होलेरी-केहि समय अघि स्थानीय सरकारले संकलन गर्ने मालपोत कर बढायो।वृद्धि गरिएको मालपोत कर अस्वभाविक रहेको र चर्को कर वृद्धिले नागरिकलाई मर्का पर्ने कुरामा ब्यापक आलोचना भयो।कतिपय सर्वसाधारण देखि स्थानीय राजनैतिक ब्यक्तिहरुले समेत करवृद्धि अस्वभाविक रहेको भन्दै विरोध जनाएका थिए।
राष्ट्रमा आन्तरिक राजस्वको आयश्रोत बढाउन कुनै पनि समाजमा राज्यले करार गरेका क्षेत्रमा कर तिर्नु नागरिकको जिम्मेवारी हो।नागरिकले तिर्ने विभिन्न करबाट नै संकलन हुने पैसा नै पुनः गाउँ -गाउँ सम्म विकासे बजेटका रुपमा राज्यले फिर्ता गर्ने गर्दछ।तर स्थानीय सरकारले कर संकलनमा नाममा बस्तुगत संभाव्यताको अध्यन नगरेर नागरिकलाई मर्कामा पार्ने निर्णय भने स्वभाविक हुँदैन।कर वृद्धि बारे स्थानीय सरकार रुन्टीगढीले आफ्नो निर्णय सच्याउनु पर्ने नेकपा (माओवादी)लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)लगायत अन्य स्थानीय राजनैतिककर्मीहरुको तर्क रहेको छ।
नागरिकबाट कर उठाउने मालपोत कर वृद्धि गरेको स्थानीय सरकार रुन्टीगढी गाउँपालिका नागरिकलाई राज्यले प्रदान गरेको स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा भने लाचार बनिरहेको देखिन्छ।दक्षिण रोल्पाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गत चैत महिना देखि कार्यरत फार्मेसीस्ट अभावमा ७ महिना देखि लगातार फार्मेसी बन्द अवस्थामा रहेको छ।राज्यले सहुलियतमा उपलब्ध गराउने सरकारी फार्मेसी सञ्चालन गर्न फार्मेसीस्टको दरबन्दी बिज्ञापन जारी गर्न स्थानीय सरकारले ७ महिनासम्म विलम्ब गर्यो।केहि साता अघि मात्रै फार्मेसीस्ट आह्वान दरबन्दी जारी गरेको छ।गत साउन महिनामा त्यहाँ कार्यरत एक मात्र डाक्टर एकता गिरीले जागीर छाडेपछि डाक्टरबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी हालसम्म पनि डाक्टरबिहिन बनिरहेको छ।डाक्टर एकता स्थानीय सरकारले करारमा नियुक्त गरेको डाक्टर थिइन्।
हाल डाक्टर सेवाका लागि रुन्टीगढीवासी र आसपासका सेवाग्राही समय र पैसा खर्च गरेर दाङ जानुपर्ने नियति बनिरहेको छ।डाक्टर अभावकै कारण दुर्घटनाजन्य घटनाबाट हुने मृत्युमा पनि शव पोस्टमार्टम गर्न समेत आर्थिक भार उठाएर दाङ लैजानुपर्ने बाध्यता रहेको रुन्टीगढीवासी स्थानीयहरुको गुनासो रहेको छ।
मालपोत करवृद्धि गरेर नागरिकको जिम्मेवारीलाई कार्यान्वयनमा प्राथमिकता दिन आतुर स्थानीय सरकार रुन्टीगढी राज्य प्रद्वत्त नागरिकको सेवा सुबिधा कार्यान्वयन गर्ने आफ्नो कर्तव्य र जिम्मेवारीबाट भने लाचारीपन देखाएर विमुख बनिरहेको छ।जुन रुन्टीगढीवासीका लागि दु:खद पक्ष बनिरहेको छ।
शुभकामना संदेश