ताजा अपडेट

सिंचाइ अभावमा रुन्टीगढीमा बालीनाली सुक्दै,किसान भन्छन् हाम्रा लागि स्थानीय सरकार छैन

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका भित्रका विभिन्न गाउँहरुमा सिंचाइ अभावका कारण किसानहरुले खेतबारीमा रोपेका बालीनाली सुकेर नष्ट हुन थालेका छन् ।

गत बर्षको हिउँबाट यस बर्षको असार महिना लागि सक्दा पनि उल्लेखनीय रुपमा बर्षात हुन सकिरहेको छैन।आकाशे पानीको भरमा खेती गर्नेहरूलाई यसको प्रत्येक्ष असर पर्न थालेको छ ।रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ का २८ बर्षिय युवा उत्तम विश्वकर्माले स्वदेशमै कृषि गरेर आत्मनिर्भर बन्ने बाटो रोजे तर उनको गाउँमा सिंचाइका लागि पर्याप्त पानीको श्रोता छैन ।गत बर्ष उनले बारीमा रोपेको टमाटर,खुर्सानी,बन्दा,काउली लगायतका तरकारी बाली सिंचाइ अभावमा नष्ट भएर गएको थियो ।यस बर्ष पनि उनले समयमै पानी पर्छ कि भन्ने आशाले बारीमा टमाटर,खुर्सानी लगाए ।तर हालसम्म पानी नपर्दा उनले रोपेका तरकारी बाली दिनप्रतिदिन सुकेर गइरहेको छ ।विश्वकर्माले हालसम्म ८०/९० हजार रुपैयाँको लगानी गरिसकेका छन् ।उनले रोपेका झण्डै २ हजार बुटा टमाटर फुल्न र फल्न शुरु गरिसकेका छन् ।तर बिरुवाहरु भने दिनप्रतिदिन खडेरीका कारण सुकेर नष्ट भैरहेका छन् ।आफूले बिगत देखि नै स्थानिय सरकार रुन्टीगढी गाउँपालिकासंग लिफ्टिङ सिंचाइको माग गरेपनी हालसम्म सम्बोधन नभएकाले आफ्नो लगानी र मिहेनत दुबै खेर गएको बताउँछन्।उनी आजकाल तरकारी बाली सुकुरहेको देख्दा भावुक बन्ने गरेको बताउँछन्।`हाम्रो मज्दुरी गरेर खाने परिवार हो ।मज्दुरी गरेर मात्रै ६ जनाको परिवार पाल्न गाह्रो भएपछि ऋण काढेर कृषि गर्ने सोचे ।गत बर्ष पनि समयमै पानी नपरेकाले सबै बाली सुकेर गयो ।यस बर्ष समयमै पानी पर्छ कि भन्ने आशामा टमाटर खुर्सानी रोपे अहिले सुकेर गैरहेको छ ।त्यही पिडाले आजकाल बारीमा जान नसक्ने भएको छु ।सिंचाइ गर्न पानी छैन´?-उनले भने ।

बारीमा लगाएको तरकारी संगै मकै पनि सुकेर गइरहेकाले के खाने भन्ने पिडाले विश्वकर्माको परिवारलाई सताइरहेको छ ।मौसमले शाथ नदिएको भन्दा पनि बढी गुनासो उनको परिवारको स्थानिय सरकार रुन्टीगढी गाउँपालिकासंग छ।उनीहरुको टोलमा लिफ्टिङको विकल्पबाट सिंचाइको दीर्घकालीन समाधान गर्ने उपाय हुँदाहुँदै पनि स्थानिय सरकारले कुनै चासो नगरिदिएकाले यस्तो नियति भोग्नु परेको उत्तम विश्वकर्मा बताउँछन् ।`गत बर्ष रुन्टीगढी गाउँपालिकालाई सिंचाइ पानी ब्यबस्थापनका लागि अनुरोध गर्यौँ।पालिका अध्यक्ष जनक पुनले उपाध्यक्ष सरिता केसीलाई पठाएर संभावना खोजिदिने आश्वासन दिनुभएको थियो ।तर आजसम्म उहाँहरु आइदिनु भएन´-उनले भने ।हालसम्म उक्त टोलमा खानेपानीको समेत अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस