होलेरी- दाङसंग सिमावर्ती क्षेत्र रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ६ स्थित रहेको ऐतिहासिक गोदे गाउँ हाल उजाड बिजाड खण्डहरमा परिणत भएको छ।
कुनै बेला करिब ४० जति घरधुरी रहेको यो गाउँ विकट क्षेत्रमा रहेपनि प्राकृतिक रुपमा अत्यन्तै सुन्दर थियो।प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँमा पुग्ने जो कोहिले निकै आनन्द महशुस गर्ने गर्दथे।वरिपरि अग्ला-अग्ला पहाड,चारैतिर हरियाली वातावरणले सु-सजित यस गाउँ बिगत केहि बर्षमै उजाड-बिजाड मरुभूमिमा परिणत बन्न पुग्यो।
चुन ढुंगा खानीलाई बेचिदा यो गाउँको अस्तित्वनै मेटिन पुगेको हो।यस गाउँ ऐतिहासिक हिसाबले तत्कालीन माओवादी १० बर्षे जनयुद्ध ताका माओवादी लडाकुहरु बेला-बेला गएर बस्ने गरेकाले माओवादी इतिहाससंग यस गाउँको छुट्टै किसिमको सम्बन्ध रहेको नेकपा माओवादी केन्द्र माडी गाउँ कमिटी अध्यक्ष भरत बुढा मगर(बसन्त)ले सामाजिक सञ्जाल मार्फत स्मरण गरेका छन्।यो गाउँ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन (नजर)को जन्मभुमि समेत रहेको थियो।
तत्कालीन १० बर्षे जनयुद्धमा पटकपटक गोदे आएका माओवादी नेता भरत बुढाले गोदेलाई यसरी स्मरण गर्छन्।
जे होस हामी झण्डै एक महिना को आस्पास त्यहाँ बसेका थियौँ । वरपर सुन्दर घरहरु थिए।विचमा बाटो थियो। बाटो सडक जस्तै फराकिलो थियो । तलमाथि कस्ले के पकाउँदै छन के खाँदै छन सबै थाहा हुन्थ्यो । गाउँ पहाड र दाङ भ्यालीलाई जोड्ने भएकोले उतिबेला सुगम गाउँ जस्तो लाग्थ्यो । गोदेबाट दायाँ साइटबाट देखिने तुलसिपुर तिरको सुन्दर फाँट हेर्दा लाग्थ्यो यो गाउँ पनि भ्याली कै शिर हो । जनजिवन कस्कटर नै थियो । सबै घासदाउरा र गोठालो नै गर्थे । हाम्रो टीम उतिबेलाको मंगलसेन फस्ट बटालियनको सि कम्पनी कमरेड प्रभात कमाण्डर र कमरेड रोहित राजनैतिक कमिसारको थियो । २०५९ साल माघ १५ देखि युद्ध बिराम को समय थियो । युद्ध विराम को उपयोग गर्दै कमाण्डरहरु पुन: दाङ भ्यालीमा रहेका व्यारेक हरु कब्जा गर्न रक्की गर्नतिर लाग्नु भएको थियो । त्यही समय को कारणले हामी यो गोडे गाउँमा लामो समय बसेका थियौँ । पुनहरुको बाहुल्यता रहेको गाउँमा हामीलाई सबै कुराको सहयोग गर्नु हुन्थ्यो गोदे बासीले । निकै पौरखि गोदे बासीले हाम्रो मेस सन्चालन गर्ने, हामीले खाने रासन ओसारपसार गर्ने देखि हर सहयोग गर्नु हुन्थ्यो । त्यो समय को सुन्दर गोदे गाउँ र क्रान्तिकारी बिचार र भावना बोकेका प्रीय जनसमुदाय सम्झिएर त्यो भग्नावशेष भएको स्थान मा बाइक रोकेर हेरे र बसे । उतिबेला पिथ्युमा झोला काँधमा बन्दुक सङ्ग खुट्टाले हिदिन्थ्यो तर आज गाडी हिड्ने बाइकमा पुग्न सक्ने त भयो रहेछ तर गोदे गाउँनै हराए छ ।