होलेरी- यही मंसिर १६ गते हुने रुन्टीगढी गाउँपालिका ४ को वडा अध्यक्ष पदको निर्वाचनका लागि प्रमुख दुई ठुला दल नेपाली काङ्ग्रेस रुन्टीगढी र नेकपा (एमाले)रुन्टीगढीको एकआपसमा आरोप प्रत्यारोप,चरीत्र हत्या देखि साइबर युद्ध चलि रहेको छ ।
केन्द्रमा गठबन्धन सरकार रहेका यी दुई ठुला दलहरुको अस्वभाविक हर्कतले समाजमा सकारात्मक संदेश प्रवाह नगर्ने कतिपयका बुझाई रहेको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने नेपाली काङ्ग्रेस र नेकपा एमालेको ८ मतको अन्तर रहेको थियो ।२०७९ मा आन्तरिक कारणले ८ मतान्तरले मात्रै पछाडि परेको एमाले रुन्टीगढीको निष्कर्ष रहेको देखिन्छ। यसपालिको उप-निर्वाचनबाट जसरी भएपनि आफ्नो जीत सुनिश्चित गराउने अडानमा रुन्टीगढी एमाले देखिन्छ।त्यसैगरी बहुदलपछि दक्षिण रोल्पा कै नेपाली काङ्ग्रेसको पकट क्षेत्रका रुपमा साविकको मसिना गाविस र हालको रुन्टीगढी ४ नं वडा चिनिन्छ ।यसकारण कुनैपनि हिसाबले नेपाली काङ्ग्रेस रुन्टीगढीले आफ्नो अस्तित्व गुमाउन चाहन्न ।
कसरी शुरु भयो दुई दलबिचको टक्राप ?
आइतबार बेलुका नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका नामक काङ्ग्रेसको आधिकारिक फेशबूक पेजमार्फत एउटा पोस्ट सार्वजनिक भयो ।जसले रुन्टीगढीमा तरंग मच्चायो ।पोस्टमा रुन्टीगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गणेश गिरीको फोटो सहित उक्त दिन वडा अध्यक्ष गिरीले ४ नं वडाको पुरानो गाउँ र लिघामा एमालेको पैसो जनतामझ बाडेको भन्ने गम्भीर आरोप लगाइयो ।पैसा बाड्दै गरेको अवस्थामा काङ्ग्रेसका कार्यकर्ताले घेराउ गरेपछि ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको कमान्डमा प्रहरी टोलि पुगेर वडा अध्यक्ष गिरीलाई बचाएको गम्भीर आरोप लगायो ।
वडा अध्यक्ष गिरीमाथि रुन्टीगढी काङ्ग्रेसले फेशबूक पेजमार्फत लगाएको आरोपको कुनै सत्यता नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक भरत लामले होलेरी खबरलाई जानकारी दिएका छन् ।`त्यसरी कतै पोस्ट गरिएको छ भने त्यो राजनैतिक आरोपप्रत्यारोप होला,जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुर्याएको छु ।पुष्टि गर्न कुनै एथेस्ट प्रमाण भेटिएको छैन´- डिएसपी लामाले भने ।
रुन्टीगढी ४ को बिषयलाई लिएर काङ्ग्रेस एमालेको साइबर युद्ध र आरोपप्रत्यारोपको शिलशिला यतिमै रोकिएन।सोमबार बिहान नेकपा एमाले रुन्टीगढी नामक एमालेको आधिकारिक फेशबूक पेजमार्फत ३ नं वडा अध्यक्ष गिरीलाई काङ्ग्रेसले लगाएको आरोप पुष्टि गरेर देखाउन भन्दै चुनौतीपूर्ण पोस्ट आयो ।एमालेले काङ्ग्रेसविरुद्धको मोर्चा यतिकैमा रोकेन ।