होलेरी- पछिल्लो समय सबैभन्दा बेथिति,अनियमितता,मनपरि र भ्रष्टाचार स्थानिय तहहरुमा मौलाउन थालेका छन्।स्थानीय तहका जनप्रतिनिधिहरुमा अहंकार,दम्भपनि अस्वभाविक हर्कत देखिन थालेका छन्।
दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका २०७४ शालको स्थानीय सरकारको पाला देखि नै पटकपटक विवादमा आउने गरेको थिए।२०७९ को निर्वाचन पछि पनि विवाद साम्य हुनुको साटो स्थानीय सरकारमा हुने गरेका बेथिति र जनप्रतिनिधिका अस्वभाविक हर्कतले विवाद बढ्दै उत्कर्षमा पुग्न थालेको छ।पालिका अध्यक्ष जस्तो मर्यादित,गरिमामय र साझा अभिभावकिय पदमा आसिन रुन्टीगढी अध्यक्ष जनक पुनले मंगलबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेशबूक मार्फत आफूलाई मालिक लेख्दै आफ्नो आलोचना गर्ने र प्रश्न उठाउनेहरुलाई `कुकुर´ को संज्ञा दिएर अस्वभाविक अमर्यादित तथा संस्कारहिन चरित्रको प्रदर्सन गरेका छन्।
२०७४ पछि पटकपटक नेकपा एमाले नेतृत्व स्थानिय सरकारको विरोध गरेर उदाएका बाहेक नेपाली काङ्ग्रेसका रुन्टीगढी सभापति तथा हालका पालिका अध्यक्ष पुनसित कुनै लामो राजनैतिक योगदान र सामाजिक सेवाको अनुभव थिएन।श्रमको खोजीमा दक्षिण कोरिया बसेर आएका ऊनी नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति हुँदै अघिल्लो स्थानिय सरकार र पालिका अध्यक्ष बालाराम बुढाको उछितो काढेरै पालिका अध्यक्ष बनेका थिए।उनी युवा भएकै कारण युवाहरूले विकल्प खोजेका थिए।पुन निर्वाचित भएपछि रुन्टीगढीवासीले निकै सकारात्मक परिवर्तनका आशा र महत्त्वाकांक्षा राखेका थिए।
पुन गाउँपालिका अध्यक्षमा निर्वाचित बनेपछि बितेको २ बर्षे कार्यकालमा विकास र परिबर्तनका कार्य भन्दा बढी अनियमितता,लापरबाही,बेथिति र अस्वभाविक हर्कतहरु छताछुल्ल पोख्न थाले। `हामीसंग तेरो भविष्य जोडिएको छ´भनेर पत्रकार धम्क्याउने देखि छोरीको दोहोरो जन्मदर्ताको सूचक आफै बनेर गैरकानुनी हर्कत गर्दै उनले पत्रकारलाई फर्जी बिल लिएर पालिकाबाट भुक्तानी लिन समेत आग्रह आग्रह गरेर नाङ्गो भ्रष्टाचारको क्रियाकलापलाई आमन्त्रण दिए।आफू मुगुको रारा भ्रमण गएको विलाशीताको २ लाख खर्च समेत गाउँपालिका कोषबाट अशुल गरेर अनियमिततालाई बढुवा दिन सम्म भ्याए।अध्यक्ष पुन विवादै विवादको खडलमा मुछिएका छन्।
त्यसो त आफ्ना गतिविधिबाट जनता आजित हुँदै गएपछि उनका गतिविधिबारे आलोचना गर्ने प्रश्न गर्नेहरुलाई जवाफ दिने ठाउँ नभएपछि पछिल्लो समय पालिका अध्यक्ष जस्तो गरिमामय वहोदामा रहेका उनले आफूलाई मालिक र आलोचना गर्नेहरूलाई कुकुर सम्म भन्न भ्याए।` अध्यक्ष ज्यु जस्तो साझा ब्यक्तिले सामाजिक संजालमा त्यसरी कुकुर भन्ने शब्द प्रयोग नगर्नु पर्ने हो।जनप्रतिनिधि भएपछि प्रश्न उठ्छन्।गुनासो आउँछन्।जनतामा चेनताको स्तर बढ्दो छ।लोकतन्त्रमा विरोध आउँछन्।खै आजभोलि अध्यक्ष ज्यु होसमा बोल्नु हुन्छ कि वेहोमा?होसमा बोल्दा त अभिवाकले पदिय मर्यादा बिर्शनु हुँदैन थियो-रुन्टीगढीका एक वडा अध्यक्षले भने।
त्यसो त गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले सार्वजनिक स्थलहरुमा बोल्ने शव्द र भाषा सामाजिक सञ्जालमा लेख्ने शव्दहरुले महत्वपूर्ण अर्थ राख्ने गर्दछन्।हजारौं पालिकावासी र पछिल्लो पुस्ताले पछ्याउँने भएकाले पालिका अध्यक्ष कठिन परिस्थितिमा पनि धैर्यवान र संवेदनशिल बन्नु पर्ने हो।जिम्मेवारीका हिसाबले पनि उनले लेख्ने प्रत्येक शव्दले समाजमा छिटै सकारात्मक र नकारात्मक संदेश प्रवाह गर्न सक्ने संभावना हुन्छ।शुरु-शुरुमा अध्यक्ष पुनले पालिका भित्र कतै प्रकृतिजन्य विवद परेमा राज्यकोषबाट प्रदान गरिने राहत सामाग्री पीडितहरुको घर नजिकसम्म सरकारी गाडीमा लगेर घरसम्म आफैले काँधमा हालेर भिडियो पोस्ट्याउने गर्दथे।सस्तो लोकप्रियताका जुनसुकै हतकण्डा अपनाउन पछि नपर्ने उनले चामल काँधमा बोकेको भिडियो सार्वजनिक गर्दा उनीसंग गएका उनका सहयोगी भने खाली हात हिडिरहेका हुन्थे।कतिले छोटो दुरीमा उनले सामाग्री बोकेको भिडियो बनाई रहेका प्रष्ट देखिन्थे।केही दिन अगाडि मात्रै अध्यक्ष पुनले होलेरी-ग्वारखोलाको सडक खण्ड अन्तर्गत एक सरकारी शिक्षकलाई फिता तान्न लगाएर आफैले नापजाँच गरिरहेको आफ्नो भिडियो सामाजिक संजालमा राखेर `हामीले देश बनाउँछौँ´भनेर लेख्न भ्याए ।त्यसो त पालिका अध्यक्ष पुनशीत कुनै इन्जिनियरीङ योग्यता र दक्षता भने छैन।जे होस् उनी सस्तो लोकप्रियता कमाउन र जनताको मनोबिज्ञान आकर्षित गर्न माहिर छन्।
युवा नेतृत्वका रुपमा उनी पालिकामा आएपछि उनले देखिने गरि गरेका काम मध्ये होलेरी-प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुग्ने मोटरबाटो कालोपत्रे गरियो।१ करोड ३० लाख बजेटको योजना रहेको उक्त मोटरबाटो पनि करिब ५ सय मिटर कालोपत्रे अधुरै छडिएको छ।एन.जि.ओ हरुका सहयोगमा होलेरी सहित विभिन्न स्थानमा हाटबजार सञ्चालनमा ल्याइएको छ।होलेरीस्थित देवि भगवती मन्दिरको जग्गा संरक्षण गरिएको छ।र कतिपय वडामा विभिन्न सामुदायिक घरहरू निर्माण गरिएको छ।
उनी निर्वाचित भएपछि शुरुमै एक स्थानीय सञ्चारकर्मीलाई फोनमार्फत धम्क्याएको अस्वभाविक अडियो सार्वजनिक भएको थियो।त्यसपछि लगत्तै उनले आफै सूचक बनेर आफ्नो छोरीको दोहोरो जन्मदर्ता बनाउने गैरकानुनी प्रयास गरे।उक्त कुरा सतहमा आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पासंग आफ्नो गल्तीको याचना गरेर त्यसको केही दिनपछि नयाँ लगत कट्टी गराए।सरकारी गाडी पार्टीको कार्यक्रममा थबाङ पुर्याएएर विवादित बने।उनी त्यतिकैमा रोकिएनन् आफ्नो पार्टी भन्दा फरक दलमा आस्था राख्ने एक शिक्षकलाई वडा नं २ मा आयोजित शैक्षिक मेला कार्यक्रममा विद्यार्थीका अगाडि कारबाही गर्छु भनेर धम्क्याउन भ्याए।महेन्द्र मावी होलेरीको जग्गामा विद्यालयसंगको सम्झौतामा लिजमा बसेकाहरुको टहरा भत्काउन आफै आएर सहिद परिवारलाई धम्की दिएको आरोप उनिमाथी लाग्यो।आफू शक्तिशाली बन्न मिडिया र पत्रकारहरुमा प्रभाव जमाउन खोजे।
