपि उनको शाथमा स्वर्गिय बुवा तेजबहादुरको फोटो भने थियो।
उनले बताए अनुसार रामबहादुर बचपन देखि समयसमयमा बिरामी भइरहन्थे ।सानैमा बुवा गुमाएका उनले आमाले पनि दोस्रो बिबाह गरेपछि निकै दु:ख र पीडा भोगेको बताएर भक्कानिएका थिए ।विरामी भइरहने रामबहादुरले अस्पताल धाएर मज्दुरी गरेको पैसाले उपचार गराइ रहन्थे ।तर निको नभएपछि एकदिन भारत मै एक तान्त्रिकले आफ्नो कुल देवतालाई शान्ति गर्नु पर्ने बताइ दिएपछि आफू आमालाई सोधपुछ गरेर जसरी भएपनि आफ्नो कुल पत्ता लगाउन रोल्पा आइपुगेको उनले बताएका थिए ।
आफ्नो आमाको भनाइ अनुसार रामबहादुरको बुवाको घर रोल्पा लिवाङ भएको बताएको तर उतै भारत मै बिबाह गरेकाले आफूले त्यो भन्दा बढी कुनैपनि जानकारी नपाएको भन्दै रामबहादुर आफ्नो र आफ्नो बुवाको घर,परिवार,कुल र नातेदार खोज्न रोल्पा आइपुगेको बताएका थिए ।तर आफ्नै थर समेत थाह नहुदा रामबहादुरलाई आफ्नो कुल र परिवार पत्ता लगाउन भने त्यति सजिलो थिएन ।रामबहादुर संगको कुराकानी पश्चात उनलाई होलेरी खबरको सहयोगमा ईलाका प्रहरी कार्यालय होलेरीमा पनि लगिएको थियो ।
प्रहरीले पनि उनीसंग भएको जति जानकारीहरु संकलन गरेको थियो ।
तर रामबहादुरले होलेरी खबर मार्फत बताएको आफ्नो हजुरबुबा लालबहादुरको नाम रोल्पा नगरपालिका २ रेउघाको सिवाङ गाउँका एकजना ब्यक्तिसंग मिल्न गएको र उनी उमेर मै भारत पुगेर घर नफर्किएको निश्चित भएपछि उक्त घर्ती परिवारबाट गीता घर्तीले गाउँका जेष्ठ नागरिक र परिवारको सल्लाह अनुसार रामबहादुरलाई आफ्नो घर बोलाइन्।गाउँका स्थानिय जेष्ठ नागरिक र घर्ती परिवारका भनाइ अनुसार सिवाङ गाउँबाट बर्षौँ पहिले भारत पुगेर उतै लापत्ता भएका लालबहादुर घर्ती गीता घर्तीका कान्छा बाजे ससुरा थिए ।घर्ती परिवारका जेष्ठ नागरिक र गाउँका जेष्ठ नागरिकहरुले बताए अनुसार रामबहादुरलाई लालबहादुर घर्तीको हुनसक्ने आशंका गरेर उनको भिडियो हेरेर उपलब्ध सम्पर्क नम्बरमा रेउघाबाट सम्पर्क गरेर बोलाएको र रामबहादुरको स्वभाव र अनुहार उक्त घर्ती परिवारसंग मिल्ने गरेको उनीहरू बताउँछन्।
उनीहरूले साइनो लगाए अनुसार रामबहादुर गीता घर्तीको देवर पर्छन् ।रामबहादुरका बाजे र गीताका श्रीमानका बाजे दुई भाई थिए ।`३ पुस्तापछि भेट भएको छ ।बाजे पुस्तामा बिछोडिएको रे,उहाँले बताउँनु भए अनुसार बाजेको नाम मिल्छ तर आफ्नो र बिरानो छुट्याउने सामर्थ्य हामीमा रहेन´-गीताले भनिन्-`भिडियो हेरेर कुलका जेष्ठ नागरिक र गाउँका जेष्ठ नागरिकहरुले रामबहादुरको अनुहार हाम्रो पुर्खासंग मिल्छ र उहाँले बताएको बाजेको नाम लालबहादुर हाम्रो कान्छा हजुरबुबा रहेको शुझाबपछि फोन गरेर छोरालाई रेउघा लिन पठाएको हुँ।´
गीताका सासु ससुराको पनि अल्पायुमै निधन भैसकेको उनले जानकारी दिएकि छन् ।हाल उनको श्रीमान पनि वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर छन् ।`यता पनि देवरहरु हुर्काउन बढाउन दु:ख भयो,उहाँ बाबूले पनि दु:ख पाएको सुन्दा भावुक बनेँ´-उनले भनिन्।
रामबहादुरले परिवार भेटाएको भन्दै खुसी बनेर सिवाङ रोल्पामा बसिरहेका छन् ।आइतबार टिम होलेरी खबर उनलाई भेट्न दिउँसो करिब २ बजे रेउघा पुग्दा उनले आफ्ना आफन्तसंग बसेर चिना परिचय गरिरहेका थिए ।रामबहादुरलाई वडा कार्यालयमा जनप्रतिनिधिहरुले बोलाएको भन्दै उनलाई लगेर रेउघास्थित वडा कार्यालय जाने तयारीमा रहेका थिए ।वडा कार्यालय पुगेपछि जनप्रतिनिधिहरुले रामबहादुरको बुवा र बाजेको नागरिकता समेत उपलब्ध नरहेको अवस्थामा नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय रोल्पासंग आवश्यक कानुनी परामर्श लिएर अगाडि बढ्ने बताएको जानकारी दिएका छन् ।