सोमबार साझ नेकपा एमाले रुन्टीगढी कै फेशबूक पेजमार्फत नेपाली काङ्ग्रेस रुन्टीगढी ४ का वडा सभापति चित्र डाँगीको तस्वीर सार्वजनिक गर्दै सभापति डाँगी ४ नं वडाको पुरानो गाउँ,लिघा गाउँमा गाडी लगेर काङ्ग्रेसको चामल र पैसा बाड्न गएको र एमाले कार्यकर्ताहरुले घेराउ गरेको भन्ने पोस्ट सार्वजनिक गरियो ।त्यस प्रसङ्गले रुन्टीगढीमा पुनः सनसनी मच्चियो ।तर यस कुरामा पनि पनि कुनै आधिकारिक रुपमा पुष्टि गर्ने आधार प्रमाण नभेटिएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले होलेरी खबरलाई जानकारी दिए ।
त्यसैको जवाफी प्रतिकारमा नेपाली काङ्ग्रेस रुन्टीगढीले आफ्नो फेशबूक पेजमार्फत मङ्गलबार बिहान अर्को पोस्ट सार्वजनिक गर्यो ।आइतबार रुन्टीगढी ४ को लिघा, पुरानो गाउँ पुगेका ३ नं वडा अध्यक्ष गणेश गिरी पुगेको बखत कैद गरिएको छोटो भिडियो क्लिप र वडा अध्यक्ष गिरीको फोटो राखेर अर्को पोस्ट गरिएको छ ।जून कुराले दुई दलको विवाद,एकआपसमा आरोपप्रत्यारोप,चरित्र हत्या तथा साइबर युद्ध अझै साम्य हुने छाटकाट देखिदैन भन्ने कुराको पुष्टि गर्छ ।मंगलबार नेपाली काङ्ग्रेस रुन्टीगढीको फेशबूक पेजमार्फत सार्वजनिक गरिएको भिडियो क्लिपद्वारा पनि ३ नं वडा अध्यक्ष गिरीले एमालेको पैसा बाडेको भन्ने पुष्टि गर्ने कुनै आधार भने भेटिदैन ।बरु भिडियो क्लिपमा सोहि दिन लिघा पुगेको प्रहरी भ्यान देखिन्छ ।र उक्त भ्यानमा सवार ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिले कुनैपनि कुरा नभेटिएको भन्ने प्रतिक्रिया दिएको स्पष्ट सुन्न सकिन्छ ।
केन्द्रमा मिलिजुली सरकार रहेको काङ्ग्रेस एमाले दुई ठुला दलका अराजक तथा अस्वभाविक हर्कतले समाजमा प्रतिकुल असर पुर्याउने कतिपय समाजसेवीहरुको चिन्ता रहेको छ ।कुनै कुरामा विवाद उत्पन्न भएपछि बसेर छलफल मार्फत सल्ट्याउने बाटो खुल्ला रहदारहदै पनि दलहरूले साइबर युद्ध अभ्यास अबलम्बन गर्नु सकारात्मक बिषय नरहेको नागरिकहरुको बुझाई रहेको छ ।
दलहरुको बढ्दो विवादबारे के भन्छ प्रहरी प्रशासन ?
ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिका अनुसार पछिल्लो समय रुन्टीगढी ४ मा बढ्दो राजनैतिक विवाद बारे सूचना पाए लगत्तै उनि आफै मध्ये रातसम्म ४ नं वडाको बिभिन्न ठाउँमा गस्ति बढाइ रहेका छन् ।कुनै अस्वाभाविक घटना नहोस् भनेर प्रहरी संयन्त्रले सूक्ष्म देखि बिभिन्न तरिकाले आफ्नो कार्य गरिरहेको छ ।प्रहरीको उपस्थिति बाक्लो बनाइएको जानकारी दिए।`अहिलेसम्म जति कुराहरु सामाजिक संजालमा आएका छन् ।तिनलाई पुष्टि गर्ने प्रहरीले कुनै आधार भेटाएको छैन ।प्रहरी रुन्टीगढी ४ को हरेक ठाउँमा पुगेको छ ।रुन्टीगढी ४ को उप-निर्वाचन भय रहित तथा शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने गरि हाम्रो तयारी छ ढुक्क हुनुहोस्- प्रहरी निरीक्षक प्रजापतिले होलेरी खबरसंग भने ।