ताजा अपडेट

स्थानिय सरकार रुन्टीगढीको गतिविधि विरुद्ध एमाले रुन्टीगढीले खोल्यो मोर्चा,के होला अब?

होलेरी- नेकपा (एमाले) रुन्टीगढीले स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको गतिविधि विरुद्ध राजनैतिक मोर्चा खोलेको छ।

पछिल्लो समय स्थानियस्तरमा हुने विभिन्न सार्वजनिक कार्यक्रमहरुमा नेकपा (एमाले)का स्थानिय नेताहरुले स्थानिय सरकारका गतिविधि बारे तारन्तर विरोधयुक्त अभिव्यक्ति दिने देखि चुनौती समेत दिन थालेका छन्।कार्तिक १० गते सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनामको बार्षिक उत्सव उद्घाटन कार्यक्रममा नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले मन्तव्यका क्रममा स्थानिय सरकारले गरेको अस्वभाविक कर वृद्धि,प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा महिनौं फार्मेसी सेवा बन्द रहेको र डाक्टर बिहिन बनाइएको भन्दै चर्को आलोचना गरे।संघिय सरकारको नियमित कार्यक्रममा रुन्टीगढी ल्याइएको विद्युत पोल गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको मन्त्रीसंग माग गरेर ल्याएको भन्दै जनताको मनोभावनासंग गलत क्रियाकलाप गरिएको भन्दै आपत्ति जनाए।अध्यक्ष बस्नेत त्यतिमा मात्रै रोकिएनन्।उनले जनताका अधिकारका पक्षमा स्थानिय सरकार जिम्मेवार नबनेको खण्डमा रुन्टीगढी एमाले मौन नरहने चेतावनी समेत दिन भ्याए।त्यस लगत्तै अतिथिका रुपमा उक्त कार्यक्रममा पुगेकि रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के.सी.ले एमाले अध्यक्ष बस्नेतको अभिव्यक्तिको खण्ड गर्दै कर वृद्धि नगरिएको तर्क गरिन्।अघिल्लो एमाले नेतृत्व स्थानिय सरकारले प्राथमिक केन्द्रलाई ३ बर्षसम्म डाक्टर बिहिन बनाइएको बताउँदै अहिले डाक्टर सेवा ३ महिना मात्रै अभाव रहेको बताइन्।

उक्त मञ्चमा एमाले अध्यक्ष बस्नेत र गाउँपालिका उपाध्यक्ष के.सी.बिच मात्रै राजनैतिक जुहारी सिमित रहेन।तर्क विवादको शृङ्खलाले रुन्टीगढी गाउँपालिका निवर्तमान पालिका अध्यक्ष एवं नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय कमिटी सदस्य बालाराम बुढालाई छोयो।निवर्तमान पालिका अध्यक्ष बुढाले मन्तव्यका क्रममा हालको काङ्ग्रेस नेतृत्व रुन्टीगढी स्थानीय सरकार सबै कुरामा असफल र निरिह बन्दै गएको बताए।
प्राथमिक स्वास्थ्य केन्द्रको नियतिलाई जोड्दै एमाले नेता बुढा स्थानिय सरकारको गतिविधि विरुद्ध गर्जिए।आफ्ना कार्यकालमा स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी बन्द गराइएको तथा डाक्टर सेवाबिहिन बनाइएकोप्रति निन्दा गर्दै उनले स्थानीय सरकार रुन्टीगढी स्थानीय सरकारले बैचारिक हिसाबले कर्मचारी नियुक्ति र बर्खास्त गर्ने गरेको बताए।एमालेले कुनै किसिमका जनताघाती हर्कत स्विकार नगर्ने बताउँदै स्थानीय सरकारलाई गतिविधि सच्याउन आग्रह गर्दै प्रत्येक गतिविधिका हिसाबकिताब जनताले राखिरहेकाले २०८४ को निर्वाचनमा परिणाम आउँने उनले चेतावनी दिए।

२०७९ शालको स्थानीय तहको निर्वाचनका ताका तत्कालीन समयमा नेकपा एमाले जिल्ला उपाध्यक्ष समेत रहेका बालाराम बुढा मगर नेकपा एमालेबाट पालिका अध्यक्षमा निर्वाचित बने ।पालिका उमप्रमुख सहित रुन्टीगढीका सबै ९ वडा मध्ये एमालेले २ वडामा मात्रै निर्वाचन जितेको थियो।त्यसको केहि समयपछिबाट हालका पालिका अध्यक्ष जनक पुन नेतृत्व नेपाली काङ्ग्रेस रुन्टीगढीले तारन्तार विरोध जनाउँन थाल्यो।तत्कालीन स्थानीय सरकारले पर्यटन प्रबर्द्धनको उद्देश्यले होलेरीमा आयोजना गरेको रुन्टीगढी बिकास सम्मेलन,होलेरी राष्ट्रिय मिडिया सम्मेलन र अक्षर महोत्सव जस्ता कार्यक्रममा तत्कालीन नेपाली काङ्ग्रेस रुन्टीगढी संयोजक एवं हालका पालिका अध्यक्ष जनक पुनले मञ्चमा पुगेर भाषण गरेर फर्किए लगत्तै प्रेस बिज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए।त्यसोत तत्कालीन समयमा पर्यटन प्रबर्द्धन सम्बन्धि ति कार्यक्रमहरुका समर्थन र विरोधका कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको थिएन।कार्यक्रममा अतिथिका रुपमा बोलेर फर्किए पश्चात काङ्ग्रेसले विरोध गर्ने गरेको थियो।

