काठमाडौं- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेलगत्तै उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएका हुन् । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताएका थिए । उनले प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।