गत जेठ महिना होलेरी खबरका प्रमुख समाचारदाता पत्रकार बलिबिर नेपालीलाई स्थानीय सरकारको कुनै सूचना प्रकाशन नगरिएको अवस्थामा पनि फर्जी बिल लिएर १०/१५ हजार भुक्तानी लग्न फोन मार्फत आश्वासन दिएको अडियो होलेरी खबरले सार्वजनिक गरेको थियो।गत बैशाख २० गते आर.आर.एन संस्था होलेरीले रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिलाई कर्णालीको जुम्ला सम्म अवलोकन भ्रमण पुर्याएको थियो।जुम्ला गन्तव्य रहेको भ्रमणमा पालिका अध्यक्ष पुनकै हठमा जनप्रतिनिधिहरुलाई मुगुको रारा अवलोकन गर्न पुर्याए।फर्किए लगत्तै कुनै कार्यक्रम र स्पष्ट उद्देश्य नरहेको ब्यक्तिगत विलाशीताको फिर्ते सवारीको पैसो कार्यापालिकाबाट निर्णय गराएर उनले २ लाख राज्यकोषको रकम दुरुपयोग गरे।
निर्वाचित भए यता एक दर्जन बढी आफ्ना पार्टी नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता विभिन्न करारमा नियुक्ति गरेको आरोप पनि उनैले खेपिरहेका छन्।उनकै कार्यकालमा दक्षिण रोल्पाको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य केन्द्र होलेरी ६ महिनासम्म फार्मेसीस्ट अभावमा बन्द रह्यो भने गत साउन महिना देखि हालसम्म डाक्टरविहिन बनिरहेको छ।होलेरीको कृषि हाट बजार स्टलमा २ वटा स्टलमा प्रक्रियाविना नै आफ्ना मान्छे राखेको आरोप उनीमाथि रुन्टीगढी एमालेले लगाउदै आएको छ।निर्वाचित भएपछि विकास र कार्य भन्दा बढी स्वार्थ केन्द्रित कार्य गरेकाले उनी विवादित बनेको रुन्टीगढी ९ का निवर्तमान वडा अध्यक्ष एवं नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचीव नेपबहादुर थापेले होलेरीखबरसंग भने।`हालका पालिका अध्यक्ष ज्यु हिजो एमाले सरकारको विरोध गरेर लोकप्रियता कमाउनु भएको थियो।विरोध गर्ने कलामा उहाँ निपुण हुनुहुँदो रहेछ।तर बनाउने कलामा भने कुनै ज्ञान देखिएन।बनाउने दक्षता भएको भए आजसम्म देखिनु पर्ने हो।झन अनियमितता गर्ने पालिकाको भविष्य बिगार्नमै व्यस्त रहनु भयो।समाजमा बर्गिय असामानता र विभेद हटाउन अनगिन्ती क्रान्ति भएका थिए।उहाँले पालिका अध्यक्ष भएपछि सामाजिक संजालमार्फत आफूलाई मालिक दावी गर्नु भयो र आफ्नो गतिविधि विरुद्ध बोल्नेलाई कुकुर लेख्नु भयो।उहाँले आफ्नो लेखाईबाट हिजोको ब्यबस्थाका समाजमा देखिएका जस्तै पुजीवादी,हैकमवादी,शामन्त,शोषक,एकलवाद प्रवृत्तिको झल्को दिन खोज्नु भयो।जुन आजको लोकतान्त्रिक गणतन्त्र समाजको विरुद्धमा छ।यहाँ चित्त नबुझेका कुरा प्रत्येक नागरिकले बोल्न पाइन्छ।बोल्दैमा कोहि `कुकुर´ हुने भन्ने हुँदैन।कमिलाको अन्तिममा प्वाख पलाउँछ भनेको जस्तो अध्यक्ष ज्यु पनि अनियमितताको उत्कर्षमा हुनुहुन्छ त्यही भएर विभेदकारी र सामाजिक बिखण्डनलाई बढुवा दिने गतिविधि गर्नु थाल्नु भएको होला´- जिल्ला सचीव थापाले भने।
सरसरती हेर्दा रुन्टीगढीमा विकास र परिवर्तनका कार्य रुन्टीगढीका गौरवका कार्य गर्नु भन्दा अनियमितता,लापरबाही,बेथिति,जनप्रतिनिधिका मनपरि गतिविधि र सनक तथा विवादको भुमरीमा रुमलिएको छ।जून रुन्टीगढीवासीका हित,भविष्य र समृद्धि विपरीत रहेको छ।सबैभन्दा नजिकको स्थानिय सरकारले जनता र समाजलाई केन्द्रमा राखेर कार्य गर्न आवश्यक रहेको छ।