होलेरी- रुन्टीगढी गाउँपालिकाले गत असार १० गते निर्धारित समयमा बजेट पारीत गर्न सकेन ।त्यसको मुख्य कारण थियो वैदेशिक रोजगार सम्बन्धि परियोजना (सामी)।
यस आर्थिक वर्षका लागि पालिकामा सञ्चालनमा रहेको सामी कार्यक्रमका लागि संघबाट पुर्ण बजेट नआएपछि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले कार्यक्रम महत्वपूर्ण रहेको भन्दै आवश्यक बजेट स्थानिय सरकारको कोषबाट बिनियोजन गर्ने प्रस्ताव कार्यपालिका बढाएपछि नेकपा (एमाले) र नेकपा (माओवादी)पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरूले तारन्तार विरोध जनाउन शुरु गरे।संघबाट पूरा बजेट आउँदा बिगतका बर्षमा पालिका अध्यक्ष पुनले एकल रुपमा कार्यक्रम सञ्चालन गरेको र बजेट अभावको समयमा आफूहरूलाई प्रयोग गर्न खोजेको भन्दै दुई दलबाट निर्वाचित कार्यपालिका सदस्यहरूले स्थानिय तहबाट कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै असहमति जनाउन शुरु गरे।
विरोध गर्ने दुई दलका कार्यपालिका सदस्यहरूको विमतिमा अध्यक्ष पुनसंग बहुमत थिएन।विरोध गर्ने मध्येको एउटा दल नेकपा (एमाले)ले अघिल्लो पटक स्थानिय सरकार नेतृत्व गरेर सत्ताको स्वाद लिई सकेको थियो।यद्यपि माओवादीले भने हालसम्म स्थानिय सरकारको नेतृत्व गर्ने जनमत २०७९ को निर्वाचनसम्म जुटाउन सकेको थिएन।रुन्टीगढी भित्रका जम्मा ९ वडा मध्ये ३ वडामा नेपाली काङ्ग्रेस,३ वडामा नेकपा माओवादी र बाँकी ३ वडामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिनिधित्व रहेको छ।
असार १० गते नजिकिदै थियो।त्यसभन्दा अगाडिको गाउँसभामा नेकपा एमालेबाट सभा दलका नेता गणेश गिरी र नेकपा माओवादीबाट सभा दलका नेता टेकलाल पुनको सामुहिक बिज्ञप्ती सार्वजनिक गरियो।उक्त बिज्ञप्तीमा लेखिएको थियो कि गाउँपालिका अध्यक्ष पुनले एकल निर्णय र मनपरि गर्न खोजेकाले गाउँसभा २ दलले सयुक्त रुपमा गाउँसभा बहिस्कार गरेको भनेर जानकारी गराइएको थियो।
असार १० अघिको सयुक्त बिज्ञप्ती
उनीहरुले निशाना बनाई रहेका सामी कार्यक्रमप्रति उनीहरुको कुनै स्वार्थ थियो कि थिएन?भन्ने बिषयमा विभिन्न धारणाहरु समेत बनेका थिए।यी दुई दलबाट निर्वाचित जनप्रतिनिधिहरुका एउटै लय र एउटै शुर देखियो।उनीहरुको अनुपस्थितीमा गाउँसभा सम्पन्न हुन सकेन।र विपक्षी गाउँसभा सदस्यहरूको विरोधले पालिका अध्यक्ष जनक पुन पनि झुक्ने परिस्थिति बनेन।
संविधानले नै निर्धारण गरेको असार १० गते अन्तिम दिन भित्र एमाले र माओवादी निकट सबै गाउँसभा सदस्यहरू एक ढिक्का बनेर गाउँसभामा पुगे।उनीहरु विरोध गर्ने मनोसायले पुगेको भन्ने सुइको पाएपछि अध्यक्ष पुन र उनका पक्षका गाउँ सभा सदस्यहरू सभाहलमा गएनन्।उता एउटै मोर्चामा रहेका विपक्षी गाउँ सभा सदस्यहरू रातको १२ बजेसम्म सभामा अध्यक्ष पुनलाई पर्खेर बसिरहे।सयुक्त रुपमा नाराबाजी समेत लगाउन भ्याए।तर असार १० गते गाउँ सभा पास भएन।त्यसको भोलिपल्ट ११ गते पालिका अध्यक्षले आफ्नो कार्यकक्षमा र विपक्षी गाउँ सभा सदस्यहरूले होलेरीको होटल जलजलामा पत्रकार सम्मेलन आयोजना गरे।एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्न कोहि भन्दा कोहि कमि सावित भएनन्।