त्यतिबेला देखि रुन्टीगढीमा राजनैतिक गतिविधिहरुले प्रशय पाएका थिए।पर्यटन प्रबर्द्धन जस्तो दीगो संभावमाका कार्यक्रम आयोजना गर्दा तत्कालीन पालिका अध्यक्ष बुढा मगरलाई नेपाली काङ्ग्रेस रुन्टीगढीले राजनैतिक संघर्षको शुरूवात गरेको थियो।त्यसको केहि समयपछि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस महामारीकालमा मज्दुर उद्वारमा स्थानिय सरकारलाई सघाउनुमा नेपाली काङ्ग्रेस रुन्टीगढीले स्थानीय सरकारलाई असफल सावित गर्न र आफ्नो राजनैतिक खेती मौलाउने गरेको आरोप तत्कालीन स्थानीय सरकार र पालिका अध्यक्ष बुढाले लगाउदै आएका थिए।इट्टाभट्टा मज्दुरहरु भेट्न पुगेर फर्किएका तत्कालीन काङ्ग्रेस रुन्टीगढी एवं हालका पालिका अध्यक्ष पुनले बार्षिक ५ सय मज्दुर उद्वार गर्ने आफ्नो लक्ष्य रहेको आश्वासन सार्वजनिक रुपमै दिएका थिए।

तिनै कुराहरूको हिसाब अहिले सार्वजनिक कार्यक्रमहरुबाट निवर्तमान पालिका अध्यक्ष बालाराम बुढाले खोजिरहेका छन् ।उनले सकारात्मक कार्यमा आफूहरूले स्थानीय सरकारलाई शाथ दिन तत्पर रहेकोमा हालको स्थानीय सरकार असफलताको मार्गमा रहेको सार्वजनिक अभिव्यक्ति दिदै आएका छन्।अर्थात नेकपा एमाले रुन्टीगढी अघिल्लो कार्यकाल आफ्नो पार्टी नेतृत्व स्थानिय सरकार हुँदा नेपाली काङ्ग्रेस रुन्टीगढीले गरेको विरोध र घेरावन्दीहरुको जवाफ मागिरहेको देखिन्छ।

कार्तिक १३ गते सुनौलो बिहानी युवा क्लबको वार्षिकोत्सबको अवसरमा आयोजित खेलकुद कार्यक्रम समापनमा पुगेका रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पनि नेकपा एमाले नेताहरूले कार्तिक १० गते सोहि स्थानमा दिएका अभिव्यक्तिहरुको खुलेर जवाफ दिए।पालिका अध्यक्ष पुनले `सत्यको मुख बन्द हुँदा झुटको थुतोनो चल्न थाल्छ´भनेर नेकपा एमालेका नेताहरूप्रति वडो ब्याङ्ग्यात्मक कटाक्ष गरे।त्यसको प्रत्युत्तरमा कार्तिक १४ गते सगरमाथामा युवा क्लबको बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद समारोहमा पुगेका एमाले रुन्टीगढी अध्यक्ष अमराज बस्नेतले स्थानीय सरकार प्रमुख पुनलाई जनताका पक्षमा जिम्मेवार बनी कार्य गर्न शुझाव दिएकोमा उल्टै  पालिका अध्यक्ष पुनले आफ्नो अहंकार प्रदर्शन गरेको आरोप लगाए ।एमाले अध्यक्ष बस्नेतले जनताका अधिकार र भावना संखकटमा पर्दा आफूहरू चुप नबस्ने प्रतिक्रिया दिए।

उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं निवर्तमान पालिका अध्यक्ष बालाराम बुढाले आफूले आफ्नो कार्यकालमा गरेका कामका तुलना अहिलेको सरकारसंग गर्न नसुहाउने तर्क गरे।उनले रुन्टीगढीमा जनताप्रतिको झुट र भ्रमको खेती एमाले जडैबाट उखेलेर फाल्ने चेतावनी समेत दिए ।

यस अघि स्थानीय सरकार रुन्टीगढीलाई नेकपा (एमाले ) रुन्टीगढीले विभिन्न सामाजिक मुद्दाहरु सहित ध्यानाकर्षण पत्र समेत बुझाई सकेको छ।नेकपा एमाले रुन्टीगढीले अब स्थानीय सरकार रुन्टीगढीलाई जिम्मेवार बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गर्ने एमाले रुन्टीगढी अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

अबको रुन्टीगढीको राजनैतिक माहोल के होला ?
नेपाली काङ्ग्रेस र नेकपा एमाले केन्द्रमा बर्तमान सत्ता गठबन्धन दल हुन्।यद्यपि रुन्टीगढीमा भने बिगत देखिनै काङ्ग्रेस र एमालेबिच फाटो आइरहेको छ।२०७४ पछि नेपाली काङ्ग्रेस रुन्टीगढीले गरेका तत्कालीन एमाले नेतृत्व सरकारप्रति लक्षित घेराबन्दीको हिसाब खोज्न लागि परिरहेको देखिन्छ।रुन्टीगढीमा २०७९ को स्थानीय निर्वाचनबाट दोस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्र भने तटस्थ देखिन्छ।नेकपा एमाले रुन्टीगढीले स्थानीय सरकार रुन्टीगढीका गतिविधि विरुद्ध शक्ति संघर्ष समेत गर्न सक्ने कतिपय जानकारहरुको अनुमान रहेको छ ।यद्यपि हालसम्म रुन्टीगढी एमालेले यस बिषयमा कतैपनि आधिकारिक धारणा सार्वजनिक गरिसकेको भने छैन।

प्रतिक्रिया दिनुहोस