होलेरी-गत बैशाख २० गते आर.आर.एन परियोजना होलेरीले रोल्पाको रुन्टीगढी गाउँपालिका जनप्रतिनिधिहरुलाई कर्णाली अवलोकन भ्रमण लगेको थियो।यद्यपि भ्रमण आयोजक आर.आर.एन परियोजना रहेपनी रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रस्तावमा उनकै नेतृत्वमा जनप्रतिनिधि मुगुको रारा ताल अवलोकन गर्न पुगेका थिए।
भ्रमणमा जनप्रतिनिधि बाहेक केही कर्मचारी,नेपाली काङ्ग्रेसका कतिपय वडा सभापति,नेकपा माओवादी वडा कमिटी अध्यक्ष लगायत बाइह्य ब्यक्तिहरु समावेश गराइएको थियो।भ्रमण को-को जाने भन्ने जिम्मा स्थानीय सरकार रुन्टीगढीले तय गरेको थियो।पदिय शक्तिको दुरुपयोग गरेर पालिका अध्यक्ष पुनले तामझाम सहित मानिसहरु बोकेर मुगुको रारा अवलोकन गर्न पुगेका थिए।जुम्ला सम्म निर्धारित रहेको भ्रमण कार्यक्रम बढाएर पालिका अध्यक्ष पुन उपाध्यक्ष,वडा अध्यक्षहरु र अन्य ब्यक्तिहरु बोकेर जुम्लाबाट मुगुको रारा हानिएका थिए।आर.आर.एन परियोजनाले विभिन्न बस्तुहरु अवलोकन गर्न ५ दिन कर्णालीको जुम्लासम्म पुर्याए पनि मुगुको रारा पुग्नु पर्ने कुनै कारण थिएन।पालिका अध्यक्ष पुनले आफ्नै प्रस्तावमा प्रत्येक दिन जनताका काममा जोडिनु पर्ने सामाजिक जिम्मेवारी बोकेका जनप्रतिनिधिहरु लगेर मुगुको रारा पुगे।यता सिङ्गो रुन्टीगढी गाउँपालिका जनप्रतिनिधिविहिन बनिरह्यो।
भ्रमणबाट फर्किपछी जेठ महिना बसेको गाउँ कार्यपालिका बैठकमा पालिका अध्यक्ष पुनले अकस्मात भ्रमण खर्चको प्रस्ताव गरे।जुम्लाबाट रारा पुग्दासम्म रारा भ्रमण खर्च कसले वेहोर्ने भन्ने कुनै सल्लाह नरहेको भ्रमणमा समावेश रहेका एक वडा अध्यक्षले बताए।
उक्त कार्यपालिका बैंठकमा पालिका अध्यक्ष पुनले आर.आर.एन परियोजनाले उसको पुर्व निर्धारित भ्रमण तालिका अनुसार जुम्ला सम्मको खर्च मात्रै वेहोर्ने भएकाले जुम्लाबाट रारासम्म पुगेको भ्रमण खर्च स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाकै कोषबाट असुली गराउने प्रस्ताव अगाडि बढाएको कार्यपालिका सदस्यहरू बताउँछन्।`उहाँकै बारम्बारको प्रस्तावमा हामी जुम्लाबाट रारा गएकाले उक्त खर्च सायद ब्यक्तिगत सबैले भाग लगाएर तिर्नु पर्न होला भन्ने अनुमान गरेको थिए।तर त्यो बेला अध्यक्ष ज्युले खर्च कसले वेहोर्ने भन्ने केही पनि जानकारी गराउनु भएन।रारा भ्रमणमा अध्यक्ष ज्यु लगायत टिम मनोरञ्जनमै ब्यस्त थियौँ।सायद फर्किएपछि खर्च ब्यबस्थापनको सार सल्लाह हुन्छ होला भन्ने सोचेको थिए।तर अध्यक्ष ज्युले भ्रमण खर्चको २ लाख कार्यपालिकाबाट स्थानीय सरकारकै कोषबाट अशुली गर्ने प्रस्ताव लिएर निर्णय गराउनु भयो´-एक कार्यपालिका सदस्यले भने।
`गाउँ-गाउँमा सिंह दरबार´भन्ने नारासहित स्थापना भएका स्थानीय सरकारहरुमा पछिल्लो समय अनियमितता र भ्रष्टाचार मौलाउन थालेको छ।राज्यकोषको एक पैसोको पनि महत्व निकै बढी हुने गर्दछ।राज्यकोषको पैसो अप्रत्यक्ष रुपमा आमा नागरिकका हुने भएकाले राज्यकोषको पैसा ब्यक्तिगत पैसा जसरी अनावश्यक खर्च गर्न पाइदैन।यदि खर्च वा लगानी गर्नु परेमा पुर्व निश्चित नीति,विधि र प्रक्रिया सहित जनताका हितका निम्ति स्पष्ट उद्देश्य हुनु पर्दछ।तर अनियमितताको खाडलमा डुबेर विवादै विवादको केन्द्र बनेको स्थानीय सरकार रुन्टीगढीलाई राज्यकोषको मनपरि दुरुपयोग गर्न न कुनै निति,प्रक्रिया र कानुनको डर छ,न त जनताको नै?
नागरिक समाज दुर्वल रहेको मौका उठाएर स्थानीय सरकार रुन्टीगढीले धमिलो पानी माछा पार्न पाए जसरी राज्यकोषको दोहोन तथा श्रोतसाधनको दुरुपयोग गर्दै आइरहेको छ।कार्यपालिकाबाट पहिले नै छलफल नगरिएको वा कुनै योजना नभएको भ्रमण लगायत अध्यक्ष लगायत जनप्रतिनिधिहरुको विलाशीपुर्ण जीवन शैलीको भार सिङ्गो रुन्टीगढीवासीलाई थुपार्ने काम भएको छ।जुन विधिको शासन,सुशासन र पदिय जिम्मेवारीको विरुद्धमा रहेको छ।
जनप्रतिनिधिहरुको विलाशीपुर्ण भ्रमण खर्च राज्यकोषबाट असुली गराउने जस्तो चरम अनियमितताको कार्य गरेका गाउँपालिका अध्यक्ष जनक पुनको गतिविधि जनहित विपरीत भएको बताउँदै नेकपा एमाले रुन्टीगढी गाउँ कमिटी सचीव मीन बहादुर महराले अनियमितता गरिएको उक्त वेरुजु रकम तत्काल पालिका अध्यक्ष पुन सहित त्यस समय रारा भ्रमण पुगेका सबै जनप्रतिनिधिले फिर्ता गर्नु पर्ने माग राखेका छन्।`गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले नै कार्यपालिका बैंठकमा खानपिन र भ्रमण जस्तो विलाशीपुर्ण गतिविधिका खर्च राज्यकोषबाट असुली गराउने जस्तो अनियमित कार्य गरेपछि वडा अध्यक्ष र अन्य जनप्रतिनिधिले कस्तो संस्कार सिक्छ्न्?सर्वसाधारण रुन्टीगढीवासी जनताका भविष्य कता जान्छ?-तत्काल २ लाख रुपैयाँ अनियमितद्वारा बेरुजु हुन गएको रकमको ५०% पालिका अध्यक्षले र लगायत सम्बन्धित जनप्रतिनिधिहरु र समावेश भएका सबैले बाँकी ५०% पालिकाको कोषमा ब्यक्तिगत रुपमा तिर्नु पर्छ।होइन भने नेकपा एमाले रुन्टीगढीले यस्तो अनियमित रमिता हेरेर बस्दैन´-महराले चेतावनी दिए।