काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आक्रोश पोखेका छन् । उनले मिडियाले कतिपय विषयमा प्रमाणित नै गरेजसरी समाचार लेख्ने गरेको भन्दै आक्रोश पोखेका हुन् । आज (मंगलबार) को संसद् बैठकमा भाग लिनको लागि संसद् भवन पुग्दा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा । हेडलाइनमा एउटा क्वेसन राखेर ठगीमा ? भनेर क्वेसन राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि ? भन्नु नपर्ने ? छापिदिएपछि पुग्यो।’
उनले कुनैपनि विषयमा प्रश्न उठ्दैमा दोषी नै प्रमाणित नहुनेतर्फ टिप्पणी गरे । मन्त्री लामिछानेले थपे,‘साथीहरु त पत्रकार नै होजस्तो लाग्छ मलाई, एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिइहाल्यो । होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ ।’
उनले आफू सञ्चारमाध्यमको पृष्ठभूमिबाट आएकोले समाचारको कारखानामा कुन रंगका र कुन ढंगका समाचार छापिन्छन् भन्ने कुरा पूरा थाहा भएको बताए । उनले भने,‘प्रश्न उठ्दैमा आँत्तिनुपर्ने कुरा त केही पनि छैन् । जसले आएर उजुरी थमाईदिन्छ, जसले आएर जाहेरी थमाईदिन्छ, कागज थमाईदिन्छ, भएभरका सबै छानबिन गर्न सुरु गर्ने हो भने त्यसको लागि त्यस्तै किसिमको एउटा सम्झौता गर्नुपर्यो नि ।