काठमाडाैँ- बाँसवारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायत ३ जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।
पक्राउ परेका व्यवसायी अरुण चौधरी, सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर र तत्कालीन बाँसवारी छाला तथा जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण थापालाई थुनामुक्त गर्न आदेश दिएको भन्दै चौतर्फी आलोचना भएपछि उनलाई मुगु जिल्ला अदालतमा पठाइएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई काजमा मुगु पठाएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जग्गा हिनामिना प्रकरणमा उनीहरुलाई पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश आचार्यले २ दिनभित्र अनुसन्धान सक्न वा थुनामुक्त गराउन आदेश दिएका थिए।
अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई छोडिएको थियो । सीआईबीले माघ १८ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।