होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिकामा अहिले गज्जबको जात्रा चलेको छ ।
जात्रा भन्ना वित्तिकै पाठकहरुलाई भर्खर तिज गएको सन्दर्भमा मेलाभेला पो हो कि भन्ने लाग्न सक्छ । प्रसङ्ग त्यो होइन, सामाजिक सञ्जाल र चिया पसलमा भइरहेको जात्रा ।फलानोको पहलमा यति ट्रक विजुलीको पोल आयो, हिड्यो, झर्यो’ जस्ता कुराले रुन्टीगढीबासीलाई वाक्क त बनाएको छ नै कतिपयलाई भ्रमित पनि पारेको छ । राज्य संयन्त्रको `सिस्टोमेटिक’ बाटोबाट आएको होस् या कसैको `पहल’मा होस्, रुन्टीगढीमा विद्युतका सामाग्री आउनु, जोडिनु र दीर्घकालीन हिसाबले उज्यालो रुन्टीगढी हुनु सबैका लागि खुसीकै कुरा हो । तर `पहल’को नाममा गरिएको राजनीति वा भाइरलमुखी `स्टन्ट’ले भने एकछिन् हो-हल्ला भएपनि अन्ततः सत्यलाई तथ्यले समर्थन नगर्न पनि सक्छ, यसप्रति सम्बन्धित पक्ष सचेत हुनुपर्ने बुद्धिजीवीहरु बताउँछन् ।
रुन्टीगढी गाउँपालिकाको आधिकारिक फेसबुक पेज, अध्यक्ष तथा त्यहाँ कार्यरत करार कर्मचारीको दावीलाई आधार मान्ने हो भने गाउँपालिकामा `चुड्कीको भरमा’ ६ ट्रक विजुलीको पोल आउँदैछ । गत असारमा केपी ओली नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भएका दिपक खड्कासँग गाउँपालिका अध्यक्ष जनक पुनको राम्रो हिमचिम’ भएकै कारण ६ ट्रक पोल रुन्टीगढी आयो वा आउँदैछ । रुन्टीगढी गाउँपालिकाका प्रवक्ता चेतलाल खत्रीले फेसबुकमा लेखेका छन्
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँग अध्यक्षज्यूको राम्रो हिमचिम भएकै कारण रुन्टीगढी यो वर्ष पुरै विद्युतीकरण हुने भएको छ ।’ खड्का मन्त्री भएको एक एकसाताभित्रै गाउँपालिका अध्यक्ष जनक पुनसँग भेटघाट भएको थियो । मन्त्री भएको केही दिनको हिमचिमकै कारण विजुलीका पोलहरु रुन्टीगढी हिड्न ट्रकभित्र छिर्नु पनि गजबकै जादू भयो । खत्रीले फेसबुकमा अगाडि लेख्छन्, `विरगञ्जमा रुन्टीगढीका लागि ३२०० साना ठूला पोलसँगै विद्युतीय सामाग्री तयारी अवस्थामा छन् भने पहिलो चरणमा विरगञ्जबाट ६ ट्रक पोल लोड भइ रुन्टीगढी प्रस्थान गरिसकेका छन् ।’
रुन्टीगढी गाउँपालिका अध्यक्षको सचिवालय’ नामको फेसबुकबाट ट्रकका तीनवटा तस्बिरसहित गाउँपालिका अध्यक्षको अनुरोधपश्चात पोलहरु आइपुगेको उल्लेख छ ।
त्यसको प्रतिक्रियामा गाउँपालिकाकै ७ नं. वडाअध्यक्ष टेकलाल पुनले निवर्तमान अर्थमन्त्रीको पहलमा आउन लागेको पोल भएको दाबी गरेका छन् । उनले लेखेका छन्, `यो त हिजोकै पोलजस्तो लाग्छ अध्यक्षज्यू, निवर्तमान अर्थमन्त्रीले हाम्रै अगाडि विरगञ्ज भन्सारमा चिट्ठी लेख्नुभाथ्यो,´ जेहास् उज्यालो पालिका हुनुपर्छ ।’ यसमा पनि विश्वास गर्ने आधार भने देखिन्न । बजेट विनियोजन तथा अलपत्र योजना (ठेक्का)हरुलाई अगाडि बढाउने सवालमा रोल्पाबाट चुनिएका संघीय र प्रदेश जनप्रतिनिधिको भूमिका हुनसक्छ भन्नेमा विश्वास गर्न सकिन्छ । तर चुड्कीकै भरमा यसरी उलटपुलट हुन्छ भन्ने कुरामा भने जनता त्यति विश्वस्त हुने आधार देखिँदैन ।
पोल कसरी आएको हो त रुन्टीगढी ?
