ताजा अपडेट

अध्यक्ष पुन सहित रुन्टीगढीका जनप्रतिनिधि रारा भ्रमण खर्च पालिका कोषबाट वेहोर्ने निर्णय

होलेरी-गत बैशाख २० गते आर.आर.एन परियोजनाले रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन उपाध्यक्ष सरिता के.सी.लगायत वडा अध्यक्षहरुलाई कर्णाली अवलोकन तथा भ्रमण लगेको भ्रमण खर्च रुन्टीगढी गाउँपालिकाको कोषबाटै वेहोर्ने निर्णय गरिएको पाइएको छ।

पालिकाको गाडी लगेर जनप्रतिनिधिहरु ६ दिनसम्म भ्रमणमा निस्किएका थिए।रुन्टीगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गणेश गिरीका अनुसार जेठ महिनामा बसेको गाउँ कार्यपालिका बैठकबाट कर्णाली भ्रमणको पैसा छुट्याउने निर्णय गरिएको जानकारी दिए।`म त्यतिबेला काम विशेषले भ्रमण जान पाएन।आर.आर.एन परियोजनाले जनप्रतिनिधिहरुलाई अवलोकन भ्रमण लग्न लागेको भन्ने जानकारी पाएको थिए।तर फर्किए लगत्तै जेठ महिनाको कार्यपालिका बैठकमा अचानक पालिका अध्यक्ष ज्युले कर्णाली भ्रमणको खर्च पालिकाको कोषबाट वेहोर्ने प्रस्ताव गर्नु भयो।

त्यो बेला सयुंक्त रुपमा भ्रमणमा समावेश जनाएका रुन्टीगढी ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले भ्रमण कार्यक्रमको आर.आर.एन परियोजना रहेपनी  जुम्ला पुगेपछि पालिका अध्यक्ष पुनले मुगु पुगेत रारा घुम्ने प्रस्ताव गरेपछि निर्धारित भ्रमण तालिका भन्दा अन्यत्र घुमेपछी लागेको खर्च पालिकाको कोषबाट वेहोर्ने प्रस्ताव पालिका अध्यक्ष पुनले गरेको हुनसक्ने बताए।`अवलोकन भ्रमण गर्न हामी सिङ्गो टिम नै गएका थियौँ।सुर्खेत हुँदै जुम्लाको आगबारी स्याउ बगैंचा अवलोकन गरेर फर्कने जानकारी आयोजना परियोजनाले दिएको थियो।तर हाम्रो पालिका अध्यक्ष ज्युले जुम्लासम्म आएर पनि रारा घुमौँ भन्ने कुरा गर्नु भयो।पालिका अध्यक्ष ज्युले भनेपछि हामी सबैले सहमति जनायौँ।पालिका अध्यक्ष ज्यु कै नेतृत्वमा रारा पुगेका थियौं।खर्च कसरी ब्यबस्थापन गर्ने भन्ने सल्लाह चाहिँ भएको थिएन।सबैले भागबन्डा लाएर ब्यक्तिगत वेहोर्ने गर्नु पर्ने होला भन्ने सोचेका थियौँ।अध्यक्ष ज्युले कार्यपालिकाबाट वेहोर्ने निर्णय गराउनु भयो-वडा अध्यक्ष डाँगीले भने।

कार्यपालिका बैंठकबाट पारित हुने कुनैपनी योजनाका लागि लागत यकिन रकम विनियोजन गरिदैन।योजनाको नाम मात्रै समेट्ने गरेता पनि भ्रमणको खर्च भने यकिन गरेर निर्णय गराएको भए पार्दर्शी हुने वडा अध्यक्ष डाँगीको भनाई रहेको छ।

भ्रमणमा जनप्रतिनिधि बाहेक कर्मचारी र विभिन्न दलका कार्यकर्ताहरु समेत समावेश रहेका थिए।आर.आर.एन परियोजना होलेरीका मनोज रेग्मीका अनुसार परियोजनाको जुम्लासम्मको पुर्व निर्धारित  भ्रमण तालिका रहेकोमा जनप्रतिनिधि मुगुको रारासम्म भ्रमण गरेकाले जनप्रतिनिधिहरुको खर्च बढेको बताए।हामिले जनप्रतिनिधि ज्यु हरुलाई अवलोकन भ्रमणमा लगेका थियौँ।कर्णाली प्रदेशको जुम्लासम्म भ्रमण गर्ने हाम्रो तालिका थियो।जुम्ला पुगेपछि मुगु समेत भ्रमण गरिएका कारण हामिले जुम्लासम्मको मात्रै खर्च वेहोर्यौँ।त्यसैले बाँकी खर्च पालिकाबाट वेहोर्ने निर्णय गरिएको हुनु पर्छ।हामीले भ्रमण जाने संख्या पालिकालाई भनेका थियौँ।भ्रमणमा समावेस हुनु भएका जनप्रतिनिधि बाहेकका मानिसहरु उहाँहरुले नै लग्नु भएको हो-उनले भने।

सर्वसाधारण जनताहरु दिनभरी मज्दुरी गरेर साझ चुलोमा आगो बाल्न नसक्ने अवस्थामा जनप्रतिनिधिहरुले विलासीपुर्ण भ्रमण गरेर राज्यकोषबाट खर्च वेहोर्ने निर्णय सर्वसाधारण जनताका हित बिपरित रहेको छ।विकासका पुर्वाधारहरु खानेपानी,स्वास्थ्य,शिक्षा,यातायात लगायत सुविधाका पर्खाइमा जनताले प्रतीक्षा गरिरहेको रुन्टीगढीमा पालिका अध्यक्ष सहित जनप्रतिनिधिहरुले आफ्नो ब्यक्तिगत विलासिताको भार राज्यलाई बोकाउने जस्तो कार्यलाई प्रशय दिएका छन्।जुन कुरा सुशासन र पार्दर्शीताको विरुद्धमा रहेको छ।

प्रतिक्रिया दिनुहोस