त्यसको केही दिनपछि यो विवादको आगोको झिल्का स्थानिय राजनैतिक दलहरूमा समेत सल्किन पुग्यो।नेकपा एमाले रुन्टीगढी र नेकपा माओवादी रुन्टीगढी गाउँ संगठनले एकै दिन उस्तै शव्दमा स्थानिय सरकार प्रमुख जनक पुनको एकोहोरो प्रवृत्तिले असार १० गते निर्धारित समयमा बजेट पास गर्न नसकेको भन्दै आपत्ति जनाएर नेकपा एमाले रुन्टीगढी गाउँकमिटी अध्यक्ष अमराज बस्नेत र नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँकमिटी अध्यक्ष जगत घर्तीको हस्ताक्षर सहित बिज्ञप्ती सार्वजनिक गरियो।यतिन्जेल सम्म यी दुई बिपक्षी दल एउटै कित्तामा थिए भन्ने यी दुईले सार्वजनिक गरेको दुरुस्तै शब्द र प्रकृतिको बिज्ञप्तीले पुष्टि गर्छ।
त्यसो त नेकपा एमाले र नेकपा माओवादी आपसमा लामो समय संगै मिलेर बसेको इतिहास भने छैन।तत्कालीन नेकपा एकीकरण देखि संघमा पछिल्ला गठबन्धन फेरबदल देखि एकाअर्कालाई आरोपप्रत्यारोपका गतिविधिले पुष्टि गर्दछ्न्।यद्यपि गत असारको त्यो समयसम्म भने संघमा पनि एमाले-माओवादीको सयुक्त गठबन्धनको सरकार थियो। रुन्टीगढीमा पनि यी दुई दल एक ढिक्का बनेका थिए।
वास्तविक खेल यहाँ देखि शुरु हुन्छ कि जब पालिका अध्यक्ष पुनले अघिल्लो पटक एमाले नेतृत्व स्थानिय सरकार हुँदा नियुक्ती गरिएका ९ जना कर्मचारीको करार नविकरण गरि दिएनन्।विपक्षी गाउँ सभा सदस्यहरूले विरोध जनाएको सामी परियोजनाका ४ कर्मचारी जागीर मुक्त हुने भएपछि कार्य सम्पादन मुल्यांकनका आधारमा ९ जना कर्मचारी बर्खास्त गरिए।त्यसपछि स्थानिय राजनैतिक वृत्तमा भुइँचालो आउँन शुरु भो।बर्खास्त कर्मचारीसंग माओवादीको भने कुनै सम्बन्ध थिएन।सबै ९ जना कर्मचारीहरु नेकपा एमाले नेतृत्व तत्कालीन स्थानिय सरकारका पालामा नियुक्ति गरिएका थिए।कर्मचारी फाल्ने विषयमा कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूले प्रश्न उठाए।उनीहरुको जवाफमा पालिका अध्यक्ष पुनले क्रियाको प्रतिक्रिया हो भनेर खासै अरु जवाफ दिएनन्।त्यो भन्दा अगाडिसम्म एमालेसंगै शाथमा रहेको माओवादी यस बिषयमा मौन रह्यो।उसले मौनता दर्शायो।यहि साउन १ गते पालिका र विभिन्न वडामा कार्यरत रहेका ९ जना कर्मचारीहरु घर फर्किए।
असार १० गते देखिको राजनैतिक उतारचढाव र गठबन्धन साउन १ सम्म आइपुग्दा अलग भैसकेको थियो।यसरी हेर्दा नेकपा माओवादी एमालेसंगको सहकार्यतामा विरोध जनाएको सामी परियोजना देखि पालिका अध्यक्षले बर्खास्त गरेका ९ जना कर्मचारीहरु यि दुबै बिषयमा उसको कुनै संलग्नता थिएन।यता एमालेसंगको सहकार्यमा सामी परोयोजनाका कर्मचारी फाल्न सफल भयो।उता पालिका अध्यक्ष पुनको प्रतिक्रियात्मक कदममा एमालेको स्थानिय सरकारले नियुक्त गरेका ९ कर्मचारी बर्खास्त गर्न मौन साक्षी रह्यो।किनकि रुन्टीगढी स्थानिय सरकारमा माओवादी सत्तामा जाने अवसर पाएको छैन भने स्थानिय सरकारसंग सिङ जुधाएर उ संग गुमाउने पनि कुनै चिज छैन।यो लामो शृङ्खलामा एमालेले सबैभन्दा बढी नोक्सानी उठाएर एक्लिन पुग्यो।सत्तारुढ दल काङ्ग्रेसले आंशिक नोक्सानी उठायो भने नेकपा माओवादी कुनैपनी क्षति न बेहोरेर टथस्थ रहन सफल भयो।तर असार १० गते निर्धारित समयमा बजेट पारित नहुँदा रुन्टीगढी स्थानिय सरकारलाई आगामी आर्थिक बर्षमा संघीय बजेटबाट केही प्रतिशत कटौती भएर आउँने पक्का छ।जसका कारण रुन्टीगढी विकासमा घाटा हुने छ।