अब प्रश्न स्वभाविक रुपमा उठ्छ कि पोल रुन्टीगढी कसरी आयो त ? हामीले यस विषयमा नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रमा सम्पर्क गर्दा अहिले आएको पोल कसैको `पहल, जादू वा चुड्की’को भरमा आएको नभइ पूर्व कार्यक्रम अनुसारै आएको बुझिएको छ । तर यो आयोजना नेपाल विद्युत प्राधिकरणले भने हेर्दैन । सुरुमा रोल्पा जिल्लाभर उज्यालो बनाउने गरी ४० करोडको टेण्डर भएको थियो । काम अघि बढ्न नसकेपछि ठेक्का रद्द गरिएको थियो । अहिले एसियन इन्फ्रा स्टक्चर बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकको दुई आयोजनामार्फत काम भइरहेको छ । यी दुई आयोजनमार्फत जिल्लाको सुनछहरी, लुङ्ग्री, सुनिलस्मृति, थबाङ, गंगादेव (सुकिदह), परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिकामा काम अगाडि बढाइएको छ ।
ग्रामीण विद्युतीकरण आयोजनाका प्रोजेक्ट म्यानेजर मेघनाथ ढकालले कसैको पहल भन्दा पनि आयोजनाको आफ्नो सिस्टोमेटिक प्रक्रियाबाट आएको बताए ।`कुन पार्टीको कुन नेताको पहलमा भन्ने त्यहाँका स्थानीय संस्कार होला, त्यसबारेमा मैले केही बोलिन’ प्रोजेक्ट म्यानेजर ढकालले भने, `त्यहाँका सेवाग्राहीले बुझ्नुपर्यो कि यो एआइबी बैंकसँग लोन लिएर नेपाल सरकारले गरिरहेको कार्यक्रम हो ।’ विभिन्न प्रक्रिया पूरा गरेर जिल्लालाई नै पूर्ण विद्युतीकरण गर्ने गरी तीनचार वर्षअघिदेखि नै आयोजनाको काम भइरहेको ढकालले जानकारी दिए ।
`वाइबा इन्फा इन्स्टक्चरले काम गरिरहेको यस आयोजना विद्युत नपुगेका सबै ग्रामीण क्षेत्रहरुमा विस्तार गर्ने गरी काम भइरहेको छ । दशैतिहार वरिपरिबाट काम अगाडि बढाउने कुरा थियो, त्यसमा कसैको पहलमा भन्दा पनि पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आएको हो’ नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्राविधिक प्रमुख मोहन श्रेष्ठले भने, `त्यो रुन्टीगढीमा मात्र नभएर जिल्लाभर विद्युत नपुगेका गाउँमा सञ्चालन हुन्छ ।’ यो आयोजनासँग समन्वय हुने भएपनि नेपाल विद्युत प्राधिकरणले भने काम नगर्ने श्रेष्ठको भनाइ छ ।
यसरी हेर्दा रुन्टीगढीमा चलेको जात्रालाई पुष्टि गर्ने आधार भने देखिएन । राजनीतिक नेतृत्व वा अमुख व्यक्तिको नामबाट भइरहेका यस्ता `स्टन्ट’लाई राम्रो संस्कार नभएको स्थानीय बुद्धिजीवी बताउँछन् । रुन्टीगढी गाउँपालिकाबासीले सत्य कुरा थाहा पाउनु अधिकार भएको उनीहरुको भनाइ छ । राज्यको लगानीमा अझ अन्य देशबाट आएको लोनबाट बन्ने यस्ता आयोजनालाई व्यक्तिको निगाहमा सुम्पिन खोज्दा सन्देश राम्रो जाँदैन कि भन्ने कुरामा सबै सचेत हुन जरुरी देखिन्छ ।
-होलेरी खबर टिप्पणी