होलेरी- वर्तमान स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको अघिल्लो स्थानिय सरकारको तुलनामा विकासमा अत्यन्तै सुस्त गति देखिएको छ ।
अघिल्लो बालारा बुढा नेतृत्व २०७४ शालको स्थानिय सरकार रुन्टीगढीले देखिने कामहरू प्रशस्त गरेको थियो ।प्रारम्भिक चरणमा स्थानिय तह स्थापनाको समय रहेकाले २०७४ शालमा निर्वाचित पालिका अध्यक्ष बालाराम बुढा मगर,छमाया पुन प्रमुख तत्कालीन प्रशासकीय अधिकृत,लेखा प्रमुख संरचना अभावमा एउटै कार्यकक्षबाट सेवा प्रवाह गरेका थिए ।
उक्त बिषयलाई चुनौतीका रुपमा लिएर तत्कालीन स्थानिय सरकारले कर्मचारी भवन,सभा हल लगायतका पर्याप्त संरचनाहरु निर्माण गरेको थियो ।भवन नभएका प्रत्येक वडामा वडापालिका भवन,बर्थिङ सेन्टर लगायतका संरचनाहरु तत्कालीन सरकारले गरिसकेको थियो ।प्रत्येक वडा पालिका र गाउँसम्म पुग्ने मोटर बाटो निर्माण देखि पालिकामा कर्मचारी र जनप्रतिनिधिका लागि आवश्यक सामाग्री,फर्निचर,विद्युतिय सामाग्री लगायतका कुराहरु खरिद गरेको थियो ।
पालिका अध्यक्ष चढ्ने सवारी,पालिकाका लागि बैकल्पिक उर्जा जेनेरेटर,वडा अध्यक्ष तथा कर्मचारी चढ्ने मोटरसाइकल पनि २०७४ सालको स्थानिय सरकारले नै खरिद गरेको थियो ।देखिने गरि प्रशस्त कार्य गर्नुका शाथै तत्कालीन स्थानिय सरकारले पर्यटन प्रबर्द्धनका लागि पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको थियो।होलेरीमा बिकास सम्मेलन,राष्ट्रिय मिडिया सम्मेलन,अक्षर महोत्सव जस्ता खर्चिला कार्यक्रमहरु गरेको थियो ।
यि सबै कार्यहरु गरेर बचेको २ बर्ष कार्यकालमा भने तत्कालीन स्थानिय सरकार रुन्टीगढीले विश्व महामारीका रुपमा फैलिएको कोराना महामारीबाट सृजित लकडाउन र त्यस बिचका समस्याहरु समाधानमा अर्थ र समय खर्चिएको थियो ।
यद्यपि तत्कालीन स्थानिय सरकारको कार्यकाल पनि विवाद र विरोधबिच समापन भएको थियो ।
२०७९ शालको स्थानिय तह निर्वाचनद्वारा निर्वाचित जनक पुन नेतृत्व स्थानिय सरकार रुन्टीगढीले जनप्रतिनिधि निर्वाचित भएको २७ महिनासम्म पनि अघिल्लो सरकारसंग तुलनात्मक रुपले देखिने गरि खासै कामहरू गर्न सकिरहेको छैन।बरु बिकास निर्माणका कार्यहरू कम विवादित कार्य,आलोचना,देखावटी कार्यहरू बढी देखिन्छन्।
नियमित क्रियाकलाप बाहेक २०७९ शालको स्थानीय सरकारले देखिने गरेको कामहरू मध्ये प्राथमिक स्वास्थ्य केन्द्र जोड्ने मोटरबाटो आधा कालोपत्रे र पालिकाभरी बिभिन्न स्थानमा हाट बजार सञ्चालन २ मुख्य कार्य हुन् ।यि बाहेको २०७४ शालको तत्कालीन स्थानीय सरकारको तुलनामा हालको स्थानिय सरकारको देखिने गरि त्यति कार्यहरु भएका देखिदैनन्।
समग्रमा स्थानिय सरकार रुन्टीगढीको बिकास निर्माण गतिमा ढिला सुस्ती देखिन्छ।आधा कार्यकाल बितिसक्दा समेत रुन्टीगढीको भविष्य परिबर्तन गर्न सक्ने गरी कार्यहरू हुन सकिरहेका छैनन्।बिकासका पुर्वाधारहरुका निर्माण,सामाजिक चेतनास्तर अविबृद्वी,आत्मनिर्भरता र समृद्धि रुन्टीगढी गाउँपालिकावासीमाझ आजको आवश्यक्ता देखिन्छ।