दाङ– आयोडिन फेबु्रअरी महिना अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १२ को निघुवारमा नागरिकहरुलाई नुनको महत्वका बारेमा जनचेतना जगाउदै नुन वितरण गरिएको छ ।
आयोडिन युक्त नुनको सेवनले मानव स्वास्थ्यमा गर्ने फाईदाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उदेश्यले घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजना र साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा जनचेतना जगाउनुका साथै आयोडिन युक्त नुन निशुल्क वितरण र विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । वडा अध्यक्ष दोर्णबहादुर बहकरीको अध्यक्षता एवं नगर उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा उपप्रमुख डिसीले स्वास्थ्य नै धन भएकाले खानपान, स्वास्थ्य जाँचमा विषेश ध्यान दिन अपिल गरे । आयोडिन युक्त नुनको कमिले विभिन्न स्वास्थ्य समस्याहरु आउने हुदा लापर्वाही नगर्न समेत सुझाब दिएका हुन् । कार्यक्रममा कर्पोरेसनका दाङ शाखा प्रमुख रामबाबु प्रसाद गुप्ताले आयोडिन नुनको बारेमा अझै आम नागरिकहरुमा ज्ञान नभएको भन्दै गाउँ गाउँमा यस्तो अभियान चलाएको बताए । सबै अबस्थामा मानिसहरुलाई आयोडिन नुनको आबस्यक पर्ने भएकाले दुरदराजमा यसका बारेमा जनचेतना जगाउन अझै आबस्यक देखिएको उल्लेख गरेका थिए।
प्रमुख गुप्ताले आयोडिन युक्त नुनको कमिले गलगाड हुने, गर्भ तुहिने, मृत शिशु जन्मने, सुस्त मनस्थितको बच्चा जन्मने भएकाले दुई बालबालिकाको फोटो भएको पोकाको नुन खान सबैलाई आग्रह सनेत गरेका हुन्। १ सय ५० जनालाई एक एक पोका नुन, ६० जना स्कुले बालबालिकालाई झोला, ३० जनालाई हाते झोला र २० जनालाई टिसर्ट वितरण गरिएको छ । कार्यक्रममा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले आयोडिन युक्त नुनको महत्वका बारेमा जानकारी गराएका हुन् ।
उनले दैनिक खानामा साधारण स्वस्थ ब्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महीलाको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्ने जानकारी दिए। सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिह्न भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसाल्ने र ढिके तथा खुला बेचिने नुनबाट प्रयाप्त मात्रमा आयोडिन पाउन नसकिने भएकाले त्यास्ता नुन प्रयोग नगर्नु सुझाब दिएका हुन्। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाब नपर्ने गरी सुरक्षित तरीकाले राख्ने र आयोडिन युक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गर्नुपर्ने उनको भनाई छ ।
सविन प्रियासन बाट-लेखक प्रियासन दाङ जिल्लाका सक्रिय पत्रकार एवं घोराही बनाऔँ अभियानका संयोजन समेत हुनुहुन